घोराहीमा तीन दिने मह महोत्सव सुरु


दाङ–महको बजारीकरण तथा प्रवर्धन गर्नका लागि दाङको घोराहीमा तीन दिने मह महोत्सव–२०८३ सुरु भएको छ ।
नेपाल मौरी पालक महासङ्घ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको सभा हलमा महोत्सव सञ्चालन भएको हो ।
मह महोत्सवको लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्थीले उद्घाटन गर्दै परम्परागत रूपमा मात्र मौरीपालन गरेर नपुग्ने भन्दै व्यवसायिक रूपमा घारदेखि उत्पादनसम्म सुधारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
‘‘गुणस्तरीय मह उत्पादन गरी स्वदेशसँगै विदेशमा निर्यात गर्ने गरी किसानले व्यवसाय विस्तार गर्नु पर्नेमा जोड दिँदै पन्थीले त्यसका लागि लुम्बिनी प्रदेश सरकारले किसानलाई अभिभावकत्व प्रदान गर्दै सहयोग गर्न तयार रहेको बताए ।
मह उत्पादनमा दाङ चितवनपछिको दोस्रो जिल्ला हो । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङका अनुसार दाङमा हाल ४ सय भन्दा बढी किसान व्यावसायिक मौरीपालनमा संलग्न छन् । दाङ जिल्लामा वार्षिक ३ सय १५ टन भन्दा बढी मह उत्पादन भई १० करोड रुपैयाँ बराबरको कारोबार हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले गुणस्तरीय मह उत्पादन गर्दै प्रशोधन गरेर राष्ट्रिय तथा अन्तर्राट्रिय क्षेत्रमा निर्यात गर्नु अहिलेको आवश्यकता रहेकाले किसान त्यही अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
मौरीपालनमा संलग्न किसानको सङ्ख्या बढ्दै गए पनि मह उत्पादनमा कमी आएकोले बाह्रै महिना मह उत्पादन कायम राख्न मौरीको चरण क्षेत्र विकास गर्नुपर्ने र जङ्गल क्षेत्रमा चिउरीलगायतका विरुवा रोप्नु पर्ने बिषयलाई महोत्सवमा जोड दिइएको छ ।
घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको हलमा सुरु भएको महोत्सवको उदघाटनपूर्व घोराही बजारमा र्याली समेत निकालिएको थियो ।
महोत्सवमा किसानले विभिन्न सिजनका उत्पादन गरेको महसँगै मौरीपालन सम्बन्धि सामग्री प्रदर्शनी र व्यवसायका चुनौती तथा सम्भावनाबारे छलफल गरिने भएको छ ।








प्रतिकृया दिनुहोस्