रूपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गर्न आउनेहरूमा युवा पुस्ता बढी (भिडिओ रिपोर्टसहित)

भैरहवा– रूपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुमा युवा पुस्ता बढी मात्रामा देखिएका छन् । जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीका अनुसार पछिललो पटक मतदाता नामवलीमा नाम दर्ता सुरुपछि ९५ प्रतिशत भन्दा बढी युवाहरु नाम दर्ताका लागि आउने गरेका हुन् ।
जेनजी आन्दोलन पछि नयाँ सरकार बनेर आगामी फागुनमा निर्वाचन गर्ने निर्णय गरेको छ । सोहीअनुसार निर्वाचन आयोगले असोज १० गतेदेखि मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको थियो । जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार हाल दैनिक एक सयको हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता गर्न आइरहेका छन् ।
उनका अनुसार असोज १२ गते नामावली दर्ता गर्नेको केही भीड लागेको थियो । त्यसपछि दसैं विदा भयो । सरकारले बाढीपहिरोका कारण असोज १९ र २० गते सार्वजनिक विदा दिए पनि रुपन्देहीमा भने विदामा पनि नामावली दर्ताको कामलाई निरन्तर दिइएको थियो ।
अर्यालले जुनसुकै जिल्लाका मतदाताले पनि नामावली दर्ता गर्न सक्ने जनाइन् । आयोगले कार्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताको मिति तोकेको छ । हाल मुलुकका ७७ वटै जिल्लामा मतदाता नामावली संकलन भइरहेको छ । नयाँ मतदाता नामावली दर्ता गर्नेले आफू नजिकको जुनसुकै जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन अधिकारी अर्यालका अनुसार नयाँ मतदाता नामावली दर्ताका लागि आयोगको वेबसाइटमा गएर फारम भर्नुपर्छ । त्यसपछि सक्कल नागरिकता र नागरिकताको प्रतिलिपी लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्छ । यस्तै, त्रुटी सच्याउनका लागि त्रुटी पुष्टि गर्ने डकुमेन्ट आयोगको बेवसाइटमा अपलोड गरेपछि सच्चिन्छ । यसका लागि भने आयोगको कार्यालय धाउनु पर्दैन । ठाउँसारीका लागि भने स्थायी बसाईं सराईं अनिवार्य गरिएको छ ।
रुपन्देहीमा मतदाता नामावली संकलन सुरु पछि असोज १० गते ३४, १२ गते २ सय ६० जनाले नयाँ मतदाता नामावली दर्ता गरेका छन् । यस्तै, असोज १९ गते ७२ जना, २० गते ८१ जना र २१ गते १ सय ५० जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । यस्तै, बुधबार अर्थात् असोज २२ गते दिउँसोसम्म १ सय १ जनाले नाम दर्ता गरेको अर्यालले जानकारी दिइन् ।
रूपन्देहीका यसअघि ६ लाख ४४ हजार ३ सय ५६ मतदाता थिए । जसमा पुरुष ३ लाख ३० हजार ७ सय ४१, महिला ३ लाख १३ हजार ६ सय ७ र अन्य ८ जना थिए । नयाँ मतदाता नामावली दर्ता सकिएपछि निर्वाचन आयोगले जिल्लागत रुपमा कुल मतदाताको तथ्यांक सार्वजनिक गर्नेछ । यसपछि मात्रै रुपन्देहीमा कति मतदाता थपिए भन्ने तथ्यांक आउने अर्यालले बताइन् ।
प्रतिकृया दिनुहोस्