June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

सिद्धार्थनगरमा फोहोरको बर्गिकरण गर्ने अवधि लम्बियो, नटेरे ५० हजारसम्म जरिवाना

Advertisement

भैरहवा– गत चैत १८ गतेदेखि सिद्धार्थनगरमा अनिबार्य रुपमा लागु गर्ने भनिएको कुहिने र नकुहिने फोहोरको बर्गिकरण गर्ने कार्यको अवधि लम्ब्याएर आउँदो बैशाखको पहिलो हप्ता पुर्याइएको छ ।

Advertisement

नगर क्षेत्रमा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहोर उत्पादन हुने सुरुकै बिन्दुबाट कुहिने र नकुहिने फोहोरको अनिबार्य रुपमा बर्गिकरण गर्नु पर्ने भनि सिद्धार्थनगर नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेको थियो । जसअन्तर्गत प्रत्येक घर तथा व्यवसायिक प्रतिष्ठानले अनिबार्य रुपमा फोहोरको बर्गिकरण गरेर छुट्याएर फोहोर संकलन गर्न आउने नगरपालिकाको ट्याक्टरलाई दिनु पर्ने अन्यथा नगरपालिकाले संकलन नगर्ने र जथाभावी फोहोर फालेमा जरिवानासहित कारवाही गरिने जनाइएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यस वारेमा सवै नगरवासीमा पर्याप्त जानकारी र सचेतना फैलाउनका लागि थप समय आवश्यक देखिएकाले केही समयावधि बढाइएको बताए ।

शनिवार सिद्धार्थनगर–९ स्थित गोलीगढ टोल सुधार समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनममा बोल्दै थापाले बैशाखको पहिलो सातादेखि यो नियम लागू गरिने र नियम नमानेर जथाभावी फोहोर फ्याँक्नेलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानासहितको कारवाही गरिने बताए ।

‘फोहोरको बर्गिकरण गराएरमात्र नगरपालिकाले संकलन गर्ने भन्ने बिषयका वारेमा हामी यतिवेला आन्तरिक तयारीमा जुट्दै नगर क्षेत्रमा व्यापक सचेतनाका कार्यक्रम संचालन गरिरहेका छौं’, थापाले भने, ‘फोहोरको बर्गिकरण गर्ने नियम जसरी पनि लागू गर्ने छौं र अटेर गर्नेलाई जरिवानासहितको कारवाही पनि गरि छाड्छौं ।’

सिद्धार्थनगर लुम्बिनीको प्रवेशद्वार, अन्तर्राष्ट्रिय नाकामा अवस्थित रहेको र भारत तथा तेस्रो मुलुकका सर्वाधिक पर्यटक नेपाल भित्रिने मुख्य नाका हुनुका साथै नगरमा फोहोर व्यवस्थापनको बिषय चुनौतीपूर्ण बनेकाले व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहोर बर्गिकरणको नियम लागु गर्नुको बिकल्प नरहेको उनले जनाए । उनका अनुसार, कुन–कुन वडामा फोहोर संकलन गर्न नगरपालिकाको ट्याक्टर कति पटक, कुन कुन समयमा पठाउने ? कुहिने र नकुहिने फोहोरलाई कसरी संकलन गर्ने ? जथाभावी फोहोर फ्याक्नेको पहिचान कसरी गर्ने ? लगायतका आन्तरिक तयारीमा यतिवेला नगरपालिका जुटेको छ ।

नगरप्रमुख इश्तियाक अहमद खाँले नगरमा फोहोर व्यवस्थापनको बिषय चुनौतीपूर्ण बनेको र फोहोरको उचित व्यवस्थापन हुन नसक्दा नगरपालिकाको चौतर्फी बिरोध हुन थालेको बताए ।

‘घरघर बाटै फोहोरको बर्गिकरण भएपछि एकातिर नगरपालिकालाई व्यवथापन गर्न सहज हुने छ भने अर्कोतर्फ कुहिने फोहोरबाट घर घरमा जैविक मल तयार भइ बिषादी तरकारीको सट्टा आर्गेनिक तरकारी तयार हुने छ’, खाँले भने, ‘धातु तथा शिसाजन्य बस्तु, किताव कापी, डफ्टी लगायतका फोहोर कबाड संकलन गर्नेलाई बिक्री गरि आर्थिक लाभ लिन सकिन्छ ।’