सिद्धार्थनगरको फोहोर व्यवस्थापनमा दीर्घकालीन पहलः ३ करोड ६० लाखमा निजी कम्पनीसँग ठेक्का सम्झौता



भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा समाधान हुनेतर्फ अगाडि बढेको छ । नगरपालिकाले निजी कम्पनीसँग ठेक्का सम्झैता गरी फोहोर व्यवस्थापनलाई दीर्घकालीन बनाउने गरी अगाडि बढेको हो ।
नगर स्थापनाकालदेखिकै सबैभन्दा जटिल समस्याका रूपमा रहेको यहाँको फोहोरमैला व्यवस्थापनलाई दीर्घकालीन समाधान गर्न नगरपालिकाले निजी क्षेत्रसँग पाँच वर्षका लागि सम्झौता गरेको हो। यस कार्यका लागि नगरपालिकाले सोमबार रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवर्द्धन अफ नेपाल प्रालिसँग पाँच वर्षे सम्झौता गरेको छ।
सम्झौताअनुसार उक्त कम्पनीले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन तथा समग्र सरसफाइको जिम्मेवारी वहन गर्नेछ।फोहोरमैला व्यवस्थापनको कुल आय ठेक्का रकम ३ करोड ६० लाख २ हजार ९ सय ७१ रुपैयाँ ७ पैसा छ। नगरपालिकाका अनुसार यो सम्झौता २०८३ मंसिर ७ गतेदेखि लागू भई २०८८ मंसिर ६ गतेसम्म कायम रहनेछ।
सडक किनारमा थुप्रिने फोहोर, बजार क्षेत्रमा फैलिने दुर्गन्ध र नियमित सरसफाइको अभाव नगरवासीका लागि लामो समयदेखि सास्तीको विषय बन्दै आएको थियो। यसले सहरको सौन्दर्य मात्र नबिगारी नागरिकको स्वास्थ्य, वातावरण, पर्यटन र भैरहवाको पहिचानमा समेत गम्भीर चुनौती थपेको थियो। अब भने यो समस्या समाधान हुने नगरपालिकाको विश्वास छ ।
नगर प्रमुख एवं संविधानसभा सदस्य इश्तियाक अहमद खानको नेतृत्वमा नगरपालिकाले फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै दीगो प्रणाली विकास गर्ने निर्णय लिएको हो। नगर प्रमुख खानले स्वच्छ सहर बनाउने अभियान भाषणमा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्ने जनाए । आफून निर्वाचित भएर आएदेखि नै फोहोर व्यवस्थापनलाई प्राथमिकता दिएको जनाउँदै यसले सार्थकता पाउन लागेको उनको भनाई छ ।
‘फोहोर व्यवस्थापन सिद्धार्थनगरको लामो समयदेखिको चुनौती र नगरवासीको प्रत्यक्ष चासोको विषय हो,’ नगर प्रमुख खानले भने, ‘वर्षौंदेखिको यो समस्या समाधान गरी सफा, सुन्दर र स्वस्थ सिद्धार्थनगर निर्माण गर्नु हाम्रो मुख्य प्रतिबद्धता हो। यो नगरपालिकाको मात्र नभई हामी सबैको साझा जिम्मेवारी भएकाले अब सरसफाइमा प्रत्यक्ष परिवर्तन देखिने गरी काम अघि बढ्छ।’
वर्षौंदेखि थुप्रिएको फोहोर, दुर्गन्ध र अव्यवस्थित सरसफाइको समस्या झेल्दै आएको सिद्धार्थनगर नगरपालिका अब स्वच्छ र व्यवस्थित सहर बन्ने दिशामा अघि बढेको उनले जनाए । नगरपालिकाले यसअघि वडा नम्बर १ को मेउडिहवास्थित डण्डा नदी छेउमा फोहोर फ्याँक्दै आएको थियो । त्यहाँ स्थानीयले अवरोध गरेपछि वडा नम्बर १ कै सिद्धार्थ राजमार्गछेउस्थित डण्डा नदी किनारा डम्पिङ गर्न सुरु भएको थियो । यहाँ सर्वोच्च अदालतले फोहोर नफाल्न अन्तरिक आदेश दिएपछि व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो । अब भने निजी कम्पनीले जिम्म लिएपछि व्यवस्थापन सहज हुने विश्वास गरिएको छ ।








प्रतिकृया दिनुहोस्