लाकौलको गेष्ट हाउसमा क्यासिनोको बुटः कानून सबै छुट, पैसाभरी गुटुमुट !

भैरहवा– पैसा कमाउन केही मानिस यति मरिहत्ते गर्छन्, त्यो भनिसाध्य छैन । यस्ता मानिस र लगानीकर्ताले सधै कानून र शक्तिकेन्द्रलाई हातमा ल्याउँछन् । माथिल्लो निकायलाई आफ्नो पोल्टामा पारेकाहरुले जहिल्यै कानूनको खिल्ली उडाउँछन् । यस्तै, शक्ति केन्द्रको आडमा कानूनको खिल्ली उडाने व्यवसायिक प्रतिष्ठान हो, भैरहवास्थित होटल लाकौलमा संचालित ह्याप्पी आवर क्यासिनो । यहाँ नेपाली प्रवेश, अवैध भारतीय नोटको कारोबार, जुवा खेलाउने, भारतीय राजस्व छलीको मदिरा प्रयोग, लाइभ ग्यामिङ जस्ता धन्दा भइरहेका छन् । यहाँ प्रशासन, राजस्व, राष्ट्र बैंक, पर्यटन विभाग मात्रै होइन् सरकार नै मिलेमतो गरेजस्तो देखिन्छ । यसैले माथि उल्लेखित अवैध काम हुँदा समेत ह्याप्पी आवरलाई छुट छ । जसले गर्दा कर तिर्नुपर्ने रकम पनि संचालकले गुटुमुटु पारेर कुम्ल्याउने गरेका छन् ।
कानूनले गेष्ट हाउसमा क्यासिनो संचालनमा रोक लगाएको छ । तर, भैरहवामा खुलेयाम गेष्ट हाउसमा क्यासिनो संचालन हुँदासमेत नियामक निकाय मौन छन् । मिनी क्यासिनो संचालनका लागि कम्तिमा चारतारे होटल चाहिन्छ । वरिपरी डुङ्डुङती गन्ह्याउने होटल लाकौल र क्यासिनो चारतारे त टाढाको कुरा गेष्ट हाउस सरह पनि छैन ।
सुन्दै अचम्म लाग्ने गेस्ट हाउसमा पनि क्यासिनो संचालन हुन्छ भनेर तर भैरहेको छ । पर्यटकीय सहरको रुपमा विकास भइरहेको भैरहवाको मुख्य बजार, देवकोटा चोकमा संचालकले कानूनको खिल्ली उडाएका छन् । भैरहवाको मुख्य बजार देवकोटाचोक नजिकै रहेको गेस्ट हाउस जस्तै संरचना भएको होटल लाकौलमा विगत १२ बर्षदेखि क्यासिनो संचालन भइरहेको छ । उक्त क्यासिनोमा न प्रहरी चेकजाँच हुन्छ न त नियमक निकायको अनुगमन नै । उक्त होटलमा २५ वटा मात्रै कोठा छन् ।
क्यासिनो नियमावली २०७० र अन्तिमपटक २०७६ साउन १३ गते चौथोपटक भएको संशोधित नियमावलीमा कम्तिमा चारतारे होटल वा सो सरहको डिलक्स रिसोर्ट भएको ठाउँमा मात्रै क्यासिनो संचालन गर्नुपर्ने उल्लेख छ । तर, ह्याप्पी आवर प्रा.लि नामको क्यासिनो संचालनमा रहेको लाकौल होटल पूर्णतया गेस्ट हाउस जस्तै छ । त्यहाँ न स्विमिङ पुल छ न त, लिफ्ट, न पर्यटनमैत्री कोठाहरु छन्, न त अन्य पर्यटकीय संरचना । स्थानीय ब्यवसायी नरेश लाकौलले निर्माण गरेको होटलमा क्यासिनो व्यवसायी सुरेन्द्रबहादुर सिंहले विगत एक दशर्कदेखि ह्याप्पी आवर प्रा.लि नाम गरेको क्यासिनो संचालन गरिरहेका छन् ।
पर्यटन ऐन २०३५ को दफा ५६ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारले क्यासिनो नियमावली २०७० जारी गरेको थियो । त्यसपछि २०७० माघ १३ मा पहिलो संशोधन, २०७० चैत्र २४ मा दोस्रो संशोधन, २०७१ जेठ १२ मा तेस्रो संशोधन र २०७६ साउन १३ मा चौथो संशोधन भएको हो । यी चारैपटकको संशोधनमा क्यासिनो संचालनका लागि कम्तिमा चारतारे होटल हुनुपर्ने अनिवार्य प्रावधान छ । तर, सानालाई ऐन, ठूलालाई चैन भनेझै नेपाली क्यासिनो बजारका चर्चित पात्र सुरेन्द्रबहादुर सिंहको व्यपारलाई कसले रोक्ने ? यो विषयमा स्थानीय प्रहरी प्रशासन पनि मौन छ ।
सानातिना होटल र स्पाहरुमा छापा मार्ने, अनुगमन गर्ने नियमक निकाय लाकौल होटलमा संचालित ह्याप्पी आवर क्यासिनोको बारेमा बेखबर जस्तै छ । स्रोतका अनुसार ह्याप्पी आवरले रुपन्देहीको नियामक निकायलाई मासिक रुपमा मोटो रकम दिएर क्यासिनो संचालन गरिरहेका छन् । स्रोतको उक्त सूचनालाई प्रशासनको मौनताले पुष्टि पनि गरेको छ । ह्याप्पी आवर क्यासिनो संचालन भएको लाकौल होटल भन्दा करिब ५ सय मिटर पूर्वमा जिल्ला प्रहरी कार्यलय र सोही दुरीको पश्चिममा जिल्ला प्रशासन कार्यलय छ ।
