समस्या नेपाल–भारत बिच खुल्ला सिमानाको


सात–आठ बर्ष अघि कोरोना संक्रमणको बेला लकडाउन हुँदा नेपाल–भारत बिचको दशगजा सिमाना धेरै दिनसम्म शील गरियो । नेपाली उद्यमी व्यवसायी धेरै खुशी भए । कारण हो–घरायशी प्रयोजनका लागि भन्सार मुल नाकाबाटै सामान किनमेल गर्न नेपाली उपभोक्ता सिमावर्ती भारतीय बजार जान पाएनन् । खुल्ला सिमाना हुँदै र भन्सार छलेर हुने अवैध आयात पनि नियन्त्रण भयो ।
लकडाउनका वेला सार्वजनिक यातायातका साधन संचालन नभएकाले अधिकांश नेपाली आफ्नै टोल छिमेक बाहेक अन्यत्र जान संभव थिएन । लत्ता कपडा, खाद्यान्न लगायतका दैनिक उपभोग्यका सम्पुर्ण सामान घर नजिकका पसलमा किनमेल गरे । गल्ली गल्ली र टोल भित्रका स–साना पसलदेखि होलसेल सवैको व्यापार राम्ररी चल्यो । सिमावर्ती भारतीय बजारमा हुने गरेको किनमेल स्वदेशमैं हुन थालेपछि स्वदेशी उद्योगपनि राम्ररी चले । भन्सार छलेर तस्करीको माध्यमबाट भित्रिने कोरोवार रोकिएर भन्सार हुदै आउन थालेपछि स्वदेशी उत्पादनलेपनि बिदेशी बस्तुसंग प्रतिष्पर्धा गर्न सहज भयो ।
बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उज्वल कसजु सार्वजनिक कार्यक्रमहरुमा कोभिडका कारण नेपाल–भारत बिचको दशगजा सिमाना शिल गरे सरह नै अवपनि समानामा कडाइ गरिनु पर्ने तर्क राख्ने गर्छन् । तेतीवेलाको सिमाना शिल र अन्य खुल्ला सिमानापनि नियन्त्रण गरिदा आम स्वदेशी व्यवसायीलाई सकारात्मक प्रभाव पारेको भनाइ उनको छ । कोरोना काल हट्नासाथ अवस्था पहिलाकै जस्तो हुन थाल्यो । सहस्रौं खुल्ला सिमा नाका र भन्सार मुल नाकाबाटै भन्सार छलेर तस्करी हुन क्रम दोहरिन थाल्यो ।

घरायसी प्रयोजनकालागि भन्दै दैनिक हजारौं नेपाली उपभोक्ता सिमावर्ती भारतीय बजारमा किनमेल गर्ने प्रबित्तिले निरन्तरता पाउन थाल्यो । ‘कोरोनाका वेला शिल गरिएको सिमाना खुल्ला गरिएपनि कडाइ र नियन्त्रण भने शिल गरिएको वेलामा जस्तै हुन अति जरुरी छ’ कसजु भन्ने गर्छन् । त्यसो त खुल्ला सिमाना नियन्त्रण गर्न भन्दै सशस्त्र प्रहरी बललाई सिमा क्षेत्रमा तैनाथ गरिएको छ । सशस्त्रको बिओपीहरु स्थापना गरिएका छन् । मुल नाकामा भन्सार कर्मचारी सहित नेपाल प्रहरीका सुरक्षाकर्मी चेकजाँच गर्ने भन्दै खटिने गरेका छन् । राजमार्गको ठाउँठाउँमा चेकजाँच भन्दै प्रहरीलाई खटाइने गरिन्छ ।
न सशस्त्रले सिमाना नियन्त्रण गरेर तस्करी रोक्न सकेको छ । नत भन्सार कर्मचारी र नेपाल प्रहरीबाट नै राजमार्ग रु भन्सार नाकामा गरिने चेकजाँचबाट नै तस्करी रोकिएको छ । बरु, भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि नै चेकजाँचको नाममा खुलेआम अवैध असुली गर्ने आरोप लाग्दै आएको छ । सम्बन्धित कर्मचारी र सुरक्षा निकायकै मिलोमतोमा तस्करी मौलाउने गरेको कुरा सार्वजनिक बहसका कार्यक्रममैं उठ्ने गरेका छन् । यतिमात्रै होइन, तस्करी नियन्त्रणका लागि राजश्व अनुसन्धान विभागको समेत सकृयता र प्रभावकारीताको अनुभुती स्वदेशी बैध कारोवार गर्ने व्यवसायी र नागरिक समाजले गर्न पाएका छैनन् ।
भैरहवाका रेष्टुरेन्ट व्यवसायी रमाकान्त भट्टराईले खुल्ला सिमानाबाट चोरीपैठारी गराउने तथा अवैध रुपबाट सामान भित्राउनमा स्वयम् व्यवसायीले नै प्रोत्साहन गने गरेको र तस्करसंँग सुरक्षाकर्मीको सेटिङ बिना खुल्ला सिमानाबाट कुनै पनि सामान अवैध रुपमा नेपाल भित्रिन नसक्ने दाबी गर्छन् । भैरहवा क्षेत्रका युवा उद्यमी रिया एण्ड रक्षा फुड प्रोडक्टका सञ्चालक मदन पाण्डेले खुल्ला सिमानाबाट हुने तस्करीका कारण स्वदेशी उत्पादित बस्तुले प्रतिस्पर्धा गर्न नसक्ने बताए । ‘यदि भन्सार भएर बैध रुपमा सामान भित्रिने हो भने हामीले भारतीय उत्पादित बस्तुसँग प्रतिस्पर्धा गर्न सक्छौं’, उनले भने ।

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गणेशप्रसाद अधिकारीले युवाशक्ति बिदेश पलायन हुनु र भारतसँगको खुल्ला सिमानाबाट हुने गरेका चोरीतस्करी नियन्त्रण गर्न नसक्दा नेपाली बस्तु प्रतियपर्धी बन्न नसकेको बताउछन् । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुली नेपालको अर्थतन्त्र दवाव, प्रभाव र बिचौलियाको हातमा रहेको बताउछन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले गलत गर्ने कुनै पनि व्यवसायीको संघले संरक्षण नगर्ने जनाउँदै तस्करीमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताउदै आएका छन् । ‘खुल्ला सिमाका धेरै फाइदा छन्, तर यसको दुरुपयोग गरी चोरीतस्करी गर्ने काम भइरहेको छ’, उनले भने, ‘यसलाई रोक्न सिमामा निगरानी बढाऔं । निजी क्षेत्र साथमा छ ।’








लेखकको सम्वन्धमा