June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

निर्माण सकिएको ६ महिनामै भत्किन थाल्यो भैरहवा–लुम्बिनी–तौलिहवा सडक

भैरहवा- विश्व पर्यटन केन्द्र लुम्बिनी पुग्न सहज सडक मार्ग बनाउने लक्ष्यसहित भैरहवा–लुम्बिनी–तौलिहवा सडक स्तरोन्नती भएको छ । तर, निर्माण सम्पन्न भएको छोटो समयमै सडक भने जीर्ण बन्न थालेको छ ।

Advertisement

भैरहवा–लुम्बिनी–तौलिहवा सम्मको ४१ किलोमीटर १ सय ३० मिटर लामो यो सडक सन् २०२० को डिसेम्बरमा निर्माण सम्पन्न भएको थियो । भैरहवा र कपिलवस्तुको तौलिहवाबाट बुद्ध जन्मस्थल लुम्बिनी पुग्न सहज सडक मार्गले जोड्ने मुख्य उद्देश्यले यो सडक स्तरोन्नती गरिएको हो । सडक निर्माण गर्दा ठेकेदार पक्षको लापरबाही र आयोजनाको फितलो अनुगमनले पर्यटकीय मार्गमा पर्ने सडक भने निर्माण सकिएको ६ महिना नहुँदै धुजाधुजा बनेको छ ।

Advertisement

‘निर्माणका क्रममा आयोजना र सरकारी पक्षबाट कुनै अनुगमन भएन, ठेकेदारले मनलाग्दी गर्यो, कहाँ कति मात्रामा निर्माण सामग्री हाल्ने भन्दा पनि कसरी फाइदामा पुगिन्छ भन्ने ठेकेदारलाई थियो’, सिद्धार्थनगर–४ का डिलबहादुर क्षेत्रीले भने, ‘यसैको परिणाम सयौं ठाउँमा खाल्डाखुल्डी परेका छन्, कतै भाँसिएको छ ।’ उनले आयोजना र ठेकेदारको मिलेमतोले गर्दा सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएको आरोप लगाए ।

सडकको भैरहवाबाट तौलिहवासम्म दायाँतर्फ क्षति कम भए पनि बायाँतर्फ भने अधिकांश ठाउँमा सडक भाँसिएको छ । खाल्डाखुल्डी परेका छन्, फुटेको छ भने कतिपय ठाउँमा पिच उप्किएको छ । बुद्धचोकबाट गौतमबुद्ध विमानस्थलसम्मको ६ लेन क्षेत्र अस्फाल्ट प्रविधि र त्यहाँबाट तौलिहवासम्मको सडक डिभीएसपी प्रविधिबाट कालोपत्रे गरिएको हो । तर, यहाँ प्रयोग गरिएका यी दुवै प्रविधि सफल भएनन् ।

निर्माणाधीन अवस्थामा आयोजनाले अनुगमन गरेन । यसैको मौकामा ठेकेदारले कमसल सामाग्री प्रयोग गर्दा छोटो अवधिमै सडक भत्किएको हो । यति छोटो समयावधिमै सडक छियाछिया बन्दै जाँदासमेत आयोजनाले यसबारे प्राविधिक जाँचबुझ भने गरेको छैन । ‘सडक निर्माण हुँदा त अनुगमन भएन भने अब बनिसकेपछि कहाँबाट अनुगमन र प्राविधिक जाँच हुनु’, स्थानीय बासिन्दासमेत रहेका क्षेत्री भन्छन् ।

कम्तिमा पँच वर्ष टिकाउ हुने भनिएको यो सडकखण्ड अन्तर्गत भैरहवा बुद्धचोकदेखि एअरपोर्टसम्म ६ लेन, एअरपोर्टदेखि लुम्बिनी पर्सा चौराहसम्म ४ लेन र त्यहाँबाट तौहिवासम्म २ लेनको हो । ६ लेन क्षेत्रमै दर्जनौं ठाउँ कालोपत्रे उप्किएको छ । भाँसिएको छ । ४ लेन र दुई लेन सडकखण्डको अवस्था पनि उस्तै छ ।

स्थानीय विष्णुप्रसाद मरासिनी भन्छन्, ‘हाम्रा हरेक योजनाहरु यसैगरी बनेका छन्, समयमै सम्पन्न नहुने, भइहाल्यो भने पनि गुणस्तर नहुने । यो पूरानो रोग हो । पूरानो रोग भैरहवा–तौलिहवा सडकमा पनि देखियो ।’ उनले यो सडक निर्माणका क्रममा आयोजनाबाट अनुगमन र निरीक्षण नभएको बताए ।

