June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

रूपन्देहीका निर्माणाधीन खेल पूर्वाधारर्ला सम्पन्न गरिनेछ छः विष्णु पौडेल

Advertisement

बुटवल– पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन हुने दाबी गरेका छन् । मन्त्रिपरिषद् निर्णयका आधारमा संसदमा प्रस्तुत भई पारित भएको बजेट कार्यान्वयनमा आउने भन्दै उनले रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम रोकिने नभई कार्यान्वयनमा जाने स्पष्ट पारे । ‘यो सरकारले बजेट रद्द गरेको होइन, होल्ड गरेको हो । होल्ड गरिएको निर्णय छिट्टै खुला हुन्छ,’ उनले भने ।

Advertisement

बुधबार बुटवलमा आयोजना गरिएको ‘खेलाडीसँग विष्णुप्रसाद पौडेल’ कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पौडेलले रुपन्देहीमा उपयुक्त स्थान पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माण गर्ने, जिल्लालाई ‘स्पोट्र्स हब’ का रूपमा विकास गर्ने र खेल पर्यटनमार्फत् रोजगारी तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने योजना रहेको बताए ।

उनका अनुसार सिद्धार्थ क्रिकेट रंगशालाको बाँकी काम सम्पन्न गर्ने, निजी क्षेत्रले निर्माण गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सहजीकरण गर्ने तथा उजिरसिंह रंगशालाको निर्माण कार्य अघि बढाइनेछ । ‘रुपन्देहीलाई नयाँ मानक बनाउने लक्ष्य लिएका छौं,’ उनले भने । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका कारण रुपन्देही चिनिएको उल्लेख गर्दै उनले खेल क्षेत्रलाई सीप विकास, रोजगारी र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । खेल क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने उनको भनाइ थियो ।

उजिरसिंह रंगशालाको निर्माणमा ढिलाइ भएको विषयमा चासो बढेको स्वीकार गर्दै उनले जग्गा प्राप्तिमा भएको ढिलाइ र वातावरणीय अध्ययन सम्बन्धी प्रक्रिया ईआईए र आईईई झन्झटिलो हुँदा काम प्रभावित भएको बताए । एकपटक सम्पन्न भइसकेको इआईए पुनः गर्नुपर्ने अवस्था आएपछि प्रक्रिया लम्बिएको उनले स्पष्ट पारे । पौडेलले प्रदेशको गौरव आयोजनाका रूपमा रहेको उक्त रंगशालाका लागि बजेट सुनिश्चित भइसकेको भन्दै बाँकी प्रक्रिया पूरा गरी छिट्टै काम अघि बढाइने तयारी रहेको जानकारी दिए ।

‘कुनै पनि समस्याको समाधान निराशा होइन,’ उनले भने, ‘प्रतिकूलता र अवरोधलाई सकारात्मक सोचका साथ समाधान गर्नुपर्छ ।’ यसैबीच खेलाडी र जनप्रतिनिधिबीच समन्वयका लागि पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई सहजीकरणको भूमिकामा अघि सार्ने प्रस्ताव पनि उनले राखे । सबै खेलका खेलाडीसँग संवाद, समस्या संकलन र समाधानका लागि जनप्रतिनिधिसँग सहकार्य गर्दै कार्यान्वयनसम्म लैजाने संवाद सुत्रका रूपमा गौचनलाई भूमिका दिने उनले बताए ।

विष्णु पौडेलका दीर्घकालीन र नयाँ विकासका प्रतिबद्धताले मतदाता आकर्षित

बुटवललाई अर्थतन्त्रको सहर बनाउने विष्णु पौडेलको प्रतिबद्धता

सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना शहर बनाउँछौंः विष्णु पौडेल

टोल भेलामार्फत् मतदाताका सुझाव लिँदै विष्णु पौडेल