लेख्ने विषयको खोजीमा


लेख्ने विषय आँखै अगाडि अनेकौँ छन् । यति धेरै छन् कि तिनलाई सिलसिला मिलाएर फुर्सदमा लेख्ने हो भने कापीका कति पाना भरिँदा हुन् ! सम्पादक महोदयले समेत कति लम्मेतान लेखेको भन्दा हुन् । पढ्ने पाठकले समेत कति लामो लेख भनेर अल्छी गर्दै झर्को पनि मान्दा हुन् ।
अपितु एउटा लेखकको भावना पोखिन थालेपछि त्यो बग्दै कहाँसम्म पुग्छ भन्न सकिँदैन रहेछ । लेखक आफैँलाई पनि लेखनयात्रा कहाँ पुगेर टुङ्गिन्छ थाहा हुँदैन । समुद्रसम्म पुग्ने यात्रामा बग्न थाल्यो भने त त्यो ठूलै ठेलीमा परिणत होला । अन्यथा नजिकैको खोल्सासम्मको यात्रामा हो भने चाहिँ पाठकलाई पढ्न धेरै समय नलाग्ला ।
रातभरि असारे झरीले रुजेको प्रकृति बिहान हुँदै गर्दा कतै जलमग्न डुबान देखिन्छ । कलिलो घामको किरणले प्रकृतिलाई चुम्दै पानीको प्रहारलाई मलमपट्टिले आराम दिइरहेको हुन्छ ।
गर्मीको यो धुपमा चिसो वातावरणले कक्रक पारेको लेकाली पाटोको बाटोमा हिँड्दा हिमालयको फेदीको यात्राको वर्णनमा आफूलाई बिसाउँ कि ! हिउँयै हिउँले भरिएको बाटोमा चिप्लिँदै, थेचारिँदै हिँडेको यादहरू आलै छन् । त्यही चिसोले हात गङ्ग्रिदा गन्तव्यमा पुग्न नसकेर आलस–तालस भएको हिमयात्राको अनुभूति अभिव्यक्तिमा पोखौँ कि !
तथापि अहिले म आफ्नै आँखा अगाडिको वर्तमान दृश्यहरूलाई मनको तरेलीमा उतार्ने प्रयत्नमा छु । मेरो आँखा अगाडिको यो दृश्य भनेको हरियालीको मनोरम प्रकृति हो । खेतखलियानमा साता दिनअघि रोपेका धान अहिले हलक्क बढेर हरियो भइसकेका छन् । खेतका गराहरू बिछट्टको सौन्दर्यमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।
किसानहरू बिहानै त्यही खेतमा धाउँछन् । खुशीले गीत गुनगुनाउँदै थकाई मार्छन् । धानबालीमा पसेर झारपात उखेलेर फाल्छन् । गोडमेल गर्दै मंसिरमा भरिलो बाली भित्र्याउँने सपनामा चुर्लुम्म डुब्छन् । ती किसानलाई भ्यागुताको ट्वारट्वारले स्वागत गर्छ । लाग्छ– किसानको खुशी भन्नु भ्यागुताको पनि खुशी हो । किनभने यही धानबालीमा भ्यागुताले पनि आफ्नो परिवार हुर्काउँदै छ ।
‘अब केही दिन पानी नआइदिए हुन्थ्यो ।’ भन्ने कामना गर्दै धानबालीमा पानी ठिक्क मिलेको र यसपालिको धान उत्पादन राम्रो हुने आशामा उनीहरू मुसुमुसु मुस्कुराउँदै आफ्नो घरतिर लाग्छन् ।
