June 29, 2026, Monday
२०८३ असार १६ मंगलवार

देश जलाए आमा !

Advertisement

देश जलाए आमा, तर आगोले मात्र होइन
सत्ताको लोभ
स्वार्थको धुवाँ
र झुटा आश्वासनले

Advertisement

हिजो क्रान्तिको नाममा
आज परिवर्तनको नाममा
भोलि फेरि नयाँ नाराको नाममा
जल्ने त उही देश हो
र पोलिने त उही जनता

चोकहरूमा नारा धेरै गुन्जिए
तर गाउँका बाटाहरू अझै धुलाम्मे छन्
सिंहासन फेरियो
संविधान फेरियो
सरकार फेरिए
तर गरिबको चुलोमा
भात पाक्ने समय फेरिएन

देश जलाए आमा, किनकि इँटा जोड्ने हातभन्दा
इँटा भत्काउने भीड धेरै जन्माइयो
निर्माणको राजनीति हरायो
विनाशको उत्सव बढ्दै गयो

हामीले रगतले इतिहास लेख्यौँ
तर पसिनाले भविष्य लेख्न बिर्सियौँ
त्यसैले आज पनि
सपना विदेश उड्छ
र गाउँका आँगनहरू
आमाको प्रतीक्षाले भरिन्छन्

यथार्थ देख्छु, रगताम्य र घायल भएका
अर्काथरी फेसबुकमा लाइकको सुख गनिरहेका
संकटमा परेको छु, लाइक कसरी हानूँ ?
सिम्प्याथी र डिस्लाइक नै हराएका

आमा,
अब देशलाई आगो होइन
आत्मा चाहिएको छ
नारा होइन
निष्ठा चाहिएको छ
सत्ता होइन
सेवा चाहिएको छ
नत्र इतिहासले फेरि लेख्नेछ, ‘देशलाई शत्रुले कम
आफ्नैले धेरैपटक जलाए’
देश जलाए आमा !

-baahrakhari