June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

३० हजारबाट माछापालन सुरु गरेका पुन्यको व्यवसायिक छलाङ

भैरहवा– लगनशील भएर मिहिनत गरे सफलता पाइन्छ । यसको उदाहरण बनेका छन्, रुपन्देहीको शुद्धोधन गाउँपालिका–७, भगलापुरका ४२ वर्षीया पुन्यप्रसाद चौधरी । २० वर्षको उमेरमा दुईदशक अघि बुवाले धान बेचेर दिएको ३० हजार रुपैयाँबाट माछा पालन व्यवसायमा होमिएका चौधरीको अहिले व्यवसायिक छलाङ लोभलाग्दो छ । उनले अहिले माछापालनलाई उल्लेख्यरुपमा विस्तार गरेका छन् नै, कृषि पेशाबाट पर्यटन व्यवसायतर्फ समेत होमिएका छन् । कृषि पर्यटनको विकास गरेर मात्रै मुलुक आत्मनिर्भर बन्ने उनको विश्वास छ ।

Advertisement

गाउँमा माछापालनको लहर सुरु भएको थियो । भर्खरै उमेरले २० टेकेका पुन्यलाई पनि माछापालनमा होमिने मन लाग्यो । बुवा फौदारप्रसाद थारुसँग सल्लाह गरे । बुवाले छोराको ब्यवसाय गर्ने योजनामा साथ दिए । ‘तुरुन्त धान विक्री गरेर ३० हजार रुपैयाँ हातमा थमाइदिनुभयो’, त्यसबेला बुवाले दिएको साथ सम्झँदै पुन्य भन्छन्, ‘त्यसपछि आफ्नै १५ कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गरेँ ।’ उनले २०५८ सालबाट माछापालन सुरु गरेका हुन् ।

Advertisement

‘सुरुकै वर्ष ८० हजार नाफा भयो,’ पुन्यले भने, ‘परस्परागत बालीभन्दा माछापालनबाट मुनाफा हुने भएपछि म हौसिएँ ।’ २०६२ सालमा गाउँमै सरकारी अधिकारीहरु माछापालनबारे तालिम दिन आएका थिए । त्यहाँ सहभागी भएर उनले अझ धेरै ज्ञान लिए । ‘१५ मिनेट तालिम लिएको हुँ, त्यो तालिम मेरो व्यवसाय विस्तारको थप टर्निङ प्याइन्ट बन्यो’, उनले भने, ‘त्यसपछि थप १५ कठ्ठामा पोखरी खने र पूर्ण व्यवसायिक माछापालनमा लागेँ ।’ त्यसपछि भने उनले पछि फर्केर हेर्न परेको छैन । माछापालनबाटै उनी रुपन्देहीमै सबैको हाईहाई छन् ।

त्यतिमात्र होइन्, माछापालन गर्न चाहनेले उनीसँग सल्लाह लिन्छन् । व्यवसायिक सीप र ज्ञान सिक्ने गर्छन् । २०६३ मा रुपन्देहीमा सबैभन्दा बढी माछा उत्पादन गर्ने किसान भए । त्यसपछि उनी पुरस्कृत समेत भए । व्यवसायबाट हौसिएका पुन्यले अहिले ७ विघा क्षेत्रफलमा १२ वटा पोखरी खनेर माछापालन गर्दै आएका छन् । २०६८ बाट उनले माछाको भूरा उत्पादन सुरु गरे । यो बीचमा माछापालनबाटै २ विघा जमिन खरिद गरे । त्यसयता उनको व्यवसायिक क्षेत्र थप विस्तार हुँदै गएको छ ।

‘राम्रो आम्दानी हुँदै गयो, दिदीबहिनीको बिहेबारी गरिदियौं, घर बनाएँ, कार चढ्ने भएँ’, उनले भने, ‘यो सफलतामा मेरो बुवाआमा, श्रीमतीको ठूलो साथ र सहयोग छ ।’ पुन्यले शान्ति मत्स्य ह्याचरी रिसर्च प्रालिबाट वार्षिक ७ करोड गोटा भूरा उत्पादन गरी विक्री गर्दै आएका छन् । रुपन्देहीमै भूरा उत्पादन र विक्री गर्नेमा उनको फार्म सबैभन्दा ठूलोमध्यमा पर्छ । यहाँ उत्पादन गरेका भूरा उनले मुलुकका दर्जनौं जिल्लासँगै भारततर्फ पनि निकासी गर्दै आएका छन् ।

