June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

निर्बाचनमा सामाजिक सञ्जाललाई जिम्मेवार बनाइनु पर्ने

Advertisement

भैरहवा–फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्बाचनलाई स्वच्छ र मर्यादित बनाउन सामाजिक सञ्जाललाई जिम्मेवार बनाइनु पर्ने धारणा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार र नागरिक समाजले व्यक्त गरेका छन् ।

Advertisement

निर्बाचनलाई स्वच्छ र मर्यादित बनाउन मुख्य निर्बाचन अधिकृतको कार्यालय रुपन्देहीले आयोजना गरेको सर्वपक्षीय तथा सर्वदलीय अन्तरक्रिया कार्यक्रममा सहभागी सम्बद्ध व्यक्तिले सामाजिक सञ्जालमाथिपनि कडा निगरानी र अनुगमन गरी जिम्मेवार बनाउन आग्रह गरेका हुन् । सामाजिक सञ्चालको माध्यमबाट पछिल्लो समयमा एक अर्का राजनीतिक दल तथा उम्मेदवारमाथि प्रतिशोध, आपसी द्वेष बढाउने, आपसी सद्भाव भड्काउने खालका अभिव्यक्ति र गतिबिधि आउन थालेपछि सामाजिक सञ्जालमाथि निगरानी गरी सम्बन्धित व्यक्तिलाई कारवाहीको दायरामा ल्याइनु पर्ने भनाइ उनिहरुको थियो ।

‘सामाजिक सञ्जाल र दर्ता नभएका अनधिकृत युट्युव लगायत्का सोशल मिडियाको माध्यमबाट निर्बाचन आचार संहिताको उलघंनमात्रै होइन आपसी द्वेष बढाउने गतिबिधि हुने गरेकाले अनुगमन गरी जिम्मेवार बनाइन जरुरी छ’ नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा सञ्चारकर्मी दिनेश पाण्डेले भने, ‘यस्ता गतिबिधिमाथि निगरानी गरी कारवाही प्रकृयालाई अगाडि बढाउनु पर्छ ।’

सामाजिक सञ्जालबाट आँफु समर्थित दल तथा उम्मेदवार बाहेकका अन्य उम्मेदवार बिरुद्ध गालीगलौज र अपमानजनक शैलीमा आफ्ना अभिव्यक्ति दिनेमात्र नभएर मत सर्वेक्षणका नाममा समेत निर्बाचन आचारसंहिताको उलंघन गर्ने गरेको सहभागीले औंल्याए ।

नेकपा एमाले रुपन्देहीका उपाध्यक्ष हितराज पन्थीले सामाजिक सञ्जालमा आएका निर्बाचन आचरसंहिता बिपरित हुने खालका अभिव्यक्ति वारे मोबाइलमा लिइएको स्क्रिनसट सहित गरिने उजुरीलाई मान्यता दिइ छानबिन तथा कारवाही प्रक्रृया अगाडि बढाइनु पर्ने माग गरे । ‘निर्बाचन आचारसंहिता उलंघन नियन्त्रण गर्न तत्काल कारवाही गर्ने सहितको ठोस संयन्त्र तयार गरी प्रभावकारी रुपमा अनुगमन गर्न जरुरी छ’ उनले भने ।

रुपन्देहीका मुख्य निर्बाचन अधिकृत तथा निर्बाचन आचारसंहिता अनुगमन समितिका संयोजक अशोककुमार बस्नेतले निर्बाचनका वेला कतिपय मिडिया नै राजनीतिक दलमैं आवद्ध भएर लाग्ने गरेको बताए । ‘निर्बाचन आचारसंहितालाइ प्रभावकारी गराउन यसपाली नेपाल प्रहरीको साइबर क्राइम ब्युरोको प्रतिनिधि समेतको समिति छ’ उनले भने । निर्बाचनमा खटिएका कर्मचारीको भूमिका पनि निष्पक्ष हुनु पर्ने र यदि कुनै कर्मचारीको भूमिका निष्पक्ष भएको नपाइएमा तत्कालै जानकारी दिन आग्रह गरे ।