गुल्मीमा भेटिए २८७ जना कुपोषित बालबालिका


गुल्मी—गुल्मी जिल्लामा ६ महिनादेखि ५ वर्षमुनिका २ सय ८७ जना कुपोषित बालवालिका भेटिएका छन् । राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत स्वासथ्यकर्मी मार्फत् कुपोषित बालवालिकाको खोजी गत वैशाख महिनादेखि गरिएको थियो ।
कुपोषितमध्ये, २ सय ३८ जनामा शीघ्र कुपोषण र ४९ जनामा शीघ्र कडा कुपोषण अवस्थाका भेटिएका हुन् । ‘समयमै पहिचान, सही उपचारः कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने मूल नाराका गुल्मीको २ नगरपालिका र १० गाउँपालिकामा स्वास्थ्यकर्मीमार्फत अभियान चलाइएको थियो । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार जिल्लाभर १५ हजार २ सय ६८ जना बालबालिकाको पोषण अवस्था जाँच गर्ने लक्ष्य राखिएकोमा १२ हजार ७ सय ९६ जनाको परीक्षण गरिएको थियो ।
स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी कृष्ण पन्थीले कुपोषणको समस्या देखिएका बालबालिकाहरूको उपचार र व्यवस्थापन सुरु गरिएको बताए । उनका अनुसार, शीघ्र कडा कुपोषण भएका बालबालिकालाई उपचारका लागि बहिरंग उपचारात्मक सेवा मा पठाइएको छ । शीघ्र कुपोषित बालबालिकाका अभिभावकलाई पोषणसम्बन्धी परामर्श दिइएको छ । ‘साथै कुपोषणको जोखिममा रहेका बालबालिकालाई ‘बालभिटा’ वितरण गरिएको छ’ पन्थीले भने ।
कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उचित पोषणबाट वञ्चित बालबालिकाका लागि पोषण सहयोगको वातावरण तयार पारिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय गुल्मीको तथ्याकं अनुसार, मुसिकोट नगरपालिकामा ४२ जना शीघ्र कुपोषित र १० जना शीघ्र कडा कुपोषित भेटिएका छन् । मालिका गाउँपालिकामा ३८ जना शीघ्र र ८ जना शीघ्र कडा कुपोषित, गुल्मीदरबार गाउँपालिकामा २६ शीघ्र र २ शीघ्र कडा कुपोषित, मदाने गाउँपालिकामा २२ शीघ्र र ३ शीघ्र कडा कुपोषित, रेसुङ्गा नगरपालिकामा १६ शीघ्र र १ शीघ्र कडा कुपोषित बालबालिका भेटिएका छन् ।
यसैगरी, चन्द्रकोट गाउँपालिकामा १७ शीघ्र र ६ शीघ्र कडा कुपोषित, सत्यवती गाउँपालिकामा १६ शीघ्र र ३ शीघ्र कडा कुपोषित, रुरुक्षेत्र गाउँपालिकामा १६ शीघ्र र २ शीघ्र कडा कुपोषित, कालिगण्डकी गाउँपालिकामा १४ शीघ्र र ४ शीघ्र कडा कुपोषित, धुर्कोट गाउँपालिकामा १३ शीघ्र र ३ शीघ्र कडा कुपोषित, इस्मा गाउँपालिकामा १० शीघ्र र ६ शीघ्र कडा कुपोषित र छत्रकोट गाउँपालिकामा ८ जना शीघ्र र १ जना शीघ्र कडा कुपोषित बालबालिका भेटिएका छन् ।








प्रतिकृया दिनुहोस्