बुटवल उपमहानगरमा जेठमा घरेलु हिंसाका २१ घटना


भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरमा एक महिनामैं घरेलु हिंसाका करिब दुई दर्जन घटना सार्वजनिक भएका छन् । जिल्लाको ठूलो पालिकामा घरेलु हिंसाका धेरै घटना पाइएका हुन् । पीडितले प्रहरीमा दिएको उजुरीका आधारमा बुटवलमा जेठमा मात्रै २१ वटा यस्ता घटना भएको पाइएको हो ।
जिल्ला प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार बुटवलपछि सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक र तिलोत्तमा नगरपालिकामा धेरै घटना भएका छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार सिद्धार्थनगरमा १७, लुम्बिनी सांस्कृतिकमा ११ र तिलोत्तमा नगरपालिकामा १० वटा घटना भएका छन् । यी बाहेक मायादेवी गाउँपालिकामा ८ वटा विभिन्न प्रकृतिका घटना भएका छन् ।
प्रहरीका अनुसार मर्चवारीमाईमा २, सम्मरीमाईमा ३, रोहिणीमा २, ओमसतियामा ४, सियारीमा २, सैनामैनामा १, शुद्धोधनमा ४, कोटहीमाईमा २, देवदहमा ३, गैडहवामा १ र कंचन गाउँपालिकामा २ वटा घटना भएका छन् । यस्ता घटना एकै प्रकृतिका छैनन् । जेठमा जिल्ला प्रहरी र मातहत कार्यालयमा प्राप्त ९३ उजुरीका आधारमा घटनाको प्रकृति छुट्याएको छ । जसअनुसार मादक पदार्थ सेवन गरि गालीगलौजमा सबैभन्दा धेरै ३७ वटा घटना भएको पाइएको छ ।
त्यस बाहेक घरायसी झैझगडाका ३१, घरमा खान बस्न नदिएको एउटा, कुटपिट तथा घाउ जाँच केश फारम २४ वटा छन् । प्रवक्ता चन्दले ९३ वटा उजुरी मध्ये ८३ वटाको टुंगो लगाइएको जनाए । केही घटनामा मिलापत्र र केहीलाई अदालत पेश गरिएको उनले जानकारी दिए । १० वटा उजुरीमा आवश्यक छानबीन चलिरहेको उनले बताए । तर, चैत महिनासम्मका कुनैं उजुरी बाँकी नरहेको पनि उनले बताए । ‘सेवालाई प्रभावकारी र छरितो बनाइएको छ,’ उनले भने ।








प्रतिकृया दिनुहोस्