लालमोहन


बागबजारको एउटा पुरानो मिठाई पसल । पसल ठूूलो छैन, तर कहिलेकाहीँ स–साना पुराना कुराको झल्को र पुरानै स्वाद सम्झना दिलाउँछ त्यसले ।
दिउँसो खाजाको समय भए पनि भीड धेरै छैन, केही ग्राहक खाजा खाँदै छन् । कोही तात्तातो समोसा, कोही चिया, कोही मिठाईमा रमाइरहेका छन् ।
पसलको देब्रे कुनामा एउटा गोलो टेबल छ, जसमा चारजना ज्येष्ठ नागरिक बसेका छन् । उनीहरू दैनिकजसो आउने ग्राहक हुन् । हप्तामा कम्तीमा चारपाँच दिन त यी चार एउटै टेबलमा भेटिन्छन् । उनीहरूका नाम पनि मिठाई पसलेलाई थाहा छ, हेमराज, प्रताप, माधव र जगत । सबै पैँसट्ठीसत्तरी आसपासका । अनुहारमा चाउरी, शरीरमा एक किसिमको थकान, तर संवादमा असाध्यै रोचकता अनि मिठास ।
म उनीहरूकै पारिपट्टिको टेबलमा बसेर चिया खाइरहेको छु ।
“बागबजारको लालमोहनजस्तो त अन्तको हुँदैन है ?,” हेमराज बोल्छन् ।
“हिजो मात्र डाक्टरकोमा गएर आएको,” उनले लालमोहनको आधा टुक्रा मुखमा हाल्दै भने ।
प्रतापले हेमराजतिर मुख फर्काउँदै सोधे, “के भन्यो तपाईंलाई डाक्टरले ?”
“के भन्नु ! डाक्टरजति सबै उस्तै,” उनले अगाडि थपे, “ईसीजी, इको, अल्ट्रासाउन्ड, रगत जाँच सबै गरायो नि ! त्यत्रो खर्च गरेँ, रिपोर्टमा केही पनि देखिएन । अलिअलि सुगर मात्रै छ रे !”
माधव बोले, “बिमार नहुनु त राम्रो नि !”
हेमराज खिस्स हाँस्दै भने, “केको राम्रो ! यो उमेरमा परीक्षणभन्दा बढ्ता मनमा डर बढाउने काम मात्र गर्छन् डाक्टरले । मलाई थाहा छ, मेरो हल्का सुगर मात्र छ, तर म ठिक छु ।”
जगत चुप बस्न सकेनन्, “अनि डाक्टरलाई के थाहा त तपार्इंलाई सुगर मात्रै छ भन्ने कुरा, परीक्षण गरेपछि पो थाहा भयो होला !”
“त्यो त हो,” हेमराजले थोरै झुक्दै भने, “तर, कति अनावश्यक कुरा गराउँछन् ! हुनत रगतमा चिनी अलि बढी देखियो, तैपनि…।”
प्रतापको अनुहारमा केही गम्भीरता थियो, “मेरो त अब चेक गर्ने बेला भा’को छ, तीन महिनाको तारेख लगाइदिएको छ, यो सुगर नै कन्ट्रोल हुँदैन भन्या !”
माधवले गुनासो पोखे, “म त बिहान वाक पनि गएकै छु, घरमा भात खान दिँदैनन्, चिनी न’भाको चिया खान्छु, तैपनि सुगर घट्दैन ।”
जगतले थपे, “मेरो पनि उस्तै छ । अब त आँखा धमिलो हुँदै छ, कहिलेकाहीँ त अक्षर नै छुट्ट्याउन सक्दिनँ पढ्दा ।”
चारैजना आ–आफ्नो पीर साट्दै छन्, लालमोहनको स्वाद लिँदै । चिनी प्रतिबन्धित छ, तर पनि मिठासको मोहलाई कहाँ बाँध्न सकिन्छ र !
हेमराजले आधा खाएको लालमोहन प्लेटमा राखे, “तर, जे भन्नुहोस्, यहाँको लालमोहन असाध्यै मिठो लाग्छ ।”
पारिपट्टिको टेबलबाट म ती वृद्धहरूको संवाद ध्यानले सुनिरहेको छु । उनीहरूको स्वास्थ्य समस्या साझा छ, प्रायः सबैलाई मधुमेह छ । तर, मिठाईको मोह पनि उत्तिकै साझा छ ।
यिनका कुरामा पीडा छ, एक्लोपनको निदान खोज्ने प्रयास छ । मलाई हाम्रो समाजको यथार्थले कोट्ट्याउँछ, जति बेला वृद्धावस्था हुन्छ स्वास्थ्य समस्या बढ्छ, नियमित अस्पताल धाउनुपर्छ । छोराबुहारीका हप्की, परिवारको बेवास्ताका बीच सान्त्वना दिने भनेको साथीहरू र केही बाल्यकालका सम्झनाहरू मात्रै त हुन् ।
यो मिठाई पसल यिनीहरूको ‘थेरापी सेन्टर’जस्तै हो । यहीँ आउँछन्, आफ्ना रोगहरूलाई शब्दमा पोख्छन्, तिक्तताको थोरै भाग मिठाईसँगै निल्छन्, अनि फेरि अर्को दिनका लागि घर फर्कन्छन् ।
हेमराज सत्तरी आसपासका, पुराना बैंक कर्मचारी हुन् । दुई छोरा अमेरिकामा छन्, श्रीमती पाँच वर्षअघि बितेकी । एक्लै बस्छन्, बिहान वाक गर्छन्, दिउँसो पुस्तक पढ्छन् ।
तीन बजेतिर पसल आउँछन्, लालमोहन खाँदै पुराना साथीहरूको साथ खोज्न ।
प्रताप सेवानिवृत्त मेजर हुन् । चिटिक्क परेको अनुहार, सुगठित शरीर । तर, कहिलेकाहीँ युरिक एसिडले सताएर खोच्याउँदै आउँछन् । उनको आफ्नै पीडा छ, घरमा बोल्ने कोही हुँदैनन् रे !