माछापालनबाट मनग्य आम्दानी गरिरहेका पुन्यले अघिल्लो वर्षदेखि पर्यटन क्षेत्रमा पनि हात हालेका छन् । उनले पोखरीको छेउमा ६ करोड लागनीमा २५ कठ्ठा जमिनामा सुविधासम्पन्न सखिया फिस रिसोर्ट संचालनमा ल्याएका छन् । रिसोर्ट पनि राम्रो चलिरहेको छ । पोखरीबाट उत्पादित माछाका थरिथरि परिकार बनाएर उनले रिसोर्टमा आउने पाहुनालाई खुवाउँछन् । १६ जनालाई रोजगारी दिएका छन् । ‘होटल पनि राम्रो चलेको छ । पोखरीको उत्पादन यही खपत हुने गरेको छ’, उनले भने, ‘माछा पारखीले विभिन्न परिकारको स्वाद लिन पाउँदा निकै खुशी हुनुहुन्छ ।’

रिसोर्टमा १२ वटा एसी कोठा छन् । पोखरीमाथि बनाइएको टहरामा बसेर यहाँ पुग्ने पाहुनाले माछाको स्वाद लिन सक्छन् । सभासमारोहका लागि सुविधायुक्त सभाहल छ । ‘एकैपटक ८० बढी जनालाई सेवा दिनसक्ने गरी रिसोर्ट बनाएका छौं’, उनले भने, ‘यहाँ आउनेले अग्र्यानिक थरिकथरिका परिकारसँगै माछाका मात्रै दर्जन भेराइटीको स्वाद लिन पाउनुहुन्छ ।’ उनले अब कृषिलाई पर्यटनसँग जोड्नुपर्ने बताए । ‘यसो गरेमा किसान डुब्ने जोखिम कम हुन्छ, त्यही कारण मैले माछापालन र पर्यटन व्यवसायलाई सँगसाँगै अघि बढाएको छु ।’

व्यवसायबाट पुन्यले वार्षिक करोडौं आम्दानी गर्छन् । रातदिन परिवारसँगै आफै काममा खटिन्छन् । गाउँमा परम्पारगत खेतिकिसानी गर्दै आएका पुन्यले व्यवसायिक माछापालन सुरु गरेपछि दैनिकी नै फेरिएको छ । उनले अहिले भूरा उत्पादन र १२ वटा पोखरीमा माछापालनसँगै होटल चलाइरहेका छन् । उनको परिश्रम र लगनशीलता देखेर जो कोही लोभिन्छ । लगनशीलता र निरन्तरको मेहनतले उनले यो खुशी आर्जन गर्न सफल भएका हुन् । छोराको प्रगति देख्दा बुवा फौदार पनि हर्षित छन् ।

‘छोराले केही गर्छुभन्दा मैले विना संकोच धान बेचेर लगानी गरेँ’, उनले भने, ‘काममा निरन्तर खट्यो, अहिले सफलता देख्दा निकै खुशी लाग्छ ।’ फौदारले परम्परागत खेतिभन्दा माछापालन निकै राम्रो भएको जनाए । ‘केही समस्याहरु छन्, ती समस्या सरकारले समाधान गर्ने हो भने माछापालन झनै फस्ट्याउँछ’, उनले भने । माछा नगदे बाली हो । प्रायः सबै किसिमका विरामीले सेवन गर्दा असर गर्दैन । अर्कातर्फ माछापालन गर्दा भूमिगत सिंचाई बचाई राख्छ भने पर्यावरणलाई समेत राम्रो गर्छ । जसले गर्दा रुपन्देहीमा पछिल्लो पटक व्यवसायिक माछापालक कृषक दैनिक बढ्दै छन् ।

नयाँका लागि पुन्य उदाहरण बनिरहेका छन् । माछापालनमा उत्कृष्ट ठहरिएकै कारण पुन्य दर्जनौंपटक स्थानीय र राष्ट्रिय पुरस्कारबाट पुरस्कृत समेत भएका छन् । व्यवसायिक माछापालनबाट छलाङ मारिरहेका पुन्यका सरकारसँग गुनासा नभएका भने होइनन् । उनले भारतबाट चोरीपैठारी गरी माछा भित्र्याइँदा, कृषि ऋणको ब्याज बृद्धि, दाना महंगो हुनु, माछापालनलाई उद्योग सहर राख्दा आयकर र विद्युत महशुल बढी हुनु जस्ता समस्याले पिरोल्ने गरेको सुनाउँछन् ।

‘यी समस्यामासाथ दिएर सरकारले सहुलियत दिए मजस्ता कयौं कृषकका कारण मुलुक आत्मनिर्भर बन्ने थियो’, उनले भने, ‘सबैभन्दा पहिला सीमा नाकामा कडाई हुनुपर्छ ।’ उनले व्यवसायिक माछापालनमा लाग्ने कृषकलाई प्रधानन्त्री आधुनिकीकरण परियोजनाले पनि सहयोग गरिरहेको जनाए । ‘सरकारले सहयोग नगरेको होइन्, देख्दा सामान्य तर कृषकलाई निकै असर गरिरहेका समस्या छन्, ती हल हुनुपर्छ’, उनले भने, ‘किसानलाई अन्तर्राष्ट्रियस्तरको तालिम र भ्रमणको पनि आवश्यकता छ ।’