नजिकै सिद्धार्थनगर पालिका पनि छ । तर, त्यहाँ न जिल्ला प्रशासन कार्यलयको जिल्ला स्तरीय अनुगमन समिति अनुगमन गर्न पुग्दछ न त सिद्धार्थनगरपालिकाको अनुगमन कारी निकाय । न त नजिकैको प्रहरी प्रशासन चेकजाँच गर्ने समय निकाल्दछ । कसैलाई फुर्सद छैन । १२ वर्षदेखि निर्वाध रुपमा गेस्ट हाउस जस्तै संरचना भएको होटल लाकौलमा ह्याप्पी आवर नामक क्यासिनो संचालन भइरहेको छ ।
सुरेन्द्रबहादुर सिंह, शारदादेवी सिंह र अरुणसिंह मल्लको संयुक्त नाममा रहेको ह्याप्पी आवर प्रालिले २०६७ भदौ १३ गते इजाजत प्राप्त गरेको हो । मिनि क्यासिनोले शाखा खोल्न नपाउने हो तर उक्त क्यासिनोको देशभर चार ठाउँमा शाखा छन् । मिनी क्यासिनो कम्तिमा चारतारे होटलमा संचालन हुनुपर्ने हो, त्यसो नगरी बलजफ्ती सामन्य होटलमा संचालन भइरहेको छ । १० बर्षदेखि बार्षिक डेढ करोडका दरले करिब १५ करोड भन्दा बढी राजस्व ह्याप्पी आवर प्रालिले राज्यलाई तिरेको छैन । सो सम्बन्धमा यतिबेला सर्वोच्च अदालतको संवैधानिक इजालसमा सुरेन्द्रबहादुर सिंह र ह्याप्पी आवर प्रालिलाई विपक्षि बनाइएको मुद्दामा बहस समेत चलिरहेको छ । प्रधानन्यायाधीश सहितको संबैधानिक इजालसले ह्याप्पी आवरको विषयमा गर्ने फैसलाको बारेमा धेरैले चासो व्यक्त गरिरहेका छन् ।
क्यासिनो विदेशी मुद्रा आर्जन गर्ने गतिलो व्यवसाय हो । तर त्यही व्यवासय पछिल्लो समयमा राजस्व ठग्ने बलियो पेशा बन्दै जानु दुःखद विषय हो । ह्याप्पी आवरको नेपालगञ्जको होटल स्नेहामा, काँकडभित्ताको होटल ढाकामा, महेन्द्रनगरको होटल स्वीट ड्रीममा, भैरहवाको होटल लाकौलमा शाखा छ । मिनी क्यासिनोको शाखा खोल्न मिल्दैन जुन सरकारी नियम विपरित देखिन्छ । ह्याप्पी आवर स्थापना ताकादेखि विवादित हो । विक्रम सम्वत २०६८ बैशाख १६ गते भैरहवास्थित होटल नान्समा मिनी क्यासिनो संचालन गर्नेगरी रुपा इन्टरनेशनले १० वर्षे सम्झौता गरेको थियो । रुपाका संचालक मनोज सुवेदी र ह्याप्पी आवरका संचालक सुरेन्द्रबहादुर सिंहबीच केही समयको अन्तरालमा आपसी विवाद हुँदा उक्त विवाद अदालतमा पुग्यो ।
दुबै पक्षले अदालत मार्फत अन्तरिम आदेश लिई पछिसम्म संचालन गरे । अन्ततः होटल नान्सबाट दुबै क्यासिनो निस्किए । अहिले मनोज सुवेदीले होटल निर्वाणामा र सिंहले लाकौलमा संचालन गरिरहेका छन् । नान्समा प्याराडाइज क्यासिनो संचालनमा छ । भैरहवा सहरलाई क्यासिनाको सहरको रुपमा विकास गर्न सकिन्छ तर क्यासिनोको नाममा भइरहेको विकृति भने रोक्नुपर्ने सरोकारवाला बताउँछन् ।
गलत ढंगले संचालित केही व्यवसायीको कारण करोडौ लगानी गरेर राज्यलाई नियमित रोयल्टी बुझाउने नियमसंगत संचालित क्यासिनो पनि मर्कामा पर्न थालेका छन् । सिमाक्षेत्रमा खोलिएका मिनि क्यासिनोहरुमा दैनिक ५० लाखसम्मको कारोवार हुने गर्दछ । तर, यस्तो ठुलो कारोवार गर्ने क्यासिनोहरु कानुनी दायरामा भने आउन सकेका छैनन् ।
ह्याप्पी आवरको भैरहवा शाखामा नेपाल राष्ट्रबैंकले प्रतिबन्धित लगाएको भारतीय नोटको पनि प्रयोग हुने गरेको छ । यसैगरी उक्त क्यासिनामा भारतीय मदिराको प्रयोग, नेपालीहरुलाई प्रवेश गराउने जस्ता गैरकानुनी धन्दा हुने गरेको त्यहाँ कार्यरत कर्मचारीसमेत स्वीकार्छन् । सो सम्बन्धमा प्रहरी प्रशासनलाई जानकारी गराउँदा प्रहरी प्रशासनले तत्कालै बुझ्ने बताएको छ । क्यासिनो व्यवसायलाई व्यवस्थित गरेमा त्यसबाट विदेशी मुद्रा आर्जन गर्न ठुलो मद्दत पुग्ने देखिन्छ । तर, अवैध धन्दाले व्यक्ति मोटाउने, राजस्व दुब्लाउने भइरहेको छ ।
लेखकको सम्वन्धमा