May 29, 2026, Friday
२०८३ जेष्ठ १५ शुक्रबार

बजेटः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन निजी क्षेत्रसित सहकार्य

Advertisement

भैरहवा– सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रसित सहकार्य गर्ने जनाएको छ । शुक्रबार संघीय संसदमा आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले गौतमबुद्ध विमानस्थलबाट नियमित उडानका लागि निजी क्षेत्रसित हातेमालो गर्ने घोषणा गरेका हुन् ।

Advertisement

सञ्चालनमा आएको चार वर्ष पूरा भइसक्दा समेत विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित छैनन् । सरकारको आफ्नै ध्वजा वाहक जहाज नभएको अवस्थामा विदेशी वायुसेवा कम्पनीले आफू अनुकुल उडान भर्दै आएका छन् । जसले गर्दा लामो समयदेखि रुपन्देहीस्थित निजी क्षेत्रले विमानस्थल सञ्चालनको माग गर्दै आन्दोलन समेत गरिरहेको छ ।

वर्तमान सरकारले निजी क्षेत्रसित समन्वय गरेर भए पनि विमानस्थल पूर्णक्षमतामा चलाउने घोषणा गरेको हो । विमानस्थल सञ्चालनका लागि स्वदेशी र विदेशी कम्पनीले चासो दिँदै आएका छन् ।

४० अर्ब बढी लागतमा बनेको विमानस्थललाई लक्षित गरी निजी क्षेत्रबाट त्यसको दोब्बर लगानी भएको छ । तर, विमानस्थल नचल्दा निजी क्षेत्र चरम निरासामा छ ।

पर्यटन व्यवसायी तथा नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापाले विमानस्थल संचालनका लागि निजी क्षेत्रलाई दिने विषयमा असन्तुष्ट जनाएका छन् । उनले सरकारले सार्थक प्रयास नगरी पहिलो कदममा नै अन्तिम विकल्प रोजेको उनले बताए ।

‘निजी क्षेत्रलाई दिनु आफैमा नराम्रो त हैन । तर, संचालनको मोडालिटी, संचालन अवधि, सरकारले निजी क्षेत्रलाई दिँदा अपनाउनु पर्ने आन्तरिक तयारी, ग्लोबल टेण्डर प्रक्रिया, विमानस्थल संचालनबारे भारतीय पक्षसँग सुल्झाउनु पर्ने केही रिजर्भेसन जस्ता धेरै गहन पक्षहरुलाई केलाउँदा अझै पनि यो विमानस्थल संचालनमा आउन बर्षाैं लाग्ने देखियो’, उनले भने ।

‘डाँडा पारी हैन, वारि नै खाउँ’ भनी भोकाएका आफूहरु जस्ता जनताका लागि सरकारको यो बजेट विमानस्थल संचालनका सन्दर्भमा अझै केही वर्ष ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात् झैं हो’ सबैलाई चेतना भया भन्दै उनले असन्तुष्टि जनाएका छन् ।