July 10, 2026, Friday
२०८३ असार २६ शुक्रबार

लुम्बिनी क्षेत्रको पर्यटनमा देखिएको तितो सत्य

Advertisement

विशेषतः रुपन्देहीका प्रमुख सहर भैरहवा, बुटवल र लुम्बिनीको पर्यटन बेलहिया नाका हुँदै मुलुक भित्रिने भारतीयका साथै तेस्रो मुलुकबाट आउने बिदेशी पर्यटकमा निर्भर रहेको कुरामा दुईमत छैन । परम्परादेखि बेलहिया नाका पर्यटक आगमनका लागि मुख्य स्थलमार्ग हो ।

Advertisement

रुपन्देहीमा अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार छ । तर, यहाँबाट अन्तर्राष्ट्रिय उडान छैनन् । यस्तोमा भारतका विभिन्न सहरमा हवाई यात्रा सहज छ । जसले गर्दा धेरै पर्यटक हवाईमार्ग हुँदै भारतमा पाइला टेक्ने गरेका छन् । भारत हुँदै नेपाल प्रवेशका लागि नाकामा आवश्यक कागजात देखाए हुन्छ । त्यस बाहेक कुनै अवरोध छैन । यही सहजतालाई आधार मानेर भारतीय ट्राभल एजेन्सीले बिदेशी पर्यटक नेपाल भित्र्याउने गरेका छन् ।

भरतीय ट्राभल एजेन्सीहरुले तय गर्ने भ्रमण कार्यक्रम अनुसार नै बिदेशी पर्यटकको सरदर १ दिन नेपालमा बसाइँ हुने गरेको देखिन्छ । यही कारण हाम्रो पर्यटन क्षेत्र टिकेको जस्तो पनि देखिन्छ । अर्कोतर्फ हाम्रो मुलुकका पर्यटन व्यवसायी पनि भारतीय ट्राभल्स माथि निर्भर देखिन्छन् । ‘कुन भारतीय ट्राभल एजेन्टले आफूलाई व्यापार देला’ भनेर पर्खेको देखिन्छ । अहिलेसम्म रुपन्देही लगायत मुलुकका होटल व्यवसायी भारतीय ट्राभल व्यवसायीमाथि निर्भर रहेको देखिन्छ ।

लुम्बिनी पर्यटक आकर्षित गर्ने प्रमुख स्थल हो । तर, लुम्बिनी लक्षित गरेर भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा विदेशबाट सिधा उडान हुन सकेको छैन । जसका कारण पनि नेपाली ट्राभल्स व्यवसायीको भूमिका न्यून महसुस गरेको देखिन्छ । हुन पनि हामी स्थलमार्गमा निर्भर छौं । विभिन्न बौद्ध धर्मावलम्वी मुलुकबाट भैरहवामा सिधा उडान हुँदो हो त हाम्रो भूमिका पनि बढ्ने थियो ।

भारतले आफ्नो देशको ई–भिसा लिएका तेस्रो मुलुकका बिदेशी पर्यटकलाई बेलहिया नाका (स्थल मार्ग) भई भारत प्रवेशमा ‘तगारो’ लगाई रहेको छ । यस सन्दर्भमा त्यस्ता पर्यटकलाई गौतमबुद्धको पवित्र जन्मस्थलीबाट (नेपालबाट) निर्वाध रुपमा बेलहिया नाका हुँदै भारत प्रवेश गर्न पाउनुपर्छ भन्ने बिषयमा यहाँका व्यवसायीले आवाज उठाउन चाहेको देखिँदैन ।

किन कि यस्तो आवाज उठाएर उनीहरु अहिलेसम्म भारतीय ट्राभल व्यवसायीबाट प्राप्त हुँदै आएको ‘लाभ’को वर्तमान बिजनेश व्यवसाय बिगार्न पनि चाहँदैनन् । भारतको यस्तो कुटिल रवैयाले ‘बुद्ध सर्किट प्रमोसन टुर अपरेसन’मा बाधा पुगेको छ । पर्यटक जाने सम्बन्धित मुलुकमा त्यहाँकै व्यवसायीबाट टुर गाइडको व्यवस्था हुनुपर्छ भन्ने बिश्वब्यापी मान्यता रहेको छ । तर, यसबारे अहिलेसम्म नेपाल सरकार समक्ष लबिङ गर्न पनि चाहँदैनन् ।

बिदेशी विमानको भैरहवामा सिधा हवाई कनेक्टिभिटी अभाव, अनलाइन गेटवे पेमेन्ट तथा सबै वाणिज्य बैंकहरु समेतले निरपेक्ष रुपमा टिकेटिङ कारोबार गरिरहेको र नेपालको तुलनामा भारतीय सस्ता सवारी साधनले नेपालका जुनसुकै स्थान र समयमा २४ सैं घण्टा निर्वाध रुपमा देशाटन गर्न पाइरहेका छन् । यस सन्दर्भमा नेपालका ट्राभल व्यवसायीप्रति सरकारको दिन प्रतिदिनको कडा नियमनले स्वस्थ प्रतिस्पर्धात्मक वातावरण निर्माण हुन कसकेको छैन । यसको अभावमा यस क्षेत्रका ट्राभल व्यवसायीहरुको भविष्य अन्यायपूर्ण रहेको देखिन्छ । यो लुम्बिनीको पर्यटन विकासका लागि तितो सत्य सावित भएको छ ।

वर्तमान नयाँ सरकारले समेत यत्तिका दिनसम्म भैरहवाको विमानस्थलको व्यावसायिक संचालनमा ठोस टेवा दिन नसकेको, भावी संकेत पनि आशातित नदेखिएको र व्यवसाय निरन्तरताको अनुकुलन वातावरण अभावमा विगत १८ वर्षदेखिको व्यावसायिक यात्रा माथि प्रश्न चिह्न उठेको छ । अब ‘डाँडापारि गएर मात्र हैन, डाँडा वारि नै भोक मेटाउने वातावरण’ नभएसम्म हरेक कसैले पनि विकल्प सोच्नै पर्दछ । यसका लागि एकजुट हुने बेला भएन र ?

(लेखक थापा नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष तथा अनुष्का ट्राभल्सका संचालक हुन् ।)