हुण्डी र सुन कारोबारको रकम ओसारपसारमा क्यासिनोका गाडी !


भैरहवा– क्यासिनो खेल्न आउने र क्यासिनो खेलेर फर्कने भारतीय नागरिकलाई संचालकले बेलहियासम्म गाडी पठाउने गरिरहेका छन् । रुपन्देहीको बेलहियास्थित नाकाबाट क्यासिनो खेल्न आउने र खेलेर फर्कनेलाई ती गाडीले ल्याउने लैजाने गर्छन् । तर, पछिल्लो समय क्यासिनोले पर्यटक ओसार्न प्रयोग गरिरहेका गाडी भने अवैध काममा प्रयोग हुने गरेको पाइएको छ ।
आइतबार बेलुका सिद्धार्थनगर नगरपालिका–१, डण्डाबाट सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित गुल्म) ले १२ लाख भारतीय रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएपछि क्यासिनोका गाडी अबैधानिक क्रियाकलापमा संलग्न हुने गरेको खुलेको हो । पाहुना (पर्यटक)लाई सुविधा दिनु स्वभाविकै मानिए पनि क्यासिनो संचालकले आफ्नो गाडी अवैधानिक कार्यमा प्रयोग हुँदासमेत यसको बेवास्ता गरिरहेका छन् । स्रोतका अनुसार यसबारे संचालकहरु जानकार छन् । तर, उनीहरुले बेवास्ता गरेका हुन् ।
सशस्त्र प्रहरीका एक अधिकृतका अनुसार भैरहवामा संचालित अधिकांश क्यासिनोका गाडी पछिल्लो समय हुन्डी र सुन तस्करीको रकम ओसारपसारमा संलग्न हुँदै आएका छन् । सशस्त्रले आइतबार भैरहवास्थित लाकौल होटलमा संचालित ह्यापी आवर प्रालिको ह्याप्पी आवर ग्यामिङ क्लब (क्यासिनो) र नान्स होटलमा रहेको सिद्धार्थ ग्यामिङ जोनद्वारा संचालित क्यासिनो प्याराडाइजका एक–एक गरी दुई वटा गाडी र गाडीमा सवार तीनजनाको साथबाट १२ लाख भारतीय रुपैयाँ नियन्त्रणमा लिएको थियो ।
सशस्त्रले नियन्त्रणमा लिएको रकम र तीनजनालाई राजश्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाएको छ । गाडी भने छाडिएको छ । स्रोत नखुलेको रकम भेटिएपछि गाडी, मानिस र रकम सशस्त्रले नियन्त्रणमा लिएको थियो । स्रोत नखुलेको पैसासहित भारत महाराजगन्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी पक्राउ परेका थिए ।
प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० नम्बरको होटल लाकौल र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको नान्स होटलमा संचालित क्यासिनोका भ्यानमा सवार तीनजनालाई रकमसहित नियन्त्रणमा लिएको थियो । नान्समा संचालित क्यासिनोको गाडीबाट १ लाख रुपैयाँ र लाकौल होटलमा संचालित क्यासिनोको गाडीबाट ११ लाख भारतीय रुपैयाँ बरामद गरिएको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाका डीएसपी किशोर श्रेष्ठले आफूलाई विद्युतीय चुरोट (भेप) मा हुने गरेको सुन तस्करी र हुण्डीको रकम ओसारपसार गरिरहेको भन्ने सूचना आएपछि रकम र मानिस नियन्त्रणको लिइएको जनाए । ‘मलाई क्यासिनोको गाडीमा सुन र हुण्डीको पैसा छ भन्ने जानकारी आएको थियो, हामीले त्यसपछि विशेष निगरानी गरेका थियौं’, उनले भने, ‘क्यासिनोका गाडी खानतलासी गर्दा सूचनाअनुसार सत्य ठहरियो ।’
