निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा


धकधई- रुपन्देहीको क्षेत्र नम्बर १ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले निजी क्षेत्रमैत्री नीति–नियम र ऐनकानून जरुरी रहेकोमा जोड दिएका छन् । उनले भएका कानून पनि प्रभावकारी कार्यान्वयन नहुँदा निजी क्षेत्र उत्साहित हुन नसकेको जनाए ।
क्षेत्रका उद्योगी–व्यवसायी तथा उद्यम गर्न चाहने युवाहरु र स्थानीयसँग कुराकानी गर्दै राप्रपा उम्मेदवार बोहराले पछिल्लो समय निजी क्षेत्र निरास भएको जनाउँदै मनोबल उकास्नुपर्नेमा जोड दिए । ‘हाम्रा नीति र कानूनले व्यवसाय दर्तादेखि कर तिर्दासम्म दुःख दिइरहेका छन्’, उनले भने, ‘राज्यलाई कर तिर्ने र उद्यम गर्न चाहनेलाई सरकारले राम्रो व्यवहार गर्नुपर्छ । उनीहरुको सम्मानसँगै सहज व्यवसायिक वातावरण सिर्जना गर्नुपर्छ ।’
बोहराले आफू पनि व्यवसायमा आबद्ध रहेका जनाउँदै बाधक नीति नियम परिवर्तनमा जोड दिए । उनले सरकारले निजी क्षेत्रको मर्मअनुसार काम गर्नुपर्ने जनाउँदै राप्रपा जहिल्यै पनि उद्योगी–व्यवसायीको संरक्षणमा रहेको जनाए ।
उनले लगानीमैत्री नीति बनाउन सकेमात्रै लगानी बढाउन सकिने जनाए । यस्तै, क्षेत्र नम्बर १ मा नयाँ उद्योग स्थापना गर्नेलाई प्रबद्र्धन गरिने उनले बताए । ‘क्षेत्रमा आएर उद्योग खोल्न चाहने र व्यवसाय गर्नेलाई हामीले तीनै तहका सरकारसँग समन्वय गरेर सहजीकरण गर्छौं’, उनले भने, ‘म प्रतिनिधि चुनिएमा बाधक व्यवसायिक कानूनहरु परिवर्तन गर्न लागिपर्छु । क्षेत्रमा मात्रै नभएर मुलुकमै व्यवसायिक वातावरण बनाउन हामीले काम गर्छौं ।’
उनले एउटै उद्योगीलाई कार्यालयपिच्छे दर्ता र कर तिर्नुपर्ने बाध्यकारी नियम हटाएर एकै ठाउँबाट सबै सुविधा दिने व्यवस्था हुनुपर्नेमा जोड दिए । यस्तै, युवालाई उद्यमी बनाउन व्यवसायिक तालिम संचालन गरिने र यसका लागि आफूले सहजीकरण गर्ने जनाए । उद्योगधन्दा खुलेमा मात्रै मुलुकको समृद्धि हुने जनाउँदै बोहराले यसले रोजगारी सिर्जना गर्ने बताए । अहिले धेरै उद्योगहरु ३०–४० प्रतिशतको हाराहारीमा चलिरहेको जनाउँदै निजी क्षेत्रलाई राज्यले संरक्षण गर्छ भन्ने ग्यारेन्टी नगर्दासम्म आत्मबल बढ्न नसक्ने जनाए । निर्यातजन्य उद्योग स्थापना, कर छुट, औद्योगिक क्षेत्रलाई बन्दहड्ताल निशेध जस्ता काममा आफूले काम गर्ने राप्रपा उम्मेदवार बोहराको प्रतिबद्धता छ ।
उनले औद्योगिक कोरिडोरका रुपमा विकास भइरहेको भैरहवा–परासी खण्डलाई थप व्यवस्थित गरिने जनाए । नयाँ उद्योग खुल्ने ठाउँसम्म विद्युतीकरण, पानी, सडक पूर्वाधार निर्माण सरकारले गर्नुपर्ने जनाउँदै यसमा आफूले सबै किसिमका पहल गर्ने बोहराले जनाए ।
सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा
लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा
सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा
रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा
समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा








प्रतिकृया दिनुहोस्