भैरहवामा बेवारिसे अवस्थामा भेटिए दुईवटा भारतीय कार, भन्सार बुझाइयो


भैरहवा– रुपन्देही प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित सहिदपथबाट विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा सडकमा राखिएका ती कारहरू फेला पारेर नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, रुपन्देही र इलाका प्रहरी कार्यालय, बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन बरामद गरेको हो । प्रहरीले खोजतलास तथा जाँच गर्ने क्रममा फेला पारेका ती कारहरूको धनी वा चालक भने आसपास कतै नभेटिएको जनाएको छ ।
नियन्त्रणमा लिइएका सवारी साधनहरूमा यूपी ५३ बिडी ००२९ नम्बरको होन्डा कम्पनीको कार र यूपी ५३ डिएफ ६९८० नम्बरको महिन्द्रा कम्पनीको कार छन्। नेपाल भित्र्याइएका ती दुवै सवारीसाधनहरूको अनुमानित बजार मूल्य झन्डै २७ लाख रुपैयाँ रहेको रुपन्देही प्रहरीले जनाएको छ।
यसरी बिनाकुनै कागजात र चालकविहीन अवस्थामा शङ्कास्पद रूपमा फेला परेका दुवै कारलाई प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया, रुपन्देहीमा बुझाएको छ।








प्रतिकृया दिनुहोस्