तिलोत्तमा नगरपालिकाको बजेट ३ अर्ब ५ करोड


तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार, कृषि आधुनिकीकरण र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८३-८४ का बजेट ल्याएको छ । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बुधबार नगरसभाको २१औं अधिवेशनको बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाले आगामी आवका लागि ३ अर्ब ५ करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पूँजीगत खर्चका लागि १ अर्ब ६७ करोड ८४ लाख ६६ हजार रुपैयाँ अर्थात कुल बजेटको ५४.९१ प्रतिशत वजेट विनियोजन गरिएको छ । यसैगरी चालु खर्चतर्फ ९२ करोड ३८ लाख २२ हजार रुपैयाँ अर्थात ३०.२२ प्रतिशत, सामाजिक सुरक्षातर्फ ४५ करोड रुपैयाँ अर्थात १४.७२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४५ लाख रुपैयाँ विनियाजन गरिएको छ ।
आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोततर्फ तिलोत्तमाले आन्तरिक राजस्वबाट ३६ करोड ६ लाख २५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । बाँकी २ अर्ब ६९ करोड ६१ लाख ६३ हजार रुपैयाँ संघीय र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट तथा चालु आर्थिक वर्षको नगद मौज्दातबाट बेहोरिने छ ।
कृषि क्षेत्रको आधुनिकीकरणका लागि एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत विभिन्न बालीका पकेट क्षेत्रहरूलाई बजेट विनियोजन गरिएको छ । उत्पादनमा आधारित दूध अनुदान कार्यक्रम अन्तर्गत गाई र भैंसीको दूधमा प्रतिलिटर २ रुपैयाँका दरले अनुदान दिन ६५ लाख रुपैयाँ छुट्याइएको छ भने छाडा चौपाया व्यवस्थापनका लागि तिलोत्तमा गौशालालाई २० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै तिलोत्तमाले वित्तीय कारोबार पारदर्शी बनाउन र जोखिम न्यूनीकरण गर्न नगरभित्रका सबै सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गराउन १० लाख रुपैयाँ विनियोजन गरेको छ ।








प्रतिकृया दिनुहोस्