July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

युवतीलाई खुकुरी देखाउँदै कुटपिट गर्ने युवक लागूऔषधसहित पक्राउ

Advertisement

दाङ– प्रहरीले एक युवतीलाई खुकुरी देखाउँदै कुटपिट गरेको भाइरल भिडियोमा देखिएका युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२, भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडामगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Advertisement

उनलाई मंगलबार राति उनकै घरबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार उक्त भिडियो रमेशकै घर नजिक गत चैत महिनामा रातिको समयमा खिचेर फेसबुकमा पोष्ट गरेको खुलेको छ । सो भिडियोमा रमेशले तुलसीपुरकै २१ वर्षीया एक युवतीलाई अश्लील शब्दसहित गालीगलौज गर्दै खुकुरीको उल्टोतिरको भागले प्रहार गरेको देखिन्छ । प्रहरीका अनुसार ती युवतीको स्वास्थ्य अवस्था सामान्य छ ।

घटनामा संलग्न रहेको आरोपमा अर्का २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका रमेशको साथबाट झण्डै ५० ट्याब्लेट लागुऔषधसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार प्रेगाम्याक्स, एक ट्याब्लेट, ट्रोमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोम ५ ट्याब्लेट बरामद भएको छ ।