May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३ बुधबार

जनस्वास्थ्यलाई खेलवाडः नियमविपरीत लुम्बिनीको एभरग्रिन लाइफ केयर हस्पिटलमा जटिल शल्यक्रिया, नियामक मौन

Advertisement

भैरहवा– लुम्बिनीमा रहेको एभरग्रिन लाइफ केयर हस्पिटल प्रालिले मापदण्ड विपरीत सेवा संचालन गरेर विरामीको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महजिदियामा रहेको १५ बेडको उक्त अस्पतालमा एनेस्थेसिया (बेहोस) बनाउने चिकित्सक विनै जटिल शल्यक्रियासम्म गरेको पाइएको छ । नियम अनुसार १५ बेडको अस्पतालले शल्यक्रिया गर्न पाउँदैनन् । आईसीयु लगायतका पूर्वाधार नहुने भएकाले यस्तो रोक लगाइएको हो । तर, उक्त अस्पतालमा पाठेघर, टाउकाे, हर्निया, बच्चा जन्माउने जस्ता संवेदनशील शल्यक्रिया भइरहेका छन् ।

Advertisement

मंगलबार पब्लिक कुराको टिम अस्पतालमा पुग्दा संचालक डा.अस्फाक हुसेनले कपिलवस्तुको मायादेवी गाउँपालिकाकी एक महिलाको शल्यक्रिया गरिरहेका थिए । ती महिलाका श्रीमान् सद्धाम हुसेन मुसलमानले सुत्केरी बेथा लागेपछि श्रीमतीलाई एभरग्रिन अस्पताल ल्याएर आएको र चिकित्सक असफाकले शल्यक्रिया गरेपछि छोरा जन्मिएको बताए । जबकी उक्त अस्पतालमा एनेस्थेसियाका चिकित्सक नै छैनन् ।

एनेस्थेसियाका चिकित्सक विनै डा.अस्फाकले शल्यक्रिया गरेको यो पहिलो घटना होइन्, उनले कयौं पटक यस्ता शल्यक्रिया गरेका छन् । जसले गर्दा धेरै विरामीको स्वास्थ्यमा थप जटिलता आएपछि भैरहवा, बुटवलका ठूला अस्पतालहरुमा उपचारका लागि आउने गरेका छन् । मापदण्ड विपरीत संचालित उक्त अस्पतालमा डा.अस्फाकले आफै विरामी जाँचदेखि शल्यक्रिया, एनेस्थेसिया दिने र भिडियो एक्सरेसम्म गर्छन् । जटिल शल्यक्रियामा बुटवलबाट एनेस्थेसियाका चिकित्सक बोलाउने दावी गरे पनि त्यो वास्तविकता नभएको त्यहाँ उपचार गराएका विरामीहरु बताउँछन् ।

डा.अस्फाकले केही शलयक्रिया गर्दा आफैले बेहोस गराउने गरेको स्वीकारे । ‘मैले दिइरहेको सबै सेवा उपलब्ध गराउन पाउने व्यवस्था छ’, उनले भने, ‘केही विरामीलाई मैले आफै बेहोस गराएर उपचार गर्ने गरेको छु ।’

नगरपालिकाबाट १५ बेडको अस्पताल स्वीकृत लिएका डा.अस्फाकले नियमविपरीत ठूला अस्पतालले सरह न्युन जनशक्ति र दक्ष चिकित्सकविनै उपचार सेवा दिइरहेका छन् । यसले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चरम लापरबाही हुँदा समेत नियामक निकायले बेवास्ता गरेको स्थानीय बताउँछन् ।

नेपाल मेडिकल काउन्सिकल सदस्य डा.सम्राट पराजुलीले १५ बेडको अस्पतालले दिइरहेको सेवा गैरकानूनी रहेको बताए । उनले शल्यक्रिया नै गर्न नपाउने अस्पतालमा एनेस्थेसियाका डाक्टर विनै जटिल शल्यक्रिया हुनु झनै गलत भएको जनाउँदै उजुरी परे छानविन र कारबाही हुने स्पष्ट पारे ।

यसबारे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई जानकारी गराउँदा गैरकानूनी रुपमा संचालित उक्त अस्पताल नगरपालिकाले बन्द गर्ने जनाए । यसका लागि आफूले प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराइसकेको पब्लिक कुरासँग बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यबाहक नगर प्रमुख कल्पना हरिजनले स्पष्टिकरण सोधेर आवश्यक छानविन गरी कारबाहीको दायरामा ल्याइने बताइन् । उक्त अस्पतालमा एक्सरे गर्ने जनशक्ति नहुँदा प्रशासनका एकजना कर्मचारीले एक्सरे गर्ने गरेको सेवाग्राही बताउँछन् ।

हाड जोड्ने, एपेन्डिसाइटिस, सीएस बच्चा पाउने शल्यक्रिया पनि डा.अस्फाकले आफै गर्छन् । डा.अस्फाक कन्सल्टेन्ट फिजिसियन हुन् । यसअघि उक्त अस्पतालमा नगरपालिकाले अनुगमन गर्दा दर्जनौं त्रुटी देखिएपछि सुधारको मौका दिइएको थियो । तर, सुधार कुनै पनि नगरी सबै क्षेत्रको शल्यक्रिया र जाँच डा.अस्फाक आफैले गरिरहेका छन् ।

अस्पतालमा सात–आठ महिनाको गर्भपतन गर्ने, संक्रमणको बेवास्ता गरी सामान्य कोठामा शल्यक्रिया गर्ने, भारतबाट चोरी निकासी गरी ल्याइएको मेसिनबाट भिडियो एक्सरे आफै गर्ने, भारतबाट स्थानीय तथा डुप्लिकेट जेनेरिक औषधिहरु खरिद गरी बेचबिखन गर्ने गरिएको स्थानीय बताउँछन् ।

आईसीयु समेत नरहेको उक्त अस्पतालमा पोइजन खाएर आएका बिरामी समेत भर्ना गर्ने गरिएको छ । एक्सरे मेसिन राखिएको ठाउँको न मापदण्ड छ, न त दक्ष जनशक्ति नै । फोहोर र दुर्गन्धित उक्त अस्पतालले मनपरी गर्दा समेत नियामक मौन छन् । पब्लिक कुराले यसबारे जिज्ञासा राखेपछि नगरपालिकाले अस्पताललाई स्पष्टिकरण समेत सोधिसकेको छ । उक्त अस्पताल विरुद्ध विगतमा प्रहरीमा समेत उजुरी परेका छन् ।