अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व मनाइयो



भैरहवा–छठ पर्वको अवसरमा रुपन्देहीको भैरहवास्थित विभिन्न पोखरी तथा जलाशयमा व्रतालुहरूले आइतवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै छठ पर्व मनाएका छन् ।
छठ पर्वको मुख्य दिनका रूपमा रहेको षष्ठी तिथिमा व्रतालुहरू पूजाका सामग्रीसहित पोखरी तथा नदी किनारमा पुगेर श्रद्धा र भक्तिपूर्वक सूर्यको पूजा आराधना गरेका हुन् ।
छठ पर्वका लागि भैरहवाका पोखरी तथा जलाशयहरूलाई विशेष रूपमा सजाइएको थियो । पूजास्थलमा व्रतालु, परिवारका सदस्य तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । बाँसका ढाकी, सुप, फलफूल, नरिवल, ठकुवा, भुसुवा लगायतका प्रसाद सामग्री राखेर व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
सन्तानको सुख, परिवारको समृद्धि, सुख, शान्ति तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ छठ पर्व मनाउने गरिन्छ । विशेषगरी तराई–मधेस क्षेत्रमा धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय पहाडी तथा अन्य समुदायमा समेत लोकप्रिय बन्दै गएको छ ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ ।
छठ पर्वको अन्तिम दिन सोमवार बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिवत् रुपमा सम्पन्न हुने छ ।








लेखकको सम्वन्धमा