बुटवललाई अर्थतन्त्रको सहर बनाउने विष्णु पौडेलको प्रतिबद्धता


बुटवल– एमाले रुपन्देही–२ का उम्मेदवार तथा पूर्वअथमन्त्री विष्णुप्रसाद पौडेलले बुटवललाई अर्थतन्त्रको केन्द्रीय सहरका रुपमा विकास गर्ने घोषणा गरेका छन् । २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका उनले बुटवललाई नमूना सहर बनाउने प्रतिबद्धता जनाएका हुन् ।
रोजगार मूलक शिक्षा, गुणस्तरीय स्वास्थ्य, रोजगारी, आईटी आधारित उद्योग–व्यवसाय विस्तार, राष्ट्रिय सडकको स्तरोन्नति, सहरी पूर्वाधार विकास, भूमि समस्याको समाधान, मोतिपुर औद्योगिक क्षेत्र निर्माण, रूपन्देहीलाई लगानीको केन्द्र, रोजगारीको हब, तिनाउमा सिग्नेचर पुल निर्माण, कालीगण्डकी–तिनाउ नदी डाइभर्सन, लुम्बिनी गुरुयोजनाको पूर्णता लगायत २० क्षेत्र समेटेर उनले प्रतिबद्धतापत्र बनाएका हुन् ।
भौतिक र मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाउँदै रूपन्देहीलाई देशकै अग्रणी जिल्लाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘बोलेर होइन, गरेर देखाउने नीति’ लिइएको उनको दावी छ । ‘हामीले गर्न सकिने, अघि बढिसकेका र परिणाम दिने योजनामात्र समेटेर चुनावी प्रतिबद्धता ल्याएका छौं,’ उनले भने, ‘हामी जे बोल्छौं, त्यो पुरा गरेका छौं र गर्छौं ।’
कालीगण्डकी–तिनाउनदी डाइभर्सन बहुउद्देश्यीय आयोजना, बुटवल–पोखरा सडक स्तरोन्नति गरी यात्रा समय दुई घण्टामा झार्ने योजना, अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण, एकीकृत सहरी पूर्वाधार विकास, ग्रेटर लुम्बिनी परियोजना, कृषिथोक बजार केन्द्र चुरे संरक्षणका नमुना आयोजना, हिल स्टेशन विकास, भूमि तथा सुकुम्वासी समस्याको दीर्घकालीन समाधान र विद्युत् तथा सञ्चार तार भूमिगत व्यवस्थापन जस्ता योजना अघि सारेका छन् ।
समृद्ध रूपन्देहीको आधारः शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार’ भन्ने नारासहित सार्वजनिक प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, रोजगार तथा स्वरोजगार, सडक, पुल र सहरी पूर्वाधार, उद्योग–व्यापार, कृषि, सिंचाइ, नदी तथा पहिरो नियन्त्रण, पर्यटन, भूमि व्यवस्थापन, खेलकुद, विद्युत्, सञ्चार, सूचनाप्रविधि, सामाजिक सुरक्षा र आर्थिक विकासका खाका प्रस्तुत गरिएको छ ।
कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाको डीपीआर तयार भइसकेकाले अब निर्माण कार्य प्रारम्भ गरिने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ । सहरी विकासतर्फ एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत सबै वडालाई सुविधायुक्त बनाउने, बस्तीबीचका हाइटेन्सन लाइन हटाउने, तीनवटै पालिकामा विद्युत्, इन्टरनेट र सडक बत्तिका तार भूमिगत वितरण प्रणालीमा लैजाने तथा बुटवललाई महानगरीय ढाँचामा विकास गर्दै महानगरपालिकातर्फ अघि बढाउने उल्लेख गरिएको छ ।
शिक्षामा रूपन्देही लाई विद्यालय तथा उच्च शिक्षाको प्रमुख केन्द्र बनाउने योजना अघि सारिएको छ । यसका लागि शैक्षिक भौतिक पूर्वाधार विस्तार, दक्ष जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षामा जोड दिइने उल्लेख छ । बिटिआई र केएनआइटीलाई प्राविधिक शिक्षालयका रूपमा थप व्यवस्थित बनाएर लैजाने, लुम्बिनीबौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी स्वदेशी तथा विदेशी विद्यार्थी आकर्षित गर्ने, नेपाल विश्वविद्यालय स्थापनामा सहयोग गर्ने तथा लुम्बिनी वाणिज्य क्याम्पसलाई व्यवस्थापन र सूचना प्रविधि विषयको विश्वविद्यालयमा रूपान्तरण गर्ने लक्ष्यपनि समेटिएको छ ।
बुटवल मेडिकल कलेज सञ्चालन, बुटवल बहुमुखी क्याम्पस स्तरोन्नति, सामुदायिक क्याम्पसमा शैक्षिक भवन र छात्रावास निर्माण, कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने योजनापनि प्रतिबद्धता पत्रमा उल्लेख छ । स्वास्थ्य क्षेत्रमा राजधानी वा अन्यत्र धाउन नपर्ने गरी गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको १ हजार २ सय शैयाको पूर्वाधार सम्पन्न गर्दै उपकरण र जनशक्ति व्यवस्थापन गरिने, सैनामैना र तिलोत्तमा लगायत क्षेत्रमा आधारभूत अस्पताल स्तरोन्नति, आयुर्वेद तथा प्राकृतिक चिकित्सा सेवा विस्तार, सामुदायिक अस्पतालको क्षमता वृद्धि, स्वास्थ्य बीमा मार्फत सर्वसुलभ सेवा र निःशुल्क रक्तसञ्चार सेवा सुनिश्चित गरिने उल्लेख गरिएको छ ।
रोजगारी र स्वरोजगार सिर्जनामा सूचना प्रविधिमा आधारित उद्योगलाई प्राथमिकता दिइने जनाइएको छ । सप्mटवेयर विकास, डाटा साइन्स, क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमाउद्योग स्थापना गर्न सहुलियत ऋण, युवाकालागि स्टार्टअप कोष, सीपविकास तालिम, विदेशबाट फर्केका युवाको सीप र पू“जी उत्पादनशील क्षेत्रमा प्रयोग तथा अध्ययनस“गै काम गर्ने अवसर सिर्जनागर्ने कार्यक्रम ल्याइने उल्लेख छ ।
सहरी विकासमा बुटवल, तिलोत्तमा र सैनामैनालाई समेटेर ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास कार्यक्रम’ सञ्चालन गरिने, आधुनिक सडक, ढल, पार्क, फुटपाथ, पार्किङ, स्मार्ट बसपार्क, वृद्ध विश्राम स्थल र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रनिर्माण गर्ने योजना सार्वजनिक गरिएको छ । उद्योग, व्यापार र लगानी प्रवद्र्धनका लागि औद्योगिक क्षेत्र विस्तार, निजी लगानी मैत्री वातावरण निर्माण, बुटवल औद्योगिक क्षेत्र स्तरोन्नति, एकीकृत जाँचचौकी सञ्चालन तथा व्यापारिक क्षेत्रको पुनः व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ ।
कृषि क्षेत्रमा उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारस“ग जोड्ने, आधुनिक प्रविधि प्रयोग, किसानलाई तालिम, ऋण र बजार पहु“च सुनिश्चित गर्ने, कृषि थोक बजार केन्द्र निर्माण र चुरे संरक्षणका नमुना आयोजना सञ्चालन गरिने उल्लेख छ ।








प्रतिकृया दिनुहोस्