January 13, 2025, Monday
२०८१ माघ १

भैरहवामा क्यासिनोका कर्मचारीमाथि आक्रमण, दुई घाइते

भैरहवा– रुपन्देहीको भैरहवामा एक क्यासिनोका कर्मचारीमाथि आक्रमण भएको छ । गएराति भैरहवास्थित एशियन होटल प्रालिको परिसरमा संचालित एलिगेन्ट क्यासिनोमा कार्यरत दुईजना कर्मचारीमाथि अज्ञात समूहद्वारा सांघातिक आक्रमण भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उक्त क्यासिनोका महाप्रबन्धक समीर शर्मा र क्यासिनोका क्यास म्यानेजर बैकुण्ठ न्यौपानेमाथि कुटपिटसहितको आक्रमण भएको हो । दुवैजनाको खुट्टा र हातमा चोट लागेको छ । कुटपिट तथा आक्रमण गरिनुको कारण पनि खुल्न सकेको छैन ।

घाइते दुवैजनाको हाल भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार जारी रहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा प्रक्ता नवीन पौडेलले बताए ।

उनका अनुसार सोमवार राति ड्युटी सकेर खाना खान क्वार्टरमा गएको वेलामा १० बजेतिर ४–५ जनाको अज्ञात समूहले उनीहरुमाथि कुटपिट र आक्रमण गरेको हो ।

‘घाइतेको अवस्था हेर्दा कुनै धारिलो हतियारले आक्रमण गरेको देखिन्छ’, डीएसपी पौडेलले भने, ‘आक्रमणकारीको खोजी र अनुशन्धान कार्य जारी छ ।’ घाइते दुवैको अवस्था मध्यम रहेको उनले बताए ।