‘ठेकेदारले सडक बनाउँदा नै भनेको थियो, यहाँ प्रयोग गरिएको प्रविधिबाट सडक टिकाउ हुँदैन भनेर । त्यसपछि हामी स्थानीयले आयोजनालाई भन्यौं, ठेकेदारले यो प्रविधिबाट टिकाउ हुन्न भनेको छ, यसलाई सच्याउ भनेर, तर सुनिएन । फलस्वरुप अहिलेको अवस्था आयो’, मरासिनीले भने । छोटो समयावधिमै सडक भत्किन सुरु गरेकाले सडक एक वर्ष पनि नटिक्ने उनले जनाए ।

एडीबीको आर्थिक सहयोगमा भारतीय कम्पनी डावर कन्ट्रक्सनले सुरुमा एक अर्ब ९३ करोड ६३ लाखमा ठेक्का सम्झौता गरि सडक स्तरोन्नतीको काम सुरु गरेको थियो । तर, पटक–पटक नयाँ भेरिएसन गरी निर्माण सम्पन्न हुँदासम्म लागत बढाएर दुई अर्ब ८ करोड रुपैयाँ भन्दा बढी पुर्याइएको थियो ।

‘यति धेरै रकम खर्चेर बनाइएको सडक भने आयोजनाको खेलाँची र जे गरे पनि हुन्छ भन्ने ठेकेदारको मानसिकताको उपज बनेको छ’, क्षेत्रीले भने । कतिपयले आयोजना र ठेकेदारको मिलमतोको आशंका पनि गरेका छन् । ‘त्यसैले प्राविधिक जाँचबुझ गरी सडक पुनर्निर्माणमा लाग्नुपर्छ । होइन् भने सडक पहिलाको जस्तो पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने निश्चित छ’, क्षेत्रीले भने ।

आयोजना प्रमुख प्रदीपराज शाक्यले कतिपय ठाउँमा सडक विग्रिएको स्वीकारे । उनले भने, ‘यसबारे हामीले ठेकेदारलाई भनिरहेका छौं, कोरोना महामारी केही कम भयो भने पुनर्निर्माण सुरु हुन्छ ।’ तर, के–कति कारणले यति छोटो समयमै सडक भत्कियो भन्ने बारे भने उनले अनविज्ञता प्रकट गरे ।

‘हामीले कसरी सडक भत्कियो भन्नेबारे जाँचबुझ गरेका छैनौं, अहिले कोरोना महामारी छ, अवस्था अलि सहज भयो भने यसबारे बुझ्छौं’, उनले भने, ‘जहाँ–जहाँ समस्या देखिएको छ, त्यहाँ–त्यहाँको सडक पुनः बनाउँछौं ।’ सडक निर्माण सम्पन्न भए पनि ठेक्का सम्झौता गर्दा निर्माण सकिएको एक वर्षसम्म पुनः मर्मत गर्ने जिम्मा ठेकेदारलाई दिइएको थियो । त्यसले एक वर्षसम्म जति सडकमा क्षति हुन्छ, त्यो ठेकेदारले नै मर्मत गर्ने छ ।

‘अहिले मर्मत सम्भारको अवधि हो, यो अवधिमा आइपर्ने समस्या ठेकेदारले गर्ने छ, त्यसपछि मात्रै सडक सरकारलाई हस्तान्तरण हुनेछ’, शाक्यले भने । यहाँका स्थानीयले भने कमसल निर्माण सामग्रीको प्रयोगले सडक जीर्ण बनेको भन्दै ठेकेदार र आयोजनाको आलोचना गरेका छन् । स्थानीय बासिन्दा मरासिनी भन्छन्, ‘एकदुई ठाउँ भत्किएको भए पो, कुनै प्राविधिक कारण होला भन्ने, सयौं ठाउँ भत्किएको छ, यो कमसल सामग्री प्रयोग र नेपालको इन्जिनियरिङ पाटो नै गलत भएर हो ।’

सहज अवस्थामा वर्षेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी भ्रमणमा आउने गर्छन् । विगतमा धुलाम्य सडकमा यात्रा गर्दा विश्व पर्यटन बजारमा लुम्बिनीबारे नकारात्मक सन्देश प्रवाह हुनसक्ने चिन्ता थियो । यसैलाई मध्यनजर गरी सडक स्तरोन्नती गरियो । तर, फेरि सडक विग्रिन थालेपछि अवस्था पहिलेको जस्तै हुनेत होइन् भनेर यहाँका पर्यटन व्यवसायी चिन्तित छन् ।