June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै

Advertisement

मर्चवार– जित होर्याउने र पहिलोपटक जित निकाल्ने होडमा दलहरु केन्द्रित भएपछि रुपन्देहीको दक्षिणी क्षेत्रमा पर्ने क्षेत्र नम्बर ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि यतिबेला उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् । पूरानै बाचा बोकेर चुनावी मैदानमा होमिएका उम्मेदवारहरु मध्ये कसले मतदाताको मन जित्न सक्छन् भन्ने आँकलन भइरहेको छ ।

Advertisement

यो क्षेत्रमा २०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला आठौंपटक चुनौवी मैदानमा छन् । जितहारको अनुभव संगालेका शुक्लालाई यसपटक पूरानै प्रतिस्पर्धीसँगै नयाँ दल रास्वपाले समेत चुनौती दिइरहेको छ । जिल्लाका अन्य क्षेत्रभन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, खानेपानी लगायतमा पछाडी रहेको यो क्षेत्रमा विगतमा मधेशवादी दलहरुबीच नै प्रतिस्पर्धा हुन्थ्यो ।

यसपटक भने अवस्था फेरिएको छ । काँग्रेसबाट उम्मेदवार बनेर २०७४ मा शुक्लालाई पराजित गरेका र २०७९ मा उनै शुक्लासँग पराजित प्रमोदकुमार यादव अहिले एमालेबाट उम्मेदवार छन् । २०७९ मा शुक्लाकै पार्टी लोसपाबाट प्रदेशसभा सदस्य निर्वाचित कन्हैया बनियाँ यसपटक प्रदेशसभा सदस्यबाट राजीनामा दिएर रास्वपाबाट उम्मेदवार छन् । उनले एकीकरण पनि बनेको जसपा नेपालसँगै युवा पुस्ताको मत आफ्नो पक्षमा पार्न सक्छन् ।

जसपा नेपाल र लोसपाबीच एकतापछि शुक्ला यसपटक जसपा नेपालबाट उम्मेदवार छन् । पार्टी एक भएपछि शुक्लालाई केही राहत मिलेको छ । तर, रास्वपाको लहर र जनमत बलियो बनाएका स्थानीय युवा उम्मेदवार भएकाले कन्हैया उनका लागि चुनौती बनिरहेका छन् । ‘विकास र सुशासन हामीलाई चाहिएको छ’, कन्हैयाले भने, ‘यसका लागि रास्वपा नै अहिलेको प्रमुख शक्ति हो ।’ बनियाँले विगतमा जितेर पटकपटक मन्त्री भएकाले मर्चवारको विकासभन्दा आफ्नो व्यक्तिगत स्वार्थमा ध्यान दिएको आरोप लगाए ।

‘मर्चवार अब पिछडिएको क्षेत्र रहँदैन’, उनले भने, ‘हरेक हिसावबाट क्षेत्रलाई समृद्ध बनाउन म लागिपर्छु । रास्वपा लागिपर्छ ।’ उनले यसपटक मर्चवारबासीले मत बदल्ने र रास्वपालाई अवसर दिने जनाए । एमालेबाट उम्मेदवार बनेका प्रमोद मर्चवारमा लोकप्रिय छन् । उनले पूर्वाधार विकाससँगै मर्चवारको मुहार बदल्न आफूले जित्नुपर्ने जनाए । ‘मैले मर्चवारलाई मुलुकमै चिनाउन चाहान्छु’, उनले भने, ‘केन्द्रका नेताहरुले मर्चवारलाई नेपाल सम्झाँदैनन्, अब त्यो अवस्था रहन दिने छैन । मर्चवार नेपाल हो र समृद्ध छ भन्ने बनाउँछु ।’

काँग्रेसले स्थानीय राजनीतिमा भिजेका र युवा आशुतोष मिश्रालाई उम्मेदवार बनाएको छ । मिश्राले मतदाता भेटघाटका क्रममा राम्रो प्रतिक्रिया पाइराखेको जनाए । ‘सबैको साथ पाएको छु, बदलिएको काँग्रेसले मर्चवारसँगै मुलुकको मुहार बदल्नेछ ।’ उनले शिक्षा, स्वास्थ्य र कृषिलाई फोकस गरेर आफूले योजना बनाएको बताए ।

