फोहोर व्यवस्थापनका लागि सिद्धार्थनगरद्वारा प्रस्ताव आह्वान, कस्ता छन् मापदण्ड ?


भैरहवा– लामो समयदेखि फोहोर संकलन र व्यवस्थापन प्रभावित भएपछि सिद्धार्थनगर नगरपालिकाले १५ दिने प्रस्ताव आह्वान गरेको छ । फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापनका लागि यस्तो सूचना जारी गरेको हो । स्थानीय सरकार, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र सरकारी क्षेत्रसँग सहकार्यमा फोहोरमैला व्यवस्थापन कार्य सञ्चालन गर्न यस्तो आह्वान गरिएको हो ।
प्रस्ताव पेश गर्दा फोहोर उत्पादनस्थलदेखि नै यसको विविधिकरण गरी कम उत्सर्जन, पुनः प्रयोग र रिसाइकलको आवधारणालाई कार्यान्वयनमा ल्याउने विधि र तरिका सहितको कार्ययोजना पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । फोहोर व्यवस्थापनका लागि प्रस्तावकसँग उपलब्ध स्रोतसधान, जनशक्ति र परियोजना सञ्चालन गर्दा नगरपालिकाबाट स्रोतसाधन उपलब्ध गराउनु पर्ने भए त्यो पनि उल्लेख गर्न भनिएको छ ।
फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा प्रस्तावकले बन्दोबस्न गर्नुपर्ने उल्लेख छ । फोहोरमैला व्यवस्थापनमा आधुनिक प्रतिधिको उच्चतम प्रयोग गरी उत्पादनलाई न्यून गर्ने अवधारणका साथै व्यवस्थापन स्थल तथा वातावरणमा प्रदूषण नहुने प्रवन्ध मिलाएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
प्रस्तावकले परियोजना सञ्चालन गर्न सक्ने आर्थिक तथा प्राविधिक क्षमता र परियोजनाको लाभलागत विश्लेषण वा सम्भाव्यता अध्ययन गरेको भए सो समेत पेश गर्न भनिएको छ । फोहोरमैला संकलन कार्यमा फोहोर उत्पादन गर्ने घर, पसल, उद्योग, व्यापारिक वा अन्य प्रतिष्ठान आदिले कुनै प्रकारको शुल्क बेहोर्नुपर्ने भए सोको प्रस्तावित दररेट प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको छ ।
परियोजना सञ्चालन अवधिभर नगरपालिकाले तोकेको सुरक्षण–धरौंटी रकम जम्मा गर्न मञ्जुर रहेको हुनुपर्ने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । प्रस्तावकले मनसाय–प्रस्तावपत्र सँगैं फर्म, कम्पनी तथा संस्थाको दर्ता, नवीकरण सम्बन्धि अध्यावधिक कागजात र फाहोरमैला व्यवस्थापनमा बिगतको अनुभव रहेको भए सो सम्बन्धि कागजात पेश गर्न भनिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत जनक थापाद्वारा जारी सूचनामा निर्धारित समयभित्र दर्ता भएका प्रस्तावहरु मध्ये फोहोर व्यवस्थापनको तरिका, प्रस्तावकको दायित्व, फोहोर उत्पादकबाट लिने शुल्क, नागरपालिकाले प्राप्त गर्ने लाभ समेतका आधारमा मूल्यांकन गरेर उपयुक्त र प्रभावकारी देखिएको मनसाय पत्र स्वीकृत गरिने जनाइएको छ । यसरी दर्ता मनसाय–प्रस्ताव पत्र छनोटको अधिकार नगरपालिकामा रहने स्पष्ट पारिएको छ ।
पछिल्लो समय नगरपालिकाको फोहोर व्यवस्थापन हुन सकेको छैन । व्यवस्थापनमा कठिन हुँदा नगरका अधिकांश ठाउँमा फोहोर थुप्रिएको छ । यसले नगरपालिकाको आलोचना भइरहेको छ । नगरपालिकाले सुरुमा फोहोर वडा नम्बर १ को मेउडिहवामा डण्डा नदी छेउमा फ्याँक्दै आएको थियो । त्यहाँ स्थानीयले रोक लगाएपछि वडा नम्बर १ कै डण्डा नदी छेउमा डम्प गर्दै आएको थियो । तर, त्यहाँ फोहोर फाल्न सर्वोच्च अदालतले रोक लगाएपछि नगरको फोहोर राम्रोसँग उठ्न सकेको छैन ।








प्रतिकृया दिनुहोस्