किसानको यस्तो खुशी देखेर म पनि उनीहरूकै खुशीमा मिसिन्छु, र एकछिन आकाशतिर हेर्छु । रातभरिको झरीले आज बिहानको आकाश निलो रङमा टिलिक्क टल्किएको छ । पर–परका पहाडहरू पनि सफा भएर नजिकै देखिन्छन् । किसानका खुशीहरू धानबाली र मकैबारीमा हलक्क हुर्किँदै गरेको देखेर म पनि उनीहरूसँगै खुशी साट्छु ।
यसो आफ्नै करेसा बारीतिर आँखा डुलाउँछु । आहाँ, त्यहाँ त स्कुसका मुन्टाहरू आकाशतिर हलक्क यौवन ढल्काउँदै उन्मुक्त यात्रामा लम्किरहेको देख्छु । फर्सीका मुन्टाहरू पनि त्यसरी नै मास्तिर तन्किरहेका छन् । यसरी यात्रामा निस्किन हतार गर्दै सहाराको लागि थाङ्ग्रा खोज्दै गरेको देख्छु ।
त्यसैगरी, फूलहरू कोपिलाबाट फक्रिएर अनेकौं रङको सौन्दर्यमा आफूलाई मुस्कानभरि खुशीमा उपस्थित भएको देख्छु । तिनै फूलको रस चुस्न मौंरी र भँवराहरू झुम्मिएको देखेर मेरो मन पनि रमाउँछ ।
छिमेकी नानीछोरी तता फर्सीको मुन्टा टिप्दै गुनगुनाउँदै सोँच्दै होलिन्– ‘यसपालि पनि फर्सीको मुन्टाले मलाई नून, तेल किन्न गर्जो टारिदिने भयो ।’
नभन्दै मैले देख्दादेख्दै उनी डालोभरि फर्सीको मुन्टा बोकेर नजिकैको किराना पसलमा पुग्छिन्, र त्यहाँ अलिकति बेच्छिन् । त्यसपछि छिमेकीका घर–घरमा पुगेर ३० रुपियाँ मुठाको ताजा फर्सीको मुन्टा बेच्छिन् । कलिलो बिहान पनि चर्किएको घामले थकित बुढ्यौली अनुहारमा पनि खुशीको रेखा कोरिन्छ । तरकारी बेचेको पैसा गन्दै उनी घरभित्र पस्छिन् ।
उनको अनुहारमा झल्किएको खुशी र सन्तुष्टिको प्रतिविम्ब देखेर म पनि उनकै खुशी र उनकै सन्तुष्टिमा आनन्दि हुन पुग्छु ।
केही छिनमा छिमेकीका बालबच्चाहरू स्कुल जाने तयारीमा झोलाको भारीमा मरितरी पाइला सार्दै घरबाट निस्किरहेको देख्छु । कोही कुकुर डोर्याउँदै अरूको घर अगाडि चोक र बिजुलीको पोल वरपर घुमाइरहेको हेर्छु । कुकुर पाल्नेहरूले व्यवस्थित किसिमले फोहोरमैलाको व्यवस्थापन नगर्दा टोलमा कति पटक मनमोटावको अवस्था पनि सिर्जना भएको छ ।
वास्तवमा कुकुर पाल्नु नराम्रो होइन तर आफूले पालेको कुकुरलाई आफ्नै घरमा व्यवस्थापन गर्नु राम्रो हो । अरूको घर अगाडि टोल–टोलमा डुलाएर दिशापिसाब गराउँदा वातावरण नै प्रदूषित हुन्छ भन्ने कुरालाई कुकुर पाल्ने व्यक्तिहरूले महसुस गर्नुपर्ने हो !
