June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

गौतमबुद्ध विमानस्थलको पर्खालभित्रको ४ विघा १७ कठ्ठा जमिन व्यक्तिको नाममा दर्ता

भैरहवा– सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्र नेपालमा बस्दैनन् । उनी भारतको गोरखपुरमा बस्दै आएका छन् । तर, भैरहवादेखि स्याङ्जासम्मका भूमाफियाले उनै मिश्रलाई प्रयोग गरेर हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिरलाई जग्गा धनी सुर्जा मिश्राइनले २०२२ पुस २० मा उपलब्ध गराएको जमिन अहिले मालपोतको मिलेमतोमा मिश्रको नाममा दर्ता गरिएको हो । सातवटा कित्तामा रहेको ४ विघा १७ कठ्ठा ६ धुर जमिन २०८० बैशाख ८ गते मालापोत कार्यालय, रुपन्देहीले मिश्रको नाममा दर्ता गरिदिएको छ । त्यसपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिग्रहणमा आफ्नो जमिन परेको भन्दै मिश्रले विमानस्थल आयोजना कार्यालयमा मुआब्जाका लागि निवेदन दिएका थिए ।

Advertisement

भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा मिश्रको नाममा दर्ता गरिएको जमिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र पर्खालभित्र पर्छ । हदबन्दीका कारण फिल्ड बुकमा भए पनि कसैको नाममा दर्ता नरहेको करिब ५ विघा जमिन मिलेमतोमा मिश्रको नाममा मालपोतले दर्ता गरिदिएको हो । जग्गा दर्तापछि मिश्रले विमानस्थलको अधिग्रहणमा आफ्नो जमिन परेको भन्दै मुआब्जाका लागि विमानस्थल आयोजना कार्यालयमा निवेदन दिए पछि घटना बाहिर आएको छ ।

Advertisement

फिल्डबुकमा प्रष्ट कसैको नाममा दर्ता नभएको र हदबन्दीले गर्दा ५८ वर्ष पहिला नै सुर्जा मिश्राइनले काली मन्दिरलाई दिएको उल्लेख गरिएको जमिन मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरिएको हो । मालपोतले भने हदबन्दी नभएको र जिल्ला अदालतको मिलापत्रको आधारमा मिश्रको नाममा गरिदिएको दावी गरेको छ । ‘जिल्ला अदालतले २०७८ मै मिलापत्र गरेर जग्गा दर्ता गरिदिनु भनेको थियो’, जिल्ला मालपोत कार्यालय, रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले भने, ‘मिलापत्र भए पनि हामीले जमिन दर्ता गर्न सक्दैनौं भन्यौं, त्यसपछि मिश्र उच्च अदालत गए । उच्चले परमादेश जारी गर्दै निर्याण कार्यान्वयन गर्न भन्यो । अनि, हामीले दर्ता गरिदिएका हौं ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालभित्र रहेको काली मन्दिरको जीर्ण भवन ।

२०७९ सम्म फिल्डबुकमा कसैको नाममा नरहेको र मुआब्जाका लागि पनि कुनै व्यक्ति दावी गर्न नआएको जमिन एकाएक मिश्रले मुआब्जा पाऊ भनि निवेदन दिएपछि अहिले विमानस्थल आयोजना कार्यालयले विभिन्न निकायमा पत्रचार गरेको छ । मुआब्जा नदिने अडान लिँदै आयोजनाले नेपाल नागरिक उड्डयन प्राधिकरण, जिल्ला प्रशासन लगायतमा जानकारी गराएको छ । ‘हामीले यसबारे सबै निकायमा जानकारी गराएका छौं’, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘तत्काललाई मुआब्जा दिने कुरै हुँदैन ।’

उनले तथ्य प्रमाणले जमिन व्यक्तिको भए पनि हदबन्दीका कारण काली मन्दिरलाई दिइएको देखाएको र अहलिे कुन आधारमा व्यक्तिको नाममा दर्ता गरियो भन्नेबारे जाँचबुझ भइरहेको सुनाए । ‘हामीले सरोकारवाला निकायलाई पत्र काटेर विस्तृत विवरण अध्ययन गरिरहेका छौं’, उनले भने, ‘विवाद टुंगो नलागेसम्म बाँकी प्रक्रिय अघि बढ्दैन ।’

यस्तो छ वास्तविकता
सिद्धार्थनगर–१० निवासी निसन्तान सुर्जा मिश्राइनको २०२२ सालमा ३० विघा १४ कठ्ठा १४ धुर जमिन थियो । तर, भूमि सम्बन्धी ऐन २०२१ अनुसार ११ विघा बढी जमिनमा हदबन्दी लाग्ने भए पछि उक्त जमिन मिश्राइनको नाममा दर्ता भएन । त्यसपछि उनले मालपोत फाँटवारी भरेर हदबन्दीभन्दा बढी जमिन मन्दिरको नाममा जाने भनिन् । २०२५ माघ १८ गते मिश्राइनको मृत्यु भयो । त्यसपछि अपुताली खाने कसले भनेर विवाद भयो । विभिन्न व्यक्तिले अपुताली दावी गरे । जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतको फैसला पछि २०६४ सालमा मालपोतले नजिकका नाता पर्ने रमाकान्त मिश्रको नाममा जमिन दर्ता गर्ने निर्णय गर्यो ।

