June 30, 2026, Tuesday
२०८३ असार १६ मंगलवार

कसरी फर्काउन सकिएला लुम्बिनीमा चहलपहल ?

Advertisement

भैरहवा – बितेका दुई महिना नेपालको पर्यटनमा एउटा खुसीको खबर छायो । अफ सिजनका बेला पनि नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा भारतीय नागरिकका कारण गुल्जार बने ।

Advertisement

मुलुकका कंचनपुर, नेपालगन्ज, कृष्णनगर, बेलहिया र बिरगन्ज नाकाबाट दैनिक सयौं भारतीय नागरिक सवार गाडी भित्रिए । ती नाकाबाट दिनमैं सरदर २ हजार ५ सय साना–ठूला गाडी पर्यटक बोकेर भित्रिए । भारतबाट आउने धेरैं नागरिक तिर्थयात्राका लागि आउने गरेका हुन् । तर, यसपटक मनोरञ्जन, साहसिक र वन्यजन्तु सफारीका लागि पनि पर्यटक भित्रिए ।

प्रायः वर्षातका बेला पर्यटन व्यवसायी ओठमुख सुकाएर बस्ने गरेका थिए । जब भारतीय नागरिक ओइरिए अनि मुक्तिनाथ, पोखरा, बागलुङ, चितवन र काठमाडौंका पर्यटन व्यवसायी उत्साहित बने । लामो समयदेखि भारतीय नागरिक आए पनि उनीहरुलाई पर्यटकका रुपमा कमै सम्मान गरिन्थ्यो । यसपटक व्यवसायीले भारतीयलाई यथेष्ट सम्मान दिनुपर्नेमा एकमत भए । त्यसका लागि अभियान पनि चलाए ।

मुलुकका प्रमुख गन्तव्यमा चहलपहल भइरहँदा विश्वभरका नागरिकका लागि प्रमुख आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी सुनसान छ । रुपन्देहीको बेलहिया र कपिलवस्तुको कृष्णनगर नाका भएर दैनिक एक हजार हाराहारी भारतीय गाडी पाहुना बोकेर भित्रिरहेका छन् । तर, तिनको बसाइँ रुपन्देहीमा हुन सकेन । बेलहियाबाट भित्रिने भारतीय नागरिक सिधैं पाल्पा पुगे । पाल्पामा रात बिताएर पोखरादेखि मुक्तिनासम्म पुगे ।

तर, भैरहवाको बुद्धचोकबाट पश्चिम २० किलोमिटर दूरीमा रहेको लुम्बिनीप्रति उनीहरुको चासो रहेन । प्राचीन कपिलवस्तुको कृष्णनगर नाकाबाट भित्रिने भारतीय सिधैं सुपा देउराली र स्वर्गद्वारी पुग्छन् । हुनतः भारतीय लुम्बिनी नआएका हैनन्, तर यहाँ खासै बस्दैनन् । उनीहरु लुम्बिनी अलीअली पुगे पनि बुद्धको दरबार रहेको तिलौंराकोट लगायत बुद्धस्थल प्रति चासो त्यति देखिँदैन । यसको कारण भारतमा गौतम बुद्धले समय बिताएका महत्वपूर्ण स्थललाई जोडेर सर्किटका रुपमा विकास गरिएको छ ।

गौतमबुद्धको जन्ममात्र लुम्बिनीमा भएको हो । बाँकी ज्ञान प्राप्तीदेखि पहिलोपटक धर्मदेशना र देहत्याग पनि भारतमै गरेका हुन् । बुद्धका जीवनका चार महत्वपूर्ण स्थलमध्ये तीन भारतमा छन् । भारतले पनि बुद्धस्थल र त्यससँग सरोकार राख्ने पवित्र स्थल जोडेर बुद्ध सर्किट बनाएको छ । अनि अन्तर्राष्ट्रिय रुपमा प्रचार गरेको छ । भारतमा प्रशस्त बुद्धस्थल रहेकाले उत्तर प्रदेश र बिहारका नागरिकका लागि लुम्बिनी नयाँ हुन सकिरहेको छैन । बरु उनीहरुलाई पहाड, हरियाली, खोला–नाला र चिसो मौसमले तानिरहेको छ ।

जन्म सबैभन्दा महत्वपूर्ण कुरा हो । गौतम बुद्ध पनि लुम्बिनीमा जन्मिएका हुन् । उनले जीवनकालको २९ वर्ष तिलौराकोट दरबारमा बिताए । बुद्धसित सम्बन्धित दुई सयभन्दा बढी स्थल कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा छन् । तर, अहिलेसम्म मायादेवी परिसर बाहेक अन्त बुद्ध स्थल रहेको बारे हामीले प्रचार गर्न नसकेको पर्यटन व्यवसायी सागर अधिकारी बताउँछन् । ‘न हामीले पर्यटकका लागि प्याकेज नै तयार गरेका छौं । एउटा गन्तव्यमा आएको पर्यटकलाई अर्कोमा पुग्न सहज यातायातको सुविधा पनि उपलब्ध छैन’, उनले भने, ‘यसमा सरकार र निजी क्षेत्रबीच सहकार्य गरी काम गर्नुपर्ने देखिन्छ ।’