यता उज्यालो नहुँदै आफ्नै भाका र भाषामा गुनगुनाउँदै निन्द्राबाट बिउँझाउने धोबिनी र चिबे चराहरू यतिबेला कतै चारो खोज्न वेग मार्दै उडे होलान् । देख्छु– अहिले सयभन्दा बढी परेवाहरू छिमेकी नीरा बहिनीको कौसीमा उछिनापाछिन् गर्दै चारो टिप्दै छन् । हरेक दिन नीरा बहिनीले ती परेवाहरूलाई यसरी नै चारो छर्ने गरेकी छन् । चारो खान पाएर परेवाका बथान सधैँ त्यहाँ झुम्मिन आउँछन् ।
त्यस्तै तल ढलानको बाटो छेउमा एक जोडी ढुकुर पनि कसैले झटारो हान्ला कि भन्ने डरले हतार–हतार चारो टिप्दै छन् । बिचरा चराचुरुङ्गीलाई बाँच्न पनि कठीन छ । कसैले मारिदेला कि भन्ने कति ठूलो डर छ । आखिर आफ्नो जीवनको माया सबैलाई हुँदोरहेछ ।
चराहरू चिच्याएको चित्कार सुनिँदैन । सायद आजको मौसमले उनीहरू पनि खुशी भएको हुनुपर्छ । निरन्तरको झरी रोकिएकाले आज उनीहरूले चारो खोज्न पानीमा रुज्नुपर्ने छैन होला । बचेराहरूलाई किरा फट्याङ्ग्रा खोज्न मकैबारी जान कुनै अप्ठ्यारो हुँदैन होला भन्ने सोच्दै होलान् ।
यिनै विषयमाथि म केहीछिन सोँचमग्न हुन थाल्छु । प्रकृतिको ‘बरदान’ कहिले विकास र कहिले ‘विनाश’ पनि हुन्छ । लेख्ने विषयका चाङमा पल्टिएर आकाश नियाल्छु । बादल छैन । निलो आकाशमा मेरो मन झन् निलो बन्दै जान्छ ।
त्यसैले म चाहन्छु– मैले लेख्ने विषय छोटो, मीठो, रसिलो, रोचक होस् । र, पाठकहरूले पढ्न चाहेको खुराकी मेरो लेख पढेर उनीहरूले पाउन सकुन् । मेरो लेखमा उनीहरूकै अनुभव मिसिएको होस् । मैले लेख्ने विषयमा उनीहरूकै भावना गाँसिएको होस् । मेरो अनुभूतिमा उनीहरूकै अभिव्यक्ति अभिव्यक्त भएको होस् । अनि पढ्दाखेरि उनीहरूले भनिहालुन्– ‘ओहो यो लेखकले त मेरै भावना लेखेछ । मेरै अनुभव शब्दमा उतारेछ । मेरै अनुभूति यसरी कति मजाले अभिव्यक्तिमा ढालेछ । गजबै भयो !’
लेख्ने विषयको खोजीमा मेरो मन छटपटी रहन्छ । यसरी छटपटिरहेको बेला मनमा अनेक कुराहरू खेल्न थाल्छन् । आँखामा अनेक दृश्यहरू परेलाको दिलमा आएर तैरिन थाल्छन् । म आँखा खोलेर तिनलाई हेर्न सक्दिनँ । मनले मनन गरेर महसुस गर्न पनि सक्दिनँ । तर, मैले एउटा निबन्ध आज नलेखी भएको छैन । त्यति नगरी मैले चयनको सास फेर्न सक्ने छैन । न त मैले रातमा मिठो निन्द्रा देख्न पाउने छु । न बिपनामा आनन्दले काममा रमाउन नै सक्ने छु । किनभने म लेख्ने विषयको खोजीमा आज छटपटी रहेछु ।
लाग्छ, कहिलेकाहीँ लेख्नका लागि धेरै विषय हुँदा पनि छटपटीले मन बेचैन हुन पुग्दोरहेछ । कहिलेकाहीँ विषय नहुँदा पनि मन के लेखौँ र कसरी लेखौँ भन्ने अन्यौलले अलमलमा पार्ने रहेछ ।
यति लेखिसकेर आफैँलाई माथिदेखि पढेर मनन गर्छु । वास्तवमा मैले अहिले लेखेको यो लेखन मेरो लेखन हो कि अरूको लेखन हो ? मेरो अनुभव हो कि होइन ? म खुट्याउन सक्दिनँ । मैले त बिहानी एक प्रहरको क्षणलाई सदुपयोग गर्दै जे महसुस गरेँ र जे मैले देखेँ त्यही कुरा यसरी लेखेँ । –sahityapost








प्रतिकृया दिनुहोस्