तर, त्यसबेला साविक भुजौली नक्सा सिट नम्बर ९ (ख) का कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२, ९४ को जमिन काली मन्दिरलाई छाड्ने निर्णय गरेको देखिन्छ । मालपोतले निर्णय गरे पनि जमिन नाममा नजाँदै रमाकान्तको २०६४ मंसिर २२ मा मृत्यु भयो । उनको मृत्युपछि नजिकको हक खाने नाती पर्वतराज कान्त मिश्रको नाममा भुजौली ९ (क) र (ख) का गरी २४ वटा कित्ताका हदबन्दीभित्र पर्ने १० विघा ६ कठ्ठा १९ धुर जमिन नाममा दर्ता भयो । मिश्राइनका ३० विघा १४ कठ्ठा १४ धुर जमिन मध्ये १३ विघा १३ कठ्ठा ८ धुर जमिनमा मोही कायम भएको र काली मन्दिरलाई ६ विघा जमिन दिए पछि बाँकी रहेको जमिन मिश्रको नाममा दर्ता गरिएको थियो ।

मिश्रका नाममा दर्ता भएको जग्गाको पुर्जा ।

आफ्नो नाममा आए जमिन मिश्रले विभिन्न मितिमा विक्री गर्दै गएको देखिन्छ । विक्री गरेर बाँकी रहेको १ विघा १ कठ्ठा जमिन पनि विमानस्थल बन्दा अधिग्रहणमा परेपछि उनले मुआब्जा लिएका थिए । अहिले आएर हदबन्दी भनेर मन्दिरलाई छाडेको जमिन मिलोमतोमा मिश्रको नाममा गरिएको छ । यदि मिश्रले मुआब्जा पाए भने करिब ९ करोड रुपैयाँ पाउँछन् । यही ९ करोड हत्याउन मालपोतदेखि भूमाफियासम्म सक्रिए भएको देखिन्छ । यसबारे प्रशासनले छानविन सुरु गरेको जनाएको छ ।

रुन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफूले मालपोत र विमानस्थल आयोजनालाई आधिकारिकता उपलब्ध गराउन निर्देशन दिएको जनाए । ‘जमिनको विवाद के हो ? कसरी अहिले व्यक्तिका नाममा दर्ता भयो ? यसमा को–को संलग्न छन् ? भन्नेबारे विस्तृत कागजात माग गरेको छु’, मुआब्जा वितरण समितिका संयोजकसमेत रहेको प्रजिअ अर्यालले भने, ‘सबै फाइल अध्ययन गरेपछि सत्य बाहिर आउँछ । यदि गलत गरेको पाइए संलग्नलाई कानूनी दायरामा ल्याउँछौं ।’ उनले यसबारे छिटो भन्दा अध्ययन र अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउने जनाए ।

अचम्म के छ भने हदबन्दी भन्दै तत्कालीन समयमा जग्गा धनीले नै मन्दिरलाई दिएको जमिन अहिले व्यक्तिको नाममा गराउँदा साटफेर गरेर दर्ता गरिएको छ । भुजौली नक्सा सिट ९ (ख)को २९ नम्बर कित्ताको जमिन मिश्रको नाममा गराउँदा मालपोतले भुजौली नक्सा सिट ९(क) भनेर दर्ता गरिदिएको छ । यसले पनि मिलोमतोको पुष्टि गर्ने दावी आयोजनाको छ । जवकी नक्सा सिट ९(क) को जमिन २०७५ सालमै अधिग्रहणपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता भइसकेको छ । अर्कातर्फ विमानस्थलको अधिग्रहणमा परेको जमिन व्यक्तिको नाममा बनाउँदा मालापोतले मुआब्जा वितरण समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग कुनै राय लिइएको छैन ।

विमानस्थलको पर्खाल पर्ने तर मिश्रका नाममा दर्ता भएको जमिन ।

अहिले पनि विमानस्थलको पर्खालभित्र काली मन्दिरको जीर्ण संरचना छ । यसलाई नभत्काई यत्तिकै छाडिएको छ । भूमाफियाहरुले मुआब्जावापतको करोडौं रकम हत्याउन नाता पर्ने मिश्रलाई प्रयोग गरेको देखिन्छ । जमिन मिश्रको नाममा दर्ता गराउँदा मालोत प्रमुख कुमार आचार्य र मुद्दा खाशा प्रमुख नासु अजितकुमार साहनीले निर्णय गरेका छन् । मिश्रको नाममा दर्ता भएको जमिन विमानस्थलको धावनमार्ग र पर्खालभित्र पर्छ । सबै प्रक्रिया मिलाएर मिश्रलाई गोरखपुरबाट बोलाएर जमिन दर्ता गरिएको दावी सरोकारवालाको छ ।

सुर्जा मिश्राइनले काली मन्दिरलाई दिने भनेर भरेको फाँटवारी ।

मिश्र अहिले पनि गोरखपुरमै छन् । उनी जग्गा दर्ता पछि आयोजनामा मुआब्जा माग गरेर गोरखपुरतिर लागेको स्थानीय बताउँछन् । स्रोतका अनुसार उनको गोरखपुरमा घर छ । भैरहवामा घरसमेत छैन । उनले दोहोरो नागरिकता लिएको पनि स्थानीयको आशंका छ । तर, यसबारे तथ्यप्रमाण बाहिर आएको छैन । मालपोत प्रमुख आचार्यले भने आफूले तथ्यप्रमाण हेरेर र अदालतको आदेशअनुसार काम गरेको जनाउँदै भोलिका दिनमा गलत ठहरिए कारबाही भोग्न तयार रहेको जनाए ।