मतदाताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति होः एमाले उम्मेदवार घिमिरे


भैरहवा– नेकपा एमालेबाट रुपन्देही–३ का उम्मेदवार बासुदेव घिमिरेले बिहीबार सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडामा घरदैलो गरेका छन् । सिद्धार्थनगर १२ र १३ मा घरदैलो कार्यक्रम गरिएको एमालेले जनाएको छ । ढाका टोपी, खादा र सेतो कुर्तामा सजिएका घिमिरेले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए ।
आफ्नो चुनावी अभियानलाई तिब्रता दिने क्रममा रुपन्देही–३ अन्तर्गत सियारी गाउँपालिका र बुटवलका विभिन्न स्थान हुँदै उनी सिमावर्ती सिद्धार्थनगर आइपुगेका हुन् । बिहीबारबाट सिद्धार्थनगरका वडामा घरदैलो अभियान सुरु गरेको घिमिरले जानकारी दिए । ‘हामी अहिले भैरहवामा घरदैलोमै छौं,’ उनले भने, ‘एमालेले विगतमा गरेका विकास निर्माणका कामप्रति जनताको सकारात्मक भाव, माया र सद्भाव पाएका छौं ।’
उनका अनुसार मतदाताले विकास, सुशासन र स्थायित्वका मुद्दालाई प्राथमिकतामा राख्दै सहयोग र समर्थन व्यक्त गरिरहेका छन् । घरदैलोका क्रममा स्थानीयले सडक, शिक्षा, स्वास्थ्य, सिँचाइ र रोजगारीका विषयमा आफ्ना सुझाव तथा अपेक्षा राखेको उनले जनाए । आगामी दिनमा रुपन्देही–३ लाई पूर्वाधार विकास, कृषि आधुनिकीकरण र युवाका लागि रोजगारी सिर्जना गर्ने योजनामा केन्द्रित गरिने घिमिरेले प्रतिबद्धता व्यक्त गरे ।
‘मतदाताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,’ उनले भने, ‘यस विश्वासलाई काम मार्फत् अझ मजबुत बनाउनेछौं ।’ एमालेले अघि सारेका एजेन्डा र विकास योजनालाई जनतासमक्ष पुर्याउँदै अभियानलाई थप तीब्र बनाइने घिमिरेले बताए ।








प्रतिकृया दिनुहोस्