जनमत पार्टीको समेत यहाँ राम्रो पकड छ । यहाँ उक्त पार्टीबाट भोपेन्द्रप्रसाद यादव उम्मेदवार छन् । पाँच दलबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको क्षेत्रमा यसअघि चुनाव लडेका उम्मेदवारले पूरानै बाचा दोहोर्याउँदै जनताको सेवा गर्ने, यसअघि जितेकाले काम गर्न नसकेको र राष्ट्रियताको विषयलाई आफ्ना एजेन्डा बनाएका छन् । ‘राष्ट्रियता जोगानु छ, मर्चवारको अन्य क्षेत्रजस्तै समानुपातिक विकास गर्नुछ’, जसपा नेपालका उम्मेदवार शुक्लाले भने, ‘संघीयतालाई सबलीकरण गर्दै जननजीविकाको पक्षमा काम गर्ने गरी अगाडि बढेका छौं ।’ उनले आफू विगतमा चुनाव जित्दा र हार्दा जस्तोसुकै अवस्थामा पनि मर्चवारीबासीसँग रहेकाले अहिले पनि राम्रो साथ पाइराखेको दावी गरे ।

२२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यो क्षेत्र मधेशी समुदायको बाहुल्यता छ । अधिकांश भू-भाग भारतको सीमासँग जोडिएको क्षेत्रमा मत्स्य हव मानिने सियारी गाउँपालिकाको छपियासहितका केही वडा र लुम्बिनी सांस्कृतिक नगरपालिका वडा समेत समेटिएका छन् । मर्चवारीमाई, कोटहीमाई, सम्मरीमाई पूरै र मायादेवी गाउँपालिकाका अधिकांश वडा यस क्षेत्रमा पर्छन् । १ लाख १६ हजार १ सय ७२ मतदाता रहेको क्षेत्रमा पहिलोपटक संघीय सांसदको चुनाव लडेका नयाँ अनुहार र युवाले भने कृषि, सुशासन र समृद्धिको नारालाई अघि सारेका छन् ।

जनमत पार्टीका उम्मेदवार भोपेन्द्रप्रसादले विगतमा शासन गर्नेहरुकै कारण मर्चवार हरेक क्षेत्रमा पछाडी परेको बताए । ‘यहाँ शासकहरुले जनतालाई दास बनाएका छन्’, उनले भने, ‘यो हुनुहुँदैन । यसमा विरुद्ध जनमत पार्टी सधै सलागिपरेको छ’, उनले भने, ‘अब जनता शासित क्षेत्र बनाई कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा आमूल परिवर्तन ल्याउन जरुरी छ ।’

यो क्षेत्रमा २०४८ सालको आमचुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ताले जितेका थिए । २०५१ मा राप्रपाबाट उम्मेदवार बनेर शुक्ला विजयी भएका थिए । २०५६ मा सद्भावनाका यज्ञजित शाहले जित्दा मधेश विद्रोहपछि २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव विजयी भएका थिए ।

२०७० सालको संविधान सभाको दोस्रो चुनावमा १९ वर्षअघि चुनाव जितेका शुक्ला तमलोपाबाट उम्मेदवार बनेर विजयी भएका थिए । २०७४ मा कांग्रेसबाट प्रमोदकुमार यादव विजयी बन्दा २०७९ लोसपाबाट शुक्ला निर्वाचित भएका थिए । अन्न भण्डार मानिने यो क्षेत्रमा विगतमा निर्वाचन जितेकाले जनभावना अनुसार काम गर्न नसकेको स्थानीयले गुनासो गर्दै आएका छन् । यसपटक युवा र नयाँ अनुहारले चुनौती थपिरहँदा निर्वाचनको परिणाम कस्तो अउला भन्ने अनुमान गर्न सक्ने अवस्था भने अझै बनेको छैन ।

टिप्पणीः भ्रष्टाचार रोक्ने र सुशासनका एजेण्डाबिहीन उम्मेदवार

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती

उम्मेदवारः भाषणमा जेनजी, व्यवहार पुरातन

रूपन्देही-२ मा चार पक्षीय टक्कर, विष्णु पौडेल बन्न सक्छन् रक्षात्मक

दाङ–१, मा प्रतिष्ठाको लडाइँ

फरक पेसाबाट संसदीय राजनीतिको दौडमा

रूपन्देही–३ मा युवा उम्मेदवारको बर्चस्व, कस्ता छन् बाचा ?

दाङ-३ : युवा, पूर्वमन्त्रीदेखि पूर्वनगर प्रमुखसम्म चुनावी मैदानमा, बाचा भने अनेक