March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेपाल सुपर लिगमा धनगढीलाई सफलता

काठमाडौँ — धनगढी एफसीले नाइजेरियन फरवार्ड ओलावाले आफिजलाई लिगको अन्तिम खेलमा आराम दिएको थियो । चार गोल गरेका उनी ‘ह्यामस्ट्रिङ’ बाट मुक्ति नपाउँदै प्लेअफमा मंगलबार काठमाडौं रेजर्सविरुद्ध दशरथ रंगशालामा उत्रिए ।

Advertisement

दौडन पनि नसकिरहेका उनले खासै केही गर्न सकेका थिएनन् । उनले गोलकिपर विकेश कुथुसँगको ‘वान भर्सेस वान’ मा गोल गर्न सकेनन् । थप दुईपल्ट अवसरमा बल प्रहार गर्नै सकेनन् । काठमाडौंका डिफेन्सले भने उनलाई कडा निगरानीमा राख्यो ।

Advertisement

आफिजलाई निकाल्दै धनगढीले अतिरिक्त समयको १६ औं मिनेटमा डिफेन्डर रमेश दंगाललाई मैदानमा पठायो । हुन त आफिज पहिला नै मैदान छोड्ने तयारीमै थिए । तर, सबैभन्दा भरपर्दा फरवार्डको स्थानमा डिफेन्डरलाई खेलाउने निर्णय अनौठो थियो । अर्को तबरले नयाँ प्रयोग भनौं । सबै हिसाबले शक्तिकेन्द्र राजधानीविरुद्ध पिछडिएको प्रदेश सुदूरपश्चिमको प्रतिस्पर्धा निर्धारित समयमा १–१ भएपछि ३० मिनेटको अतिरिक्त समयमा चलिरहेको थियो ।

आफिजलाई चोटले चर्कै पिरोलेपछि खेलाडी परिवर्तनबारे गोलपोस्ट सम्हालिरहेका कप्तान किरण चेम्जोङ र ‘टचलाइन’ मा उभिएका ‘कोचिङ स्टाफ’ बीच मैदानबाहिरै सुनिने गरी सल्लाह पनि भयो । धनगढीले रमेशलाई अग्रपंक्तिमै खेलायो । त्यो पनि एक्लो फरवार्डको रूपमा । त्यो वास्तवमै ‘सरप्राइज’ थियो । अन्ततः उनकै हेडरको मुभ निर्णायक बन्यो, जसमा विशाल राईले गोल गरेपछि धनगढी २–१ ले काठमाडौंलाई हराएर नेपाल सुपर लिग (एनएसएल) को फाइनल पुग्यो ।

धनगढीका ‘मार्की’ विशालले बुद्धबल तामाङलाई बल दिएका थिए । बुद्धबलले पेनाल्टी क्षेत्रमा पास खेल्ने प्रयासमा प्रहार गरे । त्यसमा काठमाडौंका डिफेन्डर छिरिङ गुरुङ बाधक बने । तर, छिरिङले हानेको बल पेनाल्टी क्षेत्रमै अकासिएको थियो र त्यसैमा रमेशले हेडिङ गरे । जहाँ अर्का डिफेन्डर आशिष गुरुङले बल रोक्ने प्रयास गरे, उनको खुट्टाबाटै बल फुत्कियो । त्यसैलाई ‘पेनाल्टी स्पट’ नजिक पुगेका विशालले १०८ औं मिनेटमा गोल गर्दै धनगढीलाई २–१ ले अगाडि बढाए । गोल गरेपछि उनी शान्त भएर उभिरहे, साथीहरू खुसी मनाउँदै त्यहीं पुगे । उनीभन्दा बढी खुसी देखिए रमेश ।

धनगढीका प्रशिक्षक तोपे फुजाले फरवार्डको रूपमा रमेशलाई खेलाउनुको कारण प्रस्ट्याए, ‘उनी अग्ला खेलाडी हुन् । अगाडि खेलाउँदा उनले गर्ने हेडरमा अरू खेलाडीले अवसर पाउन सक्छन् भनेर आफिजको स्थानमा पठाइएको हो । यसमा हामी सफल भयौं ।’ भयो पनि त्यस्तै । ५ फिट ११ इन्च अग्ला रमेशकै फाइनल पासमा विशालले एनएसएलमा आफ्नो पहिलो गोल गरे, जसले धनगढीलाई फाइनल पुर्‍याएको छ । यो जितले धनगढीलाई फाइनलअघि तीन दिन आराम गर्ने मौका दिएको छ ।

देशमै पहिलोपल्ट आयोजित फ्रेन्चाइज फुटबलको ‘अक्सन’ मा बिक्री नभएका खेलाडी हुन् रमेश । धनगढीले ‘अक्सन’मा लिएका आर्मीका खेलाडी विवेक बस्नेतलाई कोभिड–१९ संक्रमण भएको थियो । उनकै स्थानमा धनगढीले रमेशलाई टिममा बोलाएको हो । उनले लिग चरणमा काठमाडौंलाई ४–० ले पराजित गर्दा सेन्टर–ब्याकमै राम्रै खेलेका थिए । तर, दोस्रो हाफमा अनावश्यक ट्याकल गरेपछि उनलाई दोस्रो पहेँलो कार्ड देखाउँदै रेफ्रीले मैदानबाहिर पठाएको थियो ।

