June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

दाङ–१, मा प्रतिष्ठाको लडाइँ

Advertisement

दाङ – फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ–१ मा चिरपरिचित र पाका नेताहरुबीच प्रतिस्पर्धा छ । यस क्षेत्रमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, पूर्व संघीय मन्त्री, पूर्व सांसद् बीच प्रतिष्ठाको लडाइँ हुँदै छ । उनीहरुलाई युवा उम्मेदवारले टक्कर दिइरहेका छन् ।

Advertisement

जेनजी आन्दोलनपछि राजनीतिमा युवा सहभागिताको सवाल उठे पनि दाङ–१ का मुख्य प्रतिस्पर्धी अधिकांश ५० वर्ष उमेर पार गरेका छन् । यस क्षेत्रका १४ जना उम्मेदवार मध्ये तीन जना मात्र ४० वर्ष मुनिका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रकाश शाही ४० वर्ष, राष्ट्रिय परिवर्तन पार्टीका रञ्जित चौधरी ३२ वर्ष र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय विसी ३२ वर्ष उमेरका छन् ।

विगतका निर्वाचन मत परिणाम हेर्दा काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा छ । काँग्रेसबाट सहमहामन्त्री योगेन्द्र चौधरी चुनावी मैदानमा छन् । उनी ५१ वर्ष पुगे । चौधरी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट २०७० मा समानुपातिकतर्फ संविधानसभा सदस्य भएका थिए । २०६४ को संबिधानसभा सदस्य निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) बाट उम्मेदवार भएर २ हजार ७ सय ६९ मत प्राप्त गरेका थिए ।

२०७४ मा फोरमले काँग्रेससित एकिकरण गरेपछि चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । शेरबहादुर देउवा निकट चौधरी पछिल्लो समय गगन थापा नेतृत्वको बिशेष महाधिवेशनमा सहभागी भएर सहमहामन्त्री बनेका हुन् । अहिलेसम्म प्रत्यक्षतर्फबाट निर्वाचित हुने अवसर नपाएकाले उनका लागि यो परीक्षाको घडी बनेको छ ।

एमाले केन्द्रीय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा घिमिरे ६८ वर्षका भइसके । घिमिरेसँग निर्वाचनमा विजय र पराजयको अनुभव छ । दुई निर्वाचनमा निर्वाचित भएका छन् भने दुईमा पराजित भएका थिए । उनी पाँचौं पटक निर्वाचनमा सहभागी हुँदैछन् । २०५४ मा चैलाही गाविस अध्यक्ष र ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । ०७४ मा दाङ १ (२) बाट १९ हजार ३ सय ५४ मतका साथ लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । ०५९ देखि २०६२ सालसम्म एमालेको जिल्ला सचिव थिए ।

उनी दाङ– १ बाट ०६४ र ०७० को संबिधानसभा सदस्यका पनि उम्मेदवार थिए । ०६४ मा माओवादीका इन्द्रजीत थारु र ०७० मा काँग्रेसकी पार्वती डिसी चौधरीसँग पराजित भएका थिए । यसपटक सबै पार्टीका उम्मेदवार भएको र मुख्य प्रतिस्पर्धी मेटमणि चौधरीलाई काँग्रेसका योगेन्द्र चौधरी र बागी उम्मेदवार कुलप्रसाद केसीले समस्या पारेका कारण एमालेको मत बचाउन सकेमा कडा प्रतिस्पर्धामा रहने देखिन्छ ।

नेपाली कम्युनिष्ट पार्टीबाट मेटमणि चौधरी चुनावी मैदानमा छन् । उनको यो तेस्रो चुनावी यात्रा हो । यसअघि उनी यही क्षेत्रबाट दुईपटक निर्वाचित भइसकेका छन् । ०७९ को निर्वाचनमा चौधरी काँग्रेस, माओवादी केन्द्र सहितको गठबन्धनबाट उम्मेदवार भएर २६ हजार ५ सय७६ मत प्राप्त गरी विजयी भएका थिए । ०७४ मा तत्कालीन एमालेबाट यही क्षेत्रमा ३७ हजार ९ सय ८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेर शहरी विकास मन्त्री भएका थिए । उनलाई यसपटक थारु समुदायका उम्मेदवार र बागी उम्मेदवारले चुनौती थपिदिएका छन् । काँग्रेसका चौधरीले थारु समुदायको मत बिभाजन गरिदिँदा र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री केसी बागी उम्मेदवार बनेकाले चुनौंती बढेको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता केसीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पूर्व माओवादी केन्द्र र रोल्पाबाट बसाइँ सरेर देउखुरी क्षेत्रमा आएका मतदाताको मत प्रभावित गर्नसक्ने देखिन्छ ।

केसी ०७४ मा माओवादी केन्द्रबाट रोल्पा १ (१) मा १८ हजार ५ सय १२ मतका साथ प्रदेश सांसद निर्वाचित भई लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए । संस्थापक मुख्यमन्त्री भएका एमाले महासचिव शंकर पोख्रेल अल्पमतमा परेपछि केसी दोस्रो मुख्यमन्त्री भएका थिए । पोख्रेल ०७४ फागुन ३ देखि २०७८ साउन २७ सम्म मुख्यमन्त्री भएका थिए भने केसी ०७८ साउन २८ देखि २०७९ पुस २७ सम्म मुख्यमन्त्री भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक पनि प्रतिस्पर्धामा छन् । ६० बर्षीय पाठक दोस्रोपटक निर्वाचनको मैदानमा छन् । ०७९ को निर्वाचनमा दाङ–१ मै रास्वपाबाट उम्मेदवार बनेर १३ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए । देशभर चलिरहेको स्वतन्त्र पार्टीको लहरले उनलाई पनि मुख्य प्रतिस्पर्धामा उभ्याएको छ । संगठनका हिसावले अन्य पार्टी सरह सदस्यहरु नभए पनि पछिल्लो समय बढिरहेको पार्टीको लोकप्रियताको फाइदा उठाउन सकेमा उनले निर्वाचनमा कडा प्रतिस्पर्धा गर्नसक्ने आँकलन छ ।

राष्ट्रिय जनमोर्चाबाट गण्ोशप्रसाद आचार्य, मंगोल नेशनल अर्गनाइजेशनबाट खुमबहादुर गाहा मगर, नेशनल रिपब्लिकन नेपालबाट मिन बहादुर ठेडी मगर, जनता समाजवादी पार्टीबाट भरतलाल चौधरी, आम जनता पार्टीबाट सिताराम यादव र स्वतन्त्र मालिकराम यादव पनि चुनावी प्रतिस्पर्धामा छन् ।

दाङ-३ : युवा, पूर्वमन्त्रीदेखि पूर्वनगर प्रमुखसम्म चुनावी मैदानमा, बाचा भने अनेक