June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

दुर्घटना न्यूनीकरणका योजना बनाएर काम गर्नुपर्छः मुख्यमन्त्री आचार्य

Advertisement

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

Advertisement

लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ को बिहीवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि, लापरबाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढिरहेको उल्लेख गर्दै दुर्घटना न्यूनिकरणका लागि बिशेष योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

उनले सडक सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सडक पूर्वाधारको स्तरोन्नति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाए ।

मुख्यमन्त्री आचार्यले सवारी दुर्घटनाले ठूलो मानवीय तथा आर्थिक क्षति पुर्याउने भएकाले यसको रोकथामका लागि दीर्घकालीन तथा परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । सुरक्षित सडक र सुरक्षित यात्राको वातावरण निर्माण गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे ।

रुपन्देहीस्थित बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजित गोष्ठीमा प्रदेश प्रहरी कार्यालय, ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले दुर्घटना न्युनीकरणका लागि प्रहरीले निरन्तर प्रयास गरिरहेको जनाए । कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका उपायबारे समीक्षा तथा छलफल गरिएको छ ।