‘समाजमा अझै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यकमाथि विभेद कायमै’



भैरहवा– लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि समाजमा अझै पनि विभेद, अपहेलना र बहिष्करण कायमै रहेको सरोकारवालाहरूले बताएका छन् । ब्लु डायमण्ड सोसाइटीको आयोजनामा बुधबार भैरहवामा आयोजित सञ्चारकर्मीहरूका लागि आयोजित ‘लैङ्गिक तथा यौनिक अल्पसंख्ययक समुदायसम्बन्धी सञ्चार संवेदनशीलता अभिवृद्धि कार्यक्रम’ मा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
व्लु डाइमन्ड सोसाइटीका संयोजक एन्जल लामाले आफूहरू अझै पनि समाजबाट बहिष्कृत हुनुपरेको बताए । उनले भने, ‘संविधान त बनेको छ तर कार्यान्वयन हुन सकेको छैन् ।’ उनले निजामती कर्मचारीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको बारेमा अध्ययन नभएका कारणले गर्दा आफूहरु समाज र कानुनबाट बञ्चित हुनुपरेको बताए ।
उनले समाजमा जनचेतनाको कमीका कारण लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले अपहेलना र विभेद भोग्नुपरेको बताए । विशेषगरी गाउँघरमा अझै पनि आफूहरूलाई घर तथा समाजबाट बाहिर निकाल्ने, झारफुक गर्ने र विभिन्न माध्यमबाट मानसिक तनाव दिने जस्ता व्यवहार हुने गरेको लामाले बताए ।
‘समाजमा जनचेतनाको कमीका कारण हामीले अझै पनि अपहेलित भएर बस्नुपरेको छ,’ लामाले भने, ‘हाम्रो पहिचानलाई सहज रूपमा स्वीकार गर्ने वातावरण अझै बनिसकेको छैन।’ उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय पनि समाजकै अभिन्न हिस्सा भएको उल्लेख गर्दै उनीहरूलाई समान व्यवहार, सम्मान र अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।
समुदायको पहिचान, अधिकार, सामाजिक अवस्था र उनीहरूले भोग्दै आएका समस्यालाई सञ्चारमाध्यमले जिम्मेवार ढङ्गले उठान गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सञ्चारमाध्यममार्फत सही सूचना र जनचेतना फैलाउन सके लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति रहेको नकारात्मक सोच, विभेद र सामाजिक बहिष्करण न्यूनीकरण गर्न सकिने कार्यक्रममा जोड दिइएको थियो ।








प्रतिकृया दिनुहोस्