‘सिद्धार्थनगरको फोहोर मायादेवीमा फ्याँक्ने सम्झौता भएको छैन’



भैरहवा – सिद्धार्थनगर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि मायादेवी–७, स्थित एक संस्थासित साढे तीन करोड भन्दा बढी रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । तर, सम्झौतामा हस्ताक्षर गर्ने संस्थाले कहाँ लगेर फोहोर व्यवस्थापन गर्ने हो टुंगो लागेको छैन ।
ठेक्का सम्झौतापछि काम अगाडि बढ्न थालेपछि मायादेवीमा यसले तरंग सिर्जना गरेको छ । स्थानीय नागरिकले मायादेवीमा फोहोर व्यवस्थापन गर्न नहुने भन्दै दबाब दिएको र आफूहरुमाथि गलत सम्झौता गरेको आरोप लगाएको मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी र मायादेवी–७ का वडाध्यक्ष शैलेन्द्रकुमार पाण्डेयले गुनासो गरेका छन् ।
मायादेवी–७ मा सिद्धार्थनगरको फोहोर विर्सजन हुने हल्लापछि आफूलाई स्पष्टिकरण दिँदा दिँदै हैरानी भएको वडाध्यक्ष पाण्डेयले बताए । ‘अहिले सामाजिक सञ्जाल होस् वा व्यक्तिगत भेटघाटका क्रममा मलाई फोहोर विसर्जनको विषयले सताउन थालेको छ,’ गाउँपालिकामा आयोजित एक कार्यक्रममा उनले भने, ‘मैले त्यस्तो सम्झौता गरेको छैन भन्दा पनि कसैले पत्याउँदैन । पालिका अध्यक्ष र प्रशासकीय प्रमुखले कुरा क्लियर गरिदिनु पर्यो ।’ आफ्नो कार्यकालको अन्तिम सयममा आएर आफू माथि सिद्धार्थनगरको फोहोर विसर्जन गर्न दिएको कलंक लागेको उनले दुखेसो गरे ।
गाउँपालिका अध्यक्ष चौधरीले पनि सिद्धार्थनगरका पालिका प्रमुखसित फोहोर व्यवस्थापनमा समस्या भइरहेको विषयमा छलफल भए पनि मायादेवी–७ मा फोहोर विर्सजन गर्ने विषयमा कुनैं सम्झौता नगरिएको स्पष्ट पारे । छिमेकी पालिकाको समस्याबारे अवगत हुनु स्वभाविक भए पनि सिद्धाद्र्धनगरको फोहोर आफ्नो पालिकामा ल्याउने विषयमा कुनै छलफल र सम्झौता नभएको उनले बताए ।
‘समाचार आएपछि जानकारी मिलेको हो,’ उनले भने, ‘त्यसबाहेक पालिकाका तर्फबाट कुनैं सम्झौता भएको छैन । र हुँदैन पनि ।’ यस विषयमा आफूले थप जानकारी लिने उनले बताए ।
लामो समयदेखि फोहोर संकलन र व्यवस्थापनमा झन्झट बेहोर्दै आएको सिद्धार्थ नगरपालिकाले सोमबार निजी कम्पनीसित यस्तो सम्झौता गरेको थियो । दीर्घकालीन रुपमा फोहोरको समस्या समाधानका लागि गरिएको ठेक्का सम्झैताबारे नगरपालिकाले मंगलबार अपरान्ह पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको थियो ।
नगरको स्थापनाकालदेखि सिद्धार्थनगरमा फोहोर व्यवस्थापन समस्याका रूपमा रहेको छ । सर्वोच्च अदालतले यस अघि विसर्जन गरिँदै आएको सिद्धार्थनगर–१, स्थित डण्डा किनारमा फोहोर नफ्याँक्न आदेश गरेपछि नगरपालिका झन संकटमा परेको थियो । लामो प्रयासपछि नगरपालिकाले मायादेवी–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवद्र्धन अफ नेपाल प्रालिसँग पाँच वर्षका लागि फोहोर व्यवस्थापन सम्झौता गरेको हो ।
सम्झौताअनुसार कम्पनीले नगरपालिका क्षेत्रको फोहोर संकलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन तथा समग्र सरसफाइको जिम्मेवारी वहन गर्ने नगर प्रमुख इस्तियाक अहमद खानले बताए । उनका अनुसार फोहोरमैला व्यवस्थापनका लागि ३ करोड ६० लाख २ हजार ९ सय ७१ रुपैयाँ ७ मा ठेक्का सम्झौता गरिएको छ । नगरपालिकाका अनुसार २०८३ मंसिर ७ गतेदेखि लागू भएर २०८८ मंसिर ६ गतेसम्म सम्झौता कायम रहनेछ ।








प्रतिकृया दिनुहोस्