बुटवलमा जनमोर्चाको २५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक


बुटवल– राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन–२०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय समितिले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी घोषणा पत्र सार्वजनिक गरेको हो । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले ४० पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेका हुन् ।
‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित सार्वजनिक घोषणा पत्र २५ बुँदामा समेटिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले वर्तमान सरकार विदेशी शक्तिहरूको प्रभावमा बनेको आरोप लगाए । उनले एनजीओ तथा आईएनजीओको सहयोगमा गठन भएको सरकारले संविधान र राष्ट्रकै अस्तित्वलाई संकटमा पार्न खोजेको दाबी गरे ।
‘जेनजी आन्दोलन’को नाममा सरकार परिवर्तन गराएर एनजीओका प्रतिनिधिहरूलाई सत्तामा पुर्याएको उनले दावी गरे । केसीले यस्तो अवस्था आउनुमा राजनीतिक दलहरूको कमजोरी पनि जिम्मेवार रहेको स्वीकार गरे ।
घोषणापत्रमा वर्तमान सरकारलाई अवैधानिक ठहर गर्दै संविधानको रक्षा र राष्ट्रियताको संरक्षणका लागि सबै देशभक्त शक्ति एकजुट हुनुपर्ने आवश्यकता औंल्याइएको छ । घोषणापत्रमा संघीय संरचनाले देशलाई झनै कमजोर बनाएको दाबी गर्दै संघीयता खारेज गरी एकीकृत राज्य संरचना अवलम्बन गर्नुपर्ने उल्लेख गरिएको छ ।
उनले एनजीओ तथा आईएनजीओबाट लाभ लिइरहेका केही व्यक्तिहरू विदेशी शक्तिहरूको योजनाअनुसार नेपाली जनतालाई भ्रमित गरिरहेको आरोप पनि लगाए । परिवर्तन र नयाँपनको नाममा कृत्रिम एजेन्डा अघि सारेर राष्ट्रमाथि आक्रमण भइरहेको भन्दै त्यसविरुद्ध राष्ट्रिय जनमोर्चा दृढतापूर्वक उभिने उनले स्पष्ट पारे ।








प्रतिकृया दिनुहोस्