June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

आन्दोलनले दोस्राे दिन पनि भैरहवा भन्सार ठप्प

Advertisement

भैरहवा–भन्सार क्लियरिङ एजेन्ट तथा कार्यरत कर्मचारीले जारी राखेको आन्दोलनका कारण मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय मंगलबार पनि दिनभरि ठप्प रह्यो । आन्दोलनका कराण भैरहवा भन्सार क्षेत्रको अवस्था अस्तव्यस्त हुन पुगेको छ । भन्सार कार्यालयमा कर्मचारीले सेवा दिने शाखाहरु सुनसान छन् ।

Advertisement

दैनिक सरदर ३३ करोड रुपैयाँ भन्सार राजश्व असुली गर्ने भन्सार कार्यालयले बिगत दुई दिनदेखि प्रज्ञापनपत्र काटेर हुने ठुला व्यवसायिक कारोवारबाट कुनै पनि राजश्व संकलन गर्न सकेको छैन ।

भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले आन्दोलनको दोस्राे दिन पनि भैरहवा भन्सार हुँदै कुनै पनि व्यवसायिक कारोवार हुन नसकेको र भन्सार पास नहुँदा आयात र निर्यातका लागि भन्सार परिसरमा जम्मा भएका मालवाहक गाडीको संख्या बढ्दै जान थालेको बताए ।

‘देशभरकै भन्सार कार्यालयहरुको अवस्था उस्तै छन् । भन्सारका सवै कर्मचारी काम गर्नका लागि तयारी अवस्थामा रहे पनि कुनै प्रज्ञापनपत्र नै नआएपछि काम हुन सकेको छैन’, भन्सार प्रमुख पौडेलले भने । भन्सार प्रमुख पौडेलले नेपाल आयल निगममा पठाउनु पर्ने पेट्रोलियम पदार्थ र ग्याँस मंगलवार साँझ पठाउने तयारी गरिएको जानकारी दिए ।

आन्दोलनका कारण भन्सार पास हुन नसकेर मालवाहक ट्रकका लाइन भन्सार भित्र र बाहिर जताततै लाग्न थालेका छन् । नेपाल आउने गाडीको लाइन भारततर्फ पनि लामो संख्यामा लाग्न थालेको छ । गाडी चालक लगायत कामदारको बढ्दै जान थालेको भिडले भन्सार परिसरमा फोहाेर हुन थालेको छ ।

गाडीको चापले नाकामा यात्रुको आवागमनमा समेत असर पर्न थालेको छ । चाँडो गल्ने तथा सड्ने तरकारी र फलफूलको समेत सोमवारदेखि भन्सार हुन सकेको छैन । भन्सार जाँचपास नभएर भन्सारमैं गाडी रोकिन थालेपछि फलफूल र हरिया तरकारी ट्रकमैं कुहिने अवस्थामा पुग्न थालेका छन् ।

काठमाडौंका लागि भारतको लखनउबाट फलफूल लिएर आएका भारतीय ट्रक चालक बबीले आफू दुई दिनदेखि भन्सारमैं रोकिएको र भन्सार कहिले खुल्छ ? भन्ने वारे अन्यौल भएकाले गन्तब्यमा पुग्न समस्यामा परेको बताए ।

नयाँ भन्सार ऐन अनुसार घोषणापत्र (प्रज्ञानपत्र) मा उल्लेख गरिएको विवरण भन्सार जाँचपासका क्रममा फरक परेमा सोही सामानमा लाग्ने महसुलको १० प्रतिशत जरिवाना असुल गर्ने व्यवस्थाप्रति असमहती जनाउँदै नेपाल भन्सार एजेन्ट महासँघको अगुवाइमा देशव्यापी यो आन्दोलन भएको हो ।

भन्सारमा आलु लोड गर्न काठमाडौंबाट आएका ट्रक व्यवसायी अन्जन गुरुङले पनि लोड गरिएको आलु गन्तब्यमा पुर्याउन नसक्दा सड्ने डर भएको र ट्रक धेरै दिनसम्म एकै ठाँउमा रोकिनु पर्दा व्यवसायीको आम्दानीमा असर पारेको बताए ।