August 11, 2022, Thursday
२६ श्रावण २०७९, बिहीबार

पर्यटन लक्षित म्युजिक भिडियो सार्वजनिक

साङ्ग्रीला नेपालको विविध स्थलाकृति, संस्कृति र पर्यटकीय आकर्षण भएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पर्यटन प्रवर्द्धनका विभिन्न आयाममध्येको महत्वपूर्ण पाटो सङ्गीत पनि हो । त्यसैले सङ्गीतको माध्यमबाट नेपालका पर्यटकीय सम्भावनाको उजागर गरी नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न ‘माई साङ्ग्रिला’ नामक अङ्ग्रेजी भाषामा पहिलोपटक पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो ।

यस म्युजिक भिडियोको उद्देश्य अन्तर्राष्ट्रिय र आन्तरिक दुवै पर्यटकहरूलाई आकर्षित गर्नको लागि भएको जनाइएको छ । करिब दुई वर्षको समयावधि लगाएर तयार पारिएको म्युजिक भिडियोको लागत २५ लाख भन्दा बढी रहेको छ । भिडियो नेपालका चर्चित पर्यटकीय गन्तव्य तथा पवित्र तीर्थ स्थलहरूमा गएर छायाङ्कन गरिएको छ ।

म्युजिक भिडियाको निर्माता तथा निर्देशक सूर्य बराल हुन् । भिडियोमा फिल्म निर्माता एवम् लेखक प्रेमबहादुर बस्नेतको शब्द रहेको छ । उक्त म्युजिक भिडियोमा प्रख्यात सुवर्ण लिम्बुले सङ्गीत दिएका छन् भने लोकप्रिय गायिका प्रीति कौरले गाएकी छन् ।

Advertisement