लुम्बिनी र आसपासको पर्यटक एउटै माला हो । यसबारे बुझाउन सकिएको छैन कि बुझन नखोजिएको हो ? गम्भीर प्रश्न छ । भैरहवामा सिद्धार्थनगर होटल संघ छ । लुम्बिनीमा लुम्बिनी होटल संघ नेपाल छ । बुटवल, तिलोत्तमा पनि आ–आफ्नै संघ छन् । ति सबैले आफ्नै किसिमले प्रचारका कार्यक्रम गरिरहेका छन् । एकले अर्काको अस्तित्व स्वीकार्न सकिरहेका छैनन् । समग्र लुम्बिनीलाई समेटेर पर्यटन व्यवसायी एकजुट हुने बेलामा खण्ड–खण्डमा संघ बनाएर राजनीति गरिरहेका छन् ।

गन्तव्यको प्रचार भन्दा भाषणका लागि मरिहत्ते गर्ने प्रवृत्ति छ । अहिले आइरहेका पर्यटकलाई आकर्षित गरेर बसाइँ लम्ब्याउने भन्दा अन्तर्राष्ट्रिय विमानस्थल नचलेर पर्यटक आएनन् भन्ने हुँकार छ । आउन न त स्थलमार्गबाट सयौं बुद्ध धर्मावलम्बी आइरहेका छन् । विभिन्न मुलुकबाट भारत भित्रिएर स्थलमार्गबाट लुम्बिनी आउने पर्यटक यहाँ किन रात बिताउँदैंनन् ? गम्भीर भएर सोच्न अबेर भइसकेको पर्यटन क्षेत्रका जानाकार बताउँछन् । लुम्बिनी आएर मायादेवी दर्शन बाहेक पर्यटक लोभ्याउने कार्यक्रम नै के छ ? विभिन्न मुलुकका भिन्न स्वार्थले सञ्चालन भइरहेका गुम्बा र बिहारले पर्यटक तान्दैंनन् । आफ्नै पाहुना राख्ने बाहेक गुम्बाले पर्यटक बढाउन भूमिका खेलेका छैनन् । यसमा समन्वयका लागि लुम्बिनी विकास कोष चुकिसकेको छ । अब कोषले यो गर्छौं, त्यो गर्छौ भन्नु बेकार देखिएको छ ।

‘लुम्बिनीका पर्यटन व्यवसायी मानसिक रुपमा उठ्न जरुरी छ । लुम्बिनी नेपालको मात्र गन्तव्य होइन । यो विश्वको गन्तव्य हो । विश्वस्तरीय गन्तव्यका पर्यटन व्यवसायीको मनोबल उच्च छैन । उनीहरुले आफूलाई अरुको छातामुनी देखिरहनु भएको छ’, लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्मा भन्छन्, ‘हामीले शान्ति, अध्यात्म, वेलनेस सँगसँगै जोडेर प्रवर्द्धनात्मक कार्यक्रम गर्न जरुरी छ ।’

उनले यसका लागि आफूहरुले प्रयास गरिरहेको सुनाए । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले पर्यटकीय पूर्वाधार भएर पनि प्रबर्द्धनमा चुक्दा लाभ उठाउन नसकेको सुनाउँछन् । ‘पर्यटकले आएर हेर्ने, खाने मात्रै होइन’, उनी भन्छन्, ‘रमाउन चाहन्छ, समय विताउन चाहन्छ । यत्रि मात्रै होइन उसले गुणस्तरीयता खोज्छ ।’ उनले प्रदेश सरकारले प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको जनाउँदै यसमा पर्यटन व्यवसायीको साथ लिएर अघि बढ्ने बताए ।

लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी एकजुट भएर काम गर्नुपर्नेमा उनले जोड दिए । ‘पर्यटकीय विकास र प्रबर्द्धनका लागि उच्च मनोबल बनाएर लुम्बिनीका पर्यटन व्यवसायी एकजुट हुन जरुरी छ’, उनले भने । अहिले लुम्बिनीमा ठूला लगानीका होटलको संख्या बढेको छ । अझैं खुल्दैछन् । साना–ठूला पर्यटन व्यवसायीको सामाजिक उत्तरदायित्व पनि छ । सबैंले सानो–सानो लगानी जुटाएर गन्तव्य प्रवर्द्धनका लागि हातेमालो गर्न ढिला गर्न नहु्ने पर्यटन क्षेत्रका जानाकार बताउँछन् । तब मात्रै यहाँको पर्यटन क्षेत्र र जुरुक्का उठ्ने सक्ने उनीहरुको भनाई छ ।