यदि डीएसपी श्रेष्ठलाई आएको सूचना सही हो र बरामद रकम सुन र हुण्डीको नै हो भने क्यासिनो संचालकको पनि मिलेमतो हुनसक्ने सुरक्षा अधिकारीहरु बताउँछन् । एक प्रहरी अधिकृत भन्छन्, ‘क्यासिनो संचालक, गाडी चालक लगायतलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्छ । वास्तविकता वाहिर आउन जरुरी छ ।’
पछिल्लो समय भैरहवा क्षेत्रमा संचालित क्यासिनो विवादित बन्दै गएका छन् । नेपालीलाई प्रवेश दिएको, प्रतिबन्धित भारतीय रुपैयाँ क्यासिनोमा कारोबार हुने गरेको र भन्सार छलीको भारतीय मदिरा क्यासिनोमा प्रयोग हुने गरेको आरोप लाग्दै आएको छ । तर, मिलेमतोमा कुनै निकायले छानविन गर्न सकेका छैनन् । पछिल्लो पटक त सुन र हुण्डी जस्तो अवैधानिक क्रियाकलापको पैसा क्यासिनोले संचालन गर्दै आएका गाडीले बोक्नमा प्रयोग हुनु अझै खतरानाक भएको सुरक्षा अधिकारी नै बताउँछन् ।
आर्थिक हैसियतका कारण तलदेखि माथिसम्म आफ्नो संजाल विस्तार गरिरहेका क्यासिनो संचालकलाई स्थानीय प्रशासन, राजस्व कार्यालयले झट्ट छुँदैनन् । केही समय अघि होटल निर्वाणामा संचालित क्यासिनोमा नेपाली नागरिक प्रवेश गराएको भन्दै प्रहरीले छापा हानेको थियो । स्रोत नखुलेको अवैध रकम बोक्नमा प्रयोग भएका गाडी सशस्त्रल भने क्यासिनो संचालकलाई नै बुझाएको छ ।
एक हजारको सामान बोकेर हिंड्ने मोटरसाइकल समात्ने सशस्त्रले आफैलाई सुन र हुन्डीको पैसा बोकेको भनेर सूचना आएको गाडी भने छाड्यो । माथिल्लो तसम्म आफ्नो पहुँच विस्तार गरेर क्यासिनो संचालकले गाडी सहजै छुटाए । डीएसपी श्रेष्ठका अनुसार आवश्यक पर्नेबेला हाजिर हुने गरी गाडी छाडिएको हो ।
होटल लाकौलमा संचालित ह्यापी आवर प्रालिले त सरकारलाई रोयल्टी समेत तिरेको छैन । उसले ६ करोड ९३ लाख २७ हजार ५०० रुपैयाँ साँवा र ३ करोड १७ लाख ९६ हजार १८९ रुपैयाँ ७३ पैसा ब्याज गरी कुल १० करोड ११ लाख २३ हजार ६८९ रुपैयाँ ७३ पैसा रोयल्टी सरकारलाई बुझाउन बाँकी रहेको छ । ह्यापी आवर प्रालिका जिम्मेवार व्यक्तिमा सुरेन्द्रबहादुर सिंह, भोजबहादुर बम र गोकर्ण लामिछाने छन् । उनीहरुले भैरहवा बाहेक अन्य जिल्लाहरुमा पनि क्यासिनो संचालन गर्दै आएका छन् । तर, रोयल्टी नतिर्दा र अवैध कार्य हुँदा समेत उनीहरुलाई कारबाही हुन सकेको छैन ।
क्यासिनो प्याराडाइजका संचालक अमित गुप्ताले आफूहरुको गाडी अवैध कार्यमा प्रयोग नभएको दावी गरे । उनले भने, ‘पक्राउ परेका व्यक्तिसँग पैसा छ भन्ने बारे हामीलाई कहाँ थाहा हुन्छ, कसरी र किन पैसा बोकेर आए हामीलाई थाहा छैन ।’ उनले आफूहरुले उक्त गाडी भाडामा संचालन गरिरहेको जनाए । क्यासिनो खेल्न आउने पर्यटकलाई नाकामा लिन जाँदा नेपालको कानूनबारे आफूहरुले जानकारी गराउने तर कति पैसा ल्याएका छौं भन्ने खोजतलास भने गर्न नसकिने बताए ।
ह्याप्पी आवरका प्रतिनिधि विक्रम खड्काले पनि पक्राउ परेका व्यक्तिले किन त्यति ठूलो रकम लिएर आएका थिए भन्नेबारे जानकारी नभएको बताए । राजश्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख पशुपतिबाबु पुरीले यसबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।








प्रतिकृया दिनुहोस्