गोल र जित आमाप्रति समर्पण

धनगढीले एक गोलले पछाडि परेको स्थितिमा उल्टाउँदै काठमाडौंमाथि २–१ को जित रचेको हो । मेसोके ओलोमोउको क्रसमा ‘सिक्स यार्ड बक्स’ मा अनमार्क तेज तामाङले सहजै हेडद्वारा बललाई जाली चुमाउँदै ७५ औं मिनेटमा काठमाडौंलाई अग्रता दिलाए । तर, त्यो खुसी धेरैबेर टिकेन ।

काठमाडौंले अग्रता लिएलगत्तै धनगढीले लगातार तीनपल्ट कर्नर बनायो । तीनैपल्ट निशान खड्काले प्रहार गरे । तेस्रो कर्नरमा काठमाडौंका कप्तान एवं गोलकिपर विकेशले अगाडि बढ्दै बल क्लियर गर्ने प्रयास गरे । तर, उनको क्लियरेन्स गतिलो भएन, बल पेनाल्टी क्षेत्रमै रह्यो । त्यसमै फ्रयांक्लिन टैलाले हेडिङबाट मिलाएको बलमा सिक्स यार्ड बक्सको ठीकबाहिरबाट पूजन उपरकोटीले ‘ओभरहेड किक’ गर्दै आकर्षक गोल गरेर १–१ को बराबरी गर्दै ७८ औं मिनेटमा धनगढीलाई खेलमा फर्काए । ‘निकै कठिन खेल थियो । पछाडि परेको स्थितिमा गोल गर्दै बराबरी गर्न पाएकामा खुसी छु,’ एनएसएलमा पहिलो गोल गरेका मिडफिल्डर पूजनले भने, ‘आमाहरूका लागि यो गोल समर्पित गर्न चाहन्छु ।’ आमाको मुख हेर्ने दिनको रूपमा मनाइने मातातीर्थ औंसी मंगलबारै परेको थियो । प्रशिक्षक फुजाले पनि भने, ‘हाम्रो यो जित सबै नेपाली आमाहरूका लागि हो ।’

लिग चरणको भेटमा धनगढीले काठमाडौंमाथि ३–० को जित निकालेको थियो । उस्तै प्रदर्शन धनगढीले दोहोर्‍याएन । त्यो ठूलो हारपछि निरन्तर सुधारिएको काठमाडौंले पहिलो प्लेअफमा बलियो देखियो । स्टेफेन समिरले १६ औं मनिेटमा पेनाल्टी क्षेत्रबाहिरैबाट हानेको बल बारमा लागेर फर्केको थियो । त्यो उत्कृष्ट प्रहारमा गोलकिपर किरण अमूक नै थिए । सुदील राईले ३७ औं मिनेटमा नजिकबाट प्रहार गरेको बलमा किरणले उत्कृष्ट बचाउ गर्दै धनगढीको संकट टारेका थिए । धनगढीका आफिजले ८९ औं मिनेटमा वान भर्सेस वानमा हानेको बललाई विकेशले रोकेका थिए । अतिरिक्त समयमा धनगढी २–१ ले अघि बढेपछि पनि काठमाडौंले दुई अवसर पायो ।

स्टेफेनको फ्रिकिकमा ११५ औं मिनेटमा किरणले फर्काएपछि पोस्टनजिकबाट अञ्जन राईले प्रहार गरेको बल आकासिँदै बाहिरिँदा काठमाडौंले बराबरी गर्ने सहज मौका गुमायो । विश्वास श्रेष्ठको क्रसमा तेजले ११७ औं मिनेटमा गरेको हेडरमा पनि बल पोस्टनजिकबाट बाहिरियो । लिगमा शीर्षस्थान हात पारे पनि पहिलो प्लेअफमा चुकेपछि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘सोचेअनुसार खेले । यो खेल जितेर सिधै फाइनल पुग्ने लक्ष्य थियो । अग्रता लिइसकेपछि २–३ मिनेट पनि होल्ड गर्न सकेनौं । डिफेन्स र किपरको समन्वय राम्रो भएन । पाएका अवसर पनि गुमायौं । हामी अझै बाहिरिइसकेका छैनौं ।’ लिगमा काठमाडौं (१३ अंक) र धनगढी (१०) शीर्ष दुईमा थिए ।

लिगमा शीर्ष दुईमा रहेको टिमले फाइनल पुग्ने अर्को अवसर पाउने आईपीएल क्रिकेटको संरचनामा आयोजित एनएसएलमा काठमाडौंले फेरि फाइनल प्रवेशको प्रयासमा बिहीबार प्रतिस्पर्धा गर्नेछ, जहाँ टोलीले अर्को प्लेअफ (ललितपुर सिटीविरुद्ध बुटवल लुम्बिनी) को विजेताविरुद्ध खेल्नेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।