June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

रूपन्देहीका ६ क्यासिनोमाथि अनुसन्धानः कानूनविपरीत गतिविधि र संचालकले अकूत सम्पत्ति आर्जन गरेको आरोप

Advertisement

भैरहवा– रुपन्देहीमा संचालित क्यासिनोले कानूनलाई ठाडै चुनौति दिँदै कानूनविपरीतका गतिविधि संचालन गरेको र संचालकले अकूत सम्पत्ति आर्जन गरेको भन्दै अनुसन्धान सुरु भएको छ । करिब डेढ महिनायता रुपन्देहीमा संचालित क्यासिनोबारे अनुसन्धान भइरहेको हो ।

Advertisement

यहाँका क्यासिनोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले क्यासिनो धन्दाको वास्ताविकता बुझी अनुसन्धान प्रतिवेदन पठाउन गृह मन्त्रालयलाई पत्र पठाएको थियो । गृहले जिल्लाका सबै क्यासिनोबारे अनुसन्धान गरी प्रतिवेदन बुझाउन भन्दै जिल्ला प्रशासन कार्यालय, रुपन्देहीलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार पुसको अन्तिम साता रुपन्देही प्रशासनलाई पत्र पठाएर जिल्लामा संचालित क्यासिनोमाथि लागेको आरोपबारे अनुसन्धान गर्न भनिएको छ । रुपन्देही हाल ७ वटा क्यासिनो संचालित छन् । सातमध्ये टाइगर प्यालेस बाइ सोल्टी होटलमा संचालित क्यासिनो बाहेक अन्य ६ क्यासिनोमाथि अनुसन्धान सुरु भएको हो ।

अनुसन्धानको दायरामा आएका क्यासिनोहरुमा भैरहवाको होटल निर्वाणामा संचालित क्यासिनो गोल्डेन स्टार, होटल लाकौलमा संचालित ह्याप्पी आवर प्रालिको ह्याप्पी आवर ग्यामिङ क्लब (क्यासिनो) र नान्स होटलमा संचालित सिद्धार्थ ग्यामिङ जोनद्वारा संचालित क्यासिनो प्याराडाइज छन् । भैरहवाको मौर्य होटलमा रहेको अपूर्व ग्यामिङ जोन प्रालिद्वारा संचालित ग्याबलिङ ग्यालेक्सी, एशियन बुद्ध होटलमा संचालित एलिगेन्ट इन्टरटेनमेन्ट प्रालि र मणिग्रामको ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा संचालित सीएमजी क्यासिनो छन् ।

होटल लाकौलमा संचालित क्यासिनो सुरेन्द्रबहादुर सिंह समूह, निर्वाणामा संचालित क्यासिनो मनोज सुवेदी समूहको, नान्स र मौर्य होटलमा संचालित क्यासिनो भैरहवाका युवाहरुकाे हो । यस्तै, एशियन बुद्ध होटलमा संचालित एलिगेन्ट दिनेश शर्मा र विजय त्रिपाठी तथा ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा संचालित क्यासिनोको संचालकमा नरेन्द्र साह कलवार लगायतको समूह हो ।

अनुसन्धान भइरहेका क्यासिनोमध्ये होटल लाकौलमा संचालित ह्याप्पी आवर अदालतको स्टे अर्डरबाट चलेको छ । यहाँ गेष्ट हाउस जस्तो होटलमा विगत एकदशकदेखि क्यासिनो संचालित छ । तर, मिलेमतोमा यो क्यासिनो बन्द गर्न कसैले ध्यान दिएको छैन । जबकी मिनी क्यासिनो संचालनका लागि कम्तिमा चारतारे होटल आवश्यक पर्छ । ह्याप्पी आवरले करोडौं राजस्व समेत तिरेको छैन । यसअघि यी क्यासिनो संचालकमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा पनि परेको थियो । अहिले अनुसन्धानमा परेका क्यासिनो संचालकले अकूत सम्पत्ति आर्जन गरेको र गैरकानूनी कारोवार गरेको भन्दै अख्तियारमा निवेदन परेको थियो ।

