गौतमबुद्ध विमानस्थल चलाउन निजी क्षेत्रले एकजुट भएर दबाब दिनुपर्नेमा जोड



भैरहवा– प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पायक पर्नेगरि हवाई रुटमा सहमति भएपछि रुपन्देहीमा आंशिक खुसी छाएको छ । लामो समयदेखि भैरहवा विमानस्थललाई पायक पर्नेगरि हवाई रुटको माग हुँदै आए पनि यसपटक सहमती बनेको हो ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको यस्तो सहमतीको धेरैले प्रशंसा गरेका छन् । तर, यसको प्राविधिक परामर्शको काम बाँकी रहेकाले तत्काल कार्यन्वयन हुनेमा आशंका पनि गरेका छन् । सहमती कार्यन्वयनका लागि तत्काल प्राविधिक समितिबीच परामर्श अगाडि बढ्ने–नबढ्ने निश्चित नरहेको धेरैको भनाई छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सहमती कार्यन्वयन गर्दै प्राविधिक परामर्श अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
स्थानीय व्यवसायीका अनुसार विमास्थल सञ्चालनका लागि ‘हवाई रुट’ मात्र बाधक होइन । नेपालगन्ज–लखनउ रुट दुई तर्फी भएपछि भैरहवामा जहाज उडान–अवतरणका लागि सहज हुने सरोकारवालाको भनाई छ । तर, यहाँबाट नियमित उडानका लागि आवश्यक श्रम, म्यानपावर, भीसा सेन्टर लगायत कार्यालय सञ्चालनमा आएका छैनन् ।
कार्यालय स्थापना गरेर अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि दबाब सिर्जना गर्नुपर्ने सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । ‘भैरहवा विमानस्थल चलाउन सरोकारवालाको एउटै आवाज भएन,’ उनले भने, ‘विमान चलाउन भनेर दबाब कार्यक्रमको नेतृत्व गर्ने व्यक्ति पनि भएन ।’ सिद्धार्थनगरमा विमानस्थल सञ्चालनका लागि दबाब दिने संस्थाका अगुवा एकजुट नहुँदा संघीय सरकारलाई दबाब नपुगेको उनले बताए ।
प्रारम्भिक सहमती सार्वजनिक भएपछि उत्साहित व्यवसायीले प्राविधिक परामर्श सफल नभएसम्म आशावादी हुन नसकिने बताए । नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर्स अपरेटर्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले लामो समयदेखि उठाउँदै आएको हवाई रुट सम्बन्धी मागमा सहमति जुट्नु सकारात्मक भएको बताए । तर, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) सँग सम्बन्धित प्रक्रिया र अन्य प्राविधिक समस्या समाधान नभएसम्म सहमति पूर्ण रूपमा कार्यान्वयन हुन नसक्ने उनको भनाइ छ ।
‘भैरहवाको हवाई रुट दुईतर्फी प्रयोग गर्ने सहमति सकारात्मक छ,’ उनले भने, ‘आईकाओसँग सम्बन्धित प्रक्रिया, आईएलएस र आरएनपी एआर प्रविधि सञ्चालनमा देखिएका अवरोध तथा विमानको उडान उचाइ प्रयोगबारे भारतको धारणा स्पष्ट हुनुपर्छ ।’
विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको चार वर्ष बित्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । सहज हवाई रुटको अभाव, प्राविधिक समस्या, एयरलाइन्सको व्यावसायिक आकर्षण र नियमित उडानको सुनिश्चितता नहुनु विमानस्थल सञ्चालनका मुख्य चुनौती बनेका छन् ।
उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले नेपाल र भारतबीच भएको पछिल्लो समझदारीले लुम्बिनी प्रदेशको निजी क्षेत्रमा उत्साह थपेको बताए । विगतदेखि हवाई रुटको समस्या गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मुख्य बाधक रहँदै आएको उल्लेख गर्दै उनले नयाँ सहमतिले सकारात्मक सन्देश दिएको बताए । तर, प्राविधिक छलफलपछि रुट सञ्चालन गर्ने विषयले केही अन्योल कायम राखेको उनको भनाइ छ ।
विमानस्थल सञ्चालनका लागि सरकारले आवश्यक काम अघि बढाउनुपर्ने उनले बताए । निजी क्षेत्रलाई जिम्मेवारी दिने हो भने आफूहरू तयार रहेको उनको भनाइ छ । ‘हामी त्यसतर्फ नेपाल सरकारलाई झकझकाइरहेका छौँ । निजी क्षेत्रलाई जिम्मा दिने हो भने निजी क्षेत्र हामी गर्न तयार छौँ,’ उनले भने ।
नेपाल र भारतबीच भएको पछिल्लो समझदारी तथा लखनऊ–भैरहवा–काठमाडौं हवाई रुट सञ्चालनको सम्भावनालाई लुम्बिनी होटल संघले स्वागत गरेको छ । संघका अध्यक्ष लिलामणि शर्माले नयाँ हवाई रुटलाई लुम्बिनीको पर्यटन विकासका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको बताए । भारतको ठूलो सहर लखनऊसँग भैरहवा जोडिँदा पर्यटकलाई लुम्बिनी आउन सहज हुने उनको भनाइ छ ।
दिल्ली र वाराणसी बीचमा पर्ने लखनऊबाट भैरहवा हुँदै लुम्बिनी आउन सकिने अवस्था बनेमा बौद्ध धर्मावलम्बी पर्यटकलाई विशेष सुविधा पुग्ने शर्माले बताए । निजी क्षेत्रका प्रतिनिधिहरूले नेपाल र भारतबीच भएको सहमतिलाई सकारात्मक माने पनि यसको वास्तविक उपलब्धि कार्यान्वयनपछि मात्रै देखिने बताएका छन् ।








प्रतिकृया दिनुहोस्