May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३ बुधबार

एआईमैत्री व्यवसायमा चासो

Advertisement

भैरहवा – लगानीकर्ता उत्साहित छैनन् । भेट्यो कि असफलता र निरासाको कुरा गरिहाल्छन् । कमाउन न त त्यस्तै हो, कर्मचारीलाई पारिश्रमिक दिन नसक्दा हैरान भइरहेको सुनाउँछन् । कतिपय व्यवसायिक प्रतिष्ठानले खर्च कटौंतीलाई जोड दिएका छन् । खर्च घटाउने बित्तिकैं मारमा पर्ने कामदार हुन् । कसरी हुन्छ, थोरैं जनशक्तिबाट धेरै काम लिन लगानीकर्ता केन्द्रित छन् ।

Advertisement

पछिल्लो समय कृत्रिम बुद्धिमता (एआई) को प्रयोगले जनशक्तिको अभाव टार्न थालेको छ । एआईको सही उपयोगले एक्लै व्यक्तिले धेरै जनाको काम गर्न सक्छन् । उत्पादन, व्यापार, खरिदबिक्री र ब्राण्डिङका काम एआईबाट भइरहेका छन् । यसले मानव जनशक्तिको आवश्यकतालाई स्वाट्टैं घटाइदिएको छ । ‘एआईको प्रयोग नगरी सुखैं छैन,’ ई–ड्राइभ लुम्बिनीका सञ्चालक राजकुमार गुप्ता भन्छन्, ‘कसरी हुन्छ आफ्नो व्यवसायलाई अटोमोसनमा लैजानुपर्छ ।’

अहिलेसम्म व्यक्ति र कम्पनीले भित्रिरुपमा छलफलमा ल्याइरहेको एआई प्रयोगको विषय बिस्तारै सार्वजनिक बहसमा आउन थालेको छ । अहिलेसम्म संघीय राजधानीमा मात्र एआई प्रयोगको चर्चा हुन्थ्यो । यसपटक धेरै उद्योग–व्यवसाय रहेको रुपन्देहीमा यसको प्रयोग कसरी अर्थपूर्ण बनाउन सकिन्छ भन्नेबारे छलफल सुरु भएको छ । यसैक्रममा शनिवार बुटवलमा उद्योगी–व्यवसायीका लागि एआईको प्रयोगबारे प्रशीक्षण आयोजना गरिएको थियो । भैरहवाको जिनियिस टक नेपालले आयोजना गरेको छलफलमा रुपन्देहीका उद्योगी–व्यवसायीको सहभागिता रहेको थियो ।

भारतबाट आएका एआई प्रशिक्षक परितोष शर्माले रुपन्देहीका उद्योगी–व्यवसायीलाई एआईको प्रयोगबारे प्रारम्भिक ज्ञान प्रदान गरेका थिए । त्यसक्रममा उद्योगी–व्यवसायी र कर्मचारीले दैनिक कार्यालय सञ्चालनमा एआईको सदुपयोगबारे जिज्ञासा राखेका थिए । साथैं यसको प्रयोगबाट मिल्ने कार्य सफलताबारे चासो राखेका थिए । पंचकन्या समूहका महाप्रवन्धक देवेन्द्र साहुले एआईको प्रयोगबाट आफ्नो प्रतिष्ठानले लिन सक्ने लाभ र कर्मचारीको दक्षता विकासबारे प्रश्न सोधेका थिए । एआईको कर्मचारीको जीवन पद्धतिसित कसरी तालमेल गराउन सकिन्छ भनेर चासो दिनु्का साथैं आगामी दिनमा उद्योगले यसलाई कसरी आत्मसात गर्ने भन्नेबारे जिज्ञासा राखेका थिए ।

युवा उद्योगी सुरज उप्रेतीले एआईको आवश्यकता र सम्भावनाबारे जानकारी भए पनि व्यवहारिक जीवनको यसको उपयोग हुन बाँकी रहेको बताए । अहिलेसम्म एआईलाई सामान्य जिज्ञासाको उत्तर दिने माध्यामको रुपमा लिएको जनाउँदैं उनले आगामी दिनमा यसलाई कार्यशैली बनाएर जानुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा स्प्रिङबेश डट एआईका संस्थापक भरत गोल्छाले आफ्नो कम्पनी र यसले प्रदान गर्ने सेवाबारे जानकारी गराएका थिए । साथैं उनले स्प्रिङबेश डट एआईको प्रयोगबारे जानकारी दिएका थिए । कार्यक्रममा रुपन्देहीका डेड सय उद्योगी–व्यवसायी सहभागी थिए ।