छोराबुहारीलाई बोल्ने फुर्सद छैन । नातिहरूलाई मोबाइलबाट फुर्सद मिल्दैन । घरमा हुँदा पनि नितान्त एक्लो ।
माधव सरकारी शिक्षक थिए, अहिले पार्किन्सन्सको सुरुआती लक्षण छ । हात हल्का काँप्छ । उनकी पनि श्रीमती छैनन् । उनको गुनासो छ, “घरमा नुन पनि कम, गुलियो त खानै पाइँदैन । खाना साह्रै खल्लो लाग्छ, मेरो नीरस जिन्दगीजस्तै ! तर, यो मिठाईमा भने छोरीले उहिले बनाएको मिठाईको महक आउँछ । पुरानो सम्झना दिलाउँछ ।”
जगत पुस्तक पसल चलाउँथे, अहिले बन्द छ । छोराबुहारी नोकरीमा, घरमा दिनभरि एक्लै टीभी हेर्ने । टीभी हेर्नुभन्दा साथीहरूसँग गफिनुमा उनलाई रमाइलो लाग्छ । उनी भन्छन्, “हामी त अब सम्झनामा बाँचेका मान्छे हौँ । कहिलेकाहीँ हामीलाई घोच्ने सुईले सम्झाउँछ कि हामी जीवित छौँ ।”
यिनीहरू चारैजनाका घरको एउटै कथा छ, छोराबुहारी व्यस्त । नातिनातिनासँग सम्पर्क सीमित । एक्लोपनको घेरा र स्वास्थ्यको संशयपूर्ण निगरानी ।
“तपाईंहरूलाई त डाक्टरले मिठाई खान मनाही गरेको होला नि ?,” मैले आफूलाई रोक्न सकिनँ, नजिक गएर सोध्न बाध्य भएँ ।
हेमराजले हाँस्दै बोले, “मनाही त गरेको छ नि बाबु, चिनी त सुँघ्न पनि हुन्न भनेका छन् । तर, मनलाई कसले रोक्ने !”
माधवले थपे, “दिनदिनै पो खानु हुन्न भनेको हो, हप्तामा दुईचोटि त खाँदा के नै बिग्रन्छ र !”
जगत मुस्कुराउँदै बोले, “दोस्रो लालमोहन मुखमा हालेपछि मात्रै सबै पीडा बिर्सिएजस्तो लाग्छ ।”
मलाई लाग्यो साँच्चिकै, यो मिठासमा यिनीहरूको आत्मसम्मान, मित्रता, एक्लोपनको औषधि लुकेकोे छ ।
शरीरको रोगभन्दा मनको रोग गहिरो हुन्छ । लालमोहन खाँदा स्वास्थ्य बिग्रन्छ होला, तर मिठाईका हरेक टुक्रामा उनीहरूले खाइरहेको पुरानो स्वाद लुकेको छ । सम्झना र जीवनको थोरै बाँकी मिठास सायद यही लालमोहनमा छ ।
डाक्टरहरूले रोग पत्ता लगाएर बचाउन पनि सक्छन् । असफल पनि हुन सक्छन् । तर, उनीहरूबीचको मित्रता, संवाद, हाँसो र थोरै मिठाई, जसले तिनको तत्कालको जीवनलाई सुखसँग बचाएको छ, त्यसमा भने सफलता मात्रै छ ।
म सोच्न बाध्य भएँ, जब घरमा सास बन्द हुँदै जान्छ, बोल्ने कोही हुँदैन, गुनासो सुनाउने कान हुँदैन, त्यस्तोमा वृद्ध जीवनलाई जोगाउने भनेकै यस्तै दुइटा लालमोहन र चारजना साथी त हुन् ।
झन्डै चार बज्न लागेको थियो । झ्यालबाट बाहिर हेरेँ, विद्यार्थीको लर्को छ सडकभरि । पसलभित्र चारजना वृद्धहरू, उनीहरूको मुखमा अझै मिठाईको स्वाद छ, जारी गफको क्रमसँगै मुहारमा हाँसो !
“हामीजति वर्ष बाँच्छौँ, यस्तै खाँदै, हाँस्दै बाँचौँ,” प्रतापले भने ।
“कहिलेकाहीँ म मर्छु भन्ने डर लाग्छ, तर अर्को दिन मिठाईको याद आउँछ अनि फेरि बाँच्न मन लाग्छ, भोलिका लागि,” हेमराज भावुक हुँदै बोले ।
म कुर्सीबाट उठ्दै उनीहरूलाई हेर्छु । ती चारजनाको आँखामा बालापनको मिठास छ, वृद्ध हुँदै गएको पीडा छ, जसलाई अस्पतालको सुईले होइन, साथीको साथ र मिठाईको गन्धले जीवित राखेको छ ।
“हामीलाई रोगले होइन, संवादको कमीले मार्छ,” माधवले लामो सास फेर्दै भने ।
उनीहरूले एकै स्वरमा चिया मागे, “चिनी नभएको चार गिलास चिया है भाइ, तर मिठास भने कम नहोस् नि !”
म भने लालमोहन र चिनी नभएको चियाको रहस्य नबुझ्दै बाहिर निस्किएँ । –baahrakhari








प्रतिकृया दिनुहोस्