June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

निर्बाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै उम्मेदवार तथा दलको प्रतिबद्धता

Advertisement

भैरहवा–फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्बाचनका लागि जारी गरिएको निर्बाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता रुपन्देहीका राजनीतिक दल तथा उम्मेदवारले गरेका छन् ।

Advertisement

मुख्य निर्बाचन अधिकृतको कार्यालय रुपन्देहीद्वारा मंगलवार भैरहवामा आयोजना गरिएको निर्बाचन आचारसंहिता वारे सर्वपक्षीय तथा सर्वदलीय अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका उम्मेदवार, दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवार सवैले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने वारे सहमती जनाए ।

रुपन्देही–३ का एमालेका उम्मेदवार बासुदेव घिमिरेले अहिलेको निर्बाचन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न कतिपय व्यवहारिक कठिनाइ भएपनि निर्बाचनलाई स्वच्छ, भयरहित र कम खर्चिलो बनाउन आचारसंहिताले निर्दिष्ट गरेका कुरा महत्वपूर्ण रहेको बताए । ‘निर्बाचन आचारसंहिताका बुँदाहरु स्वयम् राजनीतिक दलहरुसँग छालफल गरेर बनाइएका हुन्’, उनले भने, ‘निर्बाचन आचारसंहिताको पूर्णरुपमा कार्यान्वयन गर्न म प्रतिबद्ध छु ।’

कार्यक्रममा सहभागी अधिकांश उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले बिगतका निर्बाचनमा आचारसंहिताको पूर्ण रुपमा पालना हुन नसकेको र नियमन गर्ने निकायलेपनि प्रभावकारी भूमिका निभाउन नसकेको भनाइ राखेका थिए । आारसंहिता पालनाको अनुगमन गरिदा साना तथा ठूला दल र सवै उम्मेदवारलाई समान ढंगले लागु गरिनु पर्ने भनाइ अधिकांशको थियो । निर्बाचनको प्रचारप्रशार गरिदा राजनीतिक दलका कार्यकर्ता, दलाका तथा स्वतन्त्र उम्मेदवार र समर्थकले सामाजिक सञ्जालको प्रयोग मर्यादापूर्वक गर्नु पर्ने र बिना दर्ताका युटुबर र सञ्चार माध्यमको प्रयोग नगराउने बारेमा सहभागीले जोड दिएका दिए ।

‘दर्तापनि नभएका र सञ्चालनको अनुमती समेत नलिएका सञ्चारमाध्यमहरुमाथि कडाइका साथ निर्बाचन आचारसंहिताको अनुगमन र कारवाही हुन जरुरी छ’ नेपाल पत्रकार महासँघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले भने, ‘यस्ता अनधिकृत सञ्चार माध्यमको प्रयोग कसैलेपनि नगरौं ।’ कुनै सञ्चारकर्मीले निर्बाचन आचारसंहिता बिपरीतका कार्य गरेमा महासँघलाई जानकारी गराउन समेत उनले आग्रह गरे ।

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार गोपाल भण्डारीले पूरा गर्न नसक्ने खालका चुनाबी घोषणापत्रमाथिपनि निर्बाचन आचारसंहिताको दृष्टिले अनुगमन गरि कारवाहीको दायरामा ल्याउनु पर्ने बताए । ‘जनतालाई दिग्भ्रमित गराउने र पूरा नै हुन नसक्ने खालका चुनावी घोषणापत्र तथा चुनावी मुद्धा लिएर मतदाता समक्ष जानेमाथि पनि कडा निगरानी हुनु पर्यो’ उनले भने । अर्का स्वतन्त्र उम्मेदवार जेवी गुप्ताले चुनावी प्रचारपसारका क्रममा डिजे बजाउने र अर्काका घर नजिक जर्वजस्ती कोणसभा गर्नेमाथि अनुगमन गरिनु पर्ने बताए ।

रुपन्देहीका प्रमुख निर्बाचन अधिकृत तथा निर्बाचन आचार संहिता अनुगमन समितिका संयोजक अशोककुमार बस्नेतले अहिलेको निर्बाचन आचारसंहिता सवै राजनीतिक दल रहित सरोकारवाला सवै निकाय बिच प्रर्याप्त छलफल भएर बनेकाले कार्यान्वयन गर्ने दायीत्व सवैको भएको बताए । ‘पालना नगरिएमा उम्मेदवारी नै खारेज हुनेसम्मको दण्ड जरिवानाको प्राबधान छ’ बस्नेतले भने, ‘निर्बाचनलाई भड्किलो र खर्चिलो नबनाऔं ।’ बिना दर्ता र सञ्चालनको अनुमती प्राप्त नभएका सञ्चारमाध्यमको प्रयोग गरि आचार संहिताको उलंघन भएको पाइएमा कारवाही गरिने र लागु नै गर्न नसक्ने खालका घोषणापत्र तथा चुनावी मुद्धाहरुमाथिपनि अनुगमन गरिने भनाइ उनको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले रुपन्देहीमा ढुक्क भएर मतदान गर्न सकिने सुरक्षाको बातावरण तयार पारिएको बताए । सुरक्षाको अवस्थालाई अझ बलियो बनाउन सरोकारवाला सवै पक्षसँग आपसी छलफल र समन्वय गरिने उनले जनाए ।