June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

Advertisement

धकधई– रुपन्देहीको क्षेत्र नम्बर १ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्वल बोहरा (प्रशान्त)ले क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको सुविधा सम्पन्न अस्पताल जरुरी रहेको बताएका छन् । उनले सुविधासहितको सरकारी अस्पताल नहुँदा क्षेत्रबासी उपचारका लागि बुटवल–भैरहवा लगायतका सहरमा धाउनु पर्ने बाध्यता रहेको जनाए । बोहराका अनुसार क्षेत्र नम्बर १ मा सुविधा सम्पन्न सरकारी अस्पताल कतै छैनन् ।

Advertisement

देवदहमा निजी क्षेत्रबाट सञ्चालित एउटा मेडिकल कलेज भए पनि आर्थिक बिपन्न अवस्थाका बिरामीका लागि सरकारी स्तरबाट सञ्चालित ठूला र स्तरिय अस्पताल नहुँदा समस्या छ । यस क्षेत्रमा स्वास्थ्य उपचारको सहज पहुँचबाट उत्तरी पूर्व पश्चिम राजमार्गसँग जोडिएका भूभागमा भन्दा भित्री ग्रामीण बस्ती र भारतीय सिमावर्ती दक्षिणी भेगका बासिन्दा बढि प्रभावित रहेको उनले जनाए ।

रोहिणी गाउँपालिकामा सरकारी स्तरबाट २५ बेडको एउटा सरकारी अस्पताल सञ्चालनमा भए पनि जनशक्ति र उपकरणको अभावको समस्या रहेको उनको भनाई छ । उनका अनुसार क्षेत्रमा कम्तिमा ५० बेडको सरकारी सुविधायुक्त अस्पताल जरुरी छ । उनले यहाँ अस्पताल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

उनले क्षेत्रमा सरकारी स्तरबाट सञ्चालित स्वास्थ्य चौकीमा जनशक्ति र उपकरणको अभावले रोग पत्ता लगाउन पनि सक्ने अवस्थामा नरहेको जनाए । अल्ट्रासाउण्ड, एक्सरे, एमआरआइ, प्रयोगशाला नहुँदा बिरामीलाई भैरहवा, बुटवल जानु पर्ने बाध्यता रहेको बोहराले जनाए ।

रुपन्देही १ मा सवैलाई पायक पर्ने स्थानमा एउटा सुबिधासम्पन्न अस्पतालको जरुरी रहेकाले सबैले यसमा पहल गर्नुपर्ने उनको भनाई छ । दक्षिणी सिमावर्ती गाँउ तथा बस्तीहरुमा शिक्षा तथा जनचेतनाको पनि अभावले स्वास्थ्य क्षेत्रमा अझ बढि चुनौती छन् । अन्धबिश्वासका कारण झारफुक र जथाभावी उपचार गर्नेहरुसँग स्थानीयले उपचार गराउने प्रचलन व्यापक छ । जसका कारण बिरामीको स्वास्थ्य थप जोखिममा पर्ने गरेको उनले बताए । करिव १२ किमी दुरीको हुलाकी राजमार्ग यस क्षेत्रमा छ । हुलाकी राजमार्गमा दिनहुँ दुर्घटना हुने गर्छन । जटिल अवस्थाका घाइते बिरामीलाई तत्काल उपचार गराउन भैरहवा नै लैजानु पर्ने बाध्यता छ । भैरहवा लैजाँदासम्म धेरैको बीच बाटोमैं मृत्यु हुने गरेको छ । तसर्थ हुलाकी राजमार्गलाइ लक्षित गरेर पायक पर्ने स्थानमा एउटा ट्रमा सेन्टर सञ्चालनको योजना बनाएको पनि बोहरले बताए ।

क्षेत्रमा बर्षौंअघि बनेका कालोपत्रे भित्री सडकहरु जीर्ण भएर भत्किसकेका छन् । व्यवस्थित सडकको अभावले स्थानीयबासीलाई यातायात आवागमनमा त समस्या भएकै छ । त्यो भन्दा ठूलो समस्या बिरामीलाई उपचारका लागि अस्पताल लैजान ल्याउनमा भैरहेको छ ।

‘जिर्ण भई भत्केर ठूला ठूला खाल्टा भएका भित्री सडकमा एम्बुलेन्स सञ्चालनमा समेत निकै समस्या हुने गरेको छ । हत्तपत्त एम्बलेन्स भित्री गाउँमा आउन मान्दैनन् । स्थानीय स्तरमैं सुविधा सम्पन्न अस्पताल नहुनु र अन्यत्र टाढा लैजान सडकको दुर्दशाले गर्दा बिशेष गरी गर्भवती महिला र अन्य जटिल अवस्थाका बिरामीको उपचारका लागि धेरै समस्या पर्ने गरेको छ’, उनले भने, ‘यो समस्या हल गर्न राप्रपाले जित्न जरुरी छ ।’

यस क्षेत्रमा विकासका अन्य भौतिक पूर्वाधारसँगै स्वास्थ्यको पनि निकै समस्या रहेको उनले जनाए । ‘स्थानीयले ठूलो कठिनाइ भोग्दै आएको मैले पाएँ’, बोहराले भने, ‘मतदातासँग साक्षात्कार हुने क्रममा भित्री गाउँ र बस्तीहरुमा पुग्दा स्थानीयले स्वास्थ्य उपचारमा समस्या हुने गरेको गुनासो धेरैले गर्नुभएको छ ।’

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा