पीएम कप लुम्बिनी प्रदेशस्तरीय छनोट खेलको उपाधि रूपन्देहीलाई



भैरहवा– प्रधानमन्त्री (पीएम) कप महिला प्रदेशस्तरीय छनोट प्रतियोगिता–२०२६ अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय छनोट खेलको उपाधि रुपन्देही महिला क्रिकेट टोलीले जितेको छ । दाङको घोराहीमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङ महिला टोलीलाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको दाङले १४.५ ओभरमा अलआउट हुँदै ६८ रन बनाएको थियो । दाङले दिएको ६९ रनको सामान्य लक्ष्य रुपन्देहीले १५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । रुपन्देहीको जितमा आस्मा पुलामीले सर्वाधिक २७ रनको योगदान दिइन् । ३५ बलको सामना गरेकी उनले ३ चौका प्रहार गरिन् । कस्तुर गौचन र योजना थापा समान ६–६ रनमा अविजित रहँदै टोलीलाई जितसम्म डोर्याए । कस्तुरले ११ बलमा १ चौका र योजनाले १४ बलमा १ चौका प्रहार गरिन् ।
ओपनर नितु भण्डारीले १६ बलमा ६ रन बनाइन् भने आयुषा भुसालले १५ बलमा ५ रन र श्रुती बुढाथोकीले ५ बलमा १ रन जोडिन् । रुपन्देहीले अतिरिक्त १८ रन पाएको थियो । बलिङतर्फ दाङकी सुप्रिया बुढा मगरले ४ ओभरमा १७ रन तथा कमला जीएमले ३.४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर समान १–१ विकेट लिए ।
समीक्षा केसीले ४ ओभरमा १ मेडनसहित १६ रन र सिरीषा चौधरीले ४ ओभरमा १२ रन खर्चिए पनि विकेट लिन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको दाङका लागि सुप्रिया बुढामगरले २१ बलमा सर्वाधिक २१ रन बनाइन् । यस्तै, ज्योति संगितले १९ बलमा १० रन जोडिन् । दाङलाई सस्तैमा समेट्ने क्रममा रुपन्देहीकी आयुषा भुसालले २.५ ओभरमा १२ रन खर्चेर ४ विकेट लिइन् । सरु तिवारीले ४ ओभरमा १० रन दिएर २ विकेट तथा सन्ध्या चापागाईंले २ ओभरमा ११ रन दिएर १ विकेट हात पारिन् ।








प्रतिकृया दिनुहोस्