यस्तै, यी ६ क्यासिनोले कानूनविपरीत जुवा खेलाउने गरेको, हुण्डी कारोबारमा संलग्न भएको, कर छलीको भारतीय मदिरा प्रयोग गरेको, प्रतिबन्धित भारतीय नोटको कारोबार गरिरहेको भन्दै अनुसन्धान भइरहेको गृह स्रोतले जनाएको छ । यस्तै, क्यासिनोमा नेपाली प्रवेश गराएको, नक्कली आधार कार्ड बनाएर नेपालीलाई क्यासिनो खेल्न दिएको समेत आरोप छ ।

क्यासिनो नियमावलीअनुसार मिनी क्यासिनोले मेसिनबाट मात्र खेल खेलाउन पाउँछन् । तर, यहाँका मिनी क्यासिनोले जुवा खेलाइरहेको आरोप समेत लागेको छ । मिनी क्यासिनो संचालन गर्दा चारतारे होटल हुनुपर्ने र ठूलाको पाँचतारे होटल हुनैपर्ने कानूनी ब्यवस्था गरिएको छ । यसको पनि पालना छैन । ठूला क्यासिनोले लाइभ गेम खेलाउँदै आएका छन् । रुपन्देहीमा टाइगर प्यालेसमा मात्रै ठूलो क्यासिनो संचालित छ । अन्य सबै मिनी क्यासिनो हुन् । ठूला क्यासिनोले कानुनतः लाइभ गेम खेलाउन पाउँछन् । मिनी क्यासिनोले लाइभ गेम खेलाउन पाउँदैनन् । तर, सबै मिनी क्यासिनोले लाइभ गेम संचालन गर्दै आएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

गृहको निर्देशन र पत्रपछि अहिले रुपन्देही प्रशासनले ६ वटा क्यासिनोमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धान सुरु पछि क्यासिनो संचालकले फाइल बोकेर जिल्ला प्रशासन धाइरहेका छन् । प्रशासनका एक कर्मचारी भन्छन्, ‘माथि (गृह मन्त्रालयबाट) कडा निर्देशन आएकाले विशेष अनुसन्धान भइरहेको छ । क्यासिनो संचालकले अनुसन्धान प्रभावित पार्न शक्ति केन्द्रबाट दवाव दिइरहेका छन् । तर, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मानेका छैनन् ।’ घिमिरेले नेपाली प्रवेश गराउनु अपराध भएको भन्दै विस्तृतरुपमा अनुसन्धान गर्न लागिपरेको प्रशासन स्रोत बताउँछ ।

प्रशासनले क्यासिनोमा रहेका सीसीटीभी फुटेजको निगरानी गर्ने, अध्ययन गर्ने, संचालकहरुसँग बयान लिने र बाहिरी माध्यमबाट पनि टिम परिचालन गरेर अनुसन्धान गरिरहेको पब्लिक कुरालाई प्राप्त स्रोत बताउँछ । रुपन्देहीमा संचालित क्यासिनोमा रातदिन गैरकानूनी गतिविधि भइरहँदा प्रहरी–प्रशासन, राष्ट्र बैंक सिद्धार्थनगर, आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय भने चुपचाप छन् । पर्यटन विभागले समेत यसबारे केही गर्न सकेको छैन ।

शक्तिको आडमा क्यासिनो संचालकले मनपरी गरिरहँदा सरकार मुकदर्शक बनेको स्थानीय बताउँछन् । भैरहवाका एक पर्यटन व्यवसायी भन्छन्, ‘क्यासिनोका नाममा संचालकले अकूत सम्पत्ति कमाए, गैरकानूनी काम गरिरहेका छन् । तर, सबै निकाय सेटिङमा चुपचाप छन् ।’ ती व्यवसायीले पर्यटन क्षेत्र गुल्जार भएको नाममा गैरकानूनी गतिविधि रोक्नुपर्ने जनाए । क्यासिनोले नेपाली प्रवेश गराएकै कारण भैरहवाकै कयौं मानिसको धनसम्पत्ति सकिर सडकमा आएका छन् । यसबारे प्रमुख जिल्ला अधिकारी घिमिरेले भने अनुसन्धानमै रहेकाले तत्काल कुनै प्रतिक्रिया नदिने बताए ।

नान्स र मौर्य होटलमा संचालित क्यासिनो संचालककाे नाम भुलबस अन्यथा भई केही त्रुटी भएकाले सच्याइएकाे छ । -सम्पादक

लाकौलको गेष्ट हाउसमा क्यासिनोको बुटः कानून सबै छुट, पैसाभरी गुटुमुट !