रूपन्देहीमा पर्यटक रोक्न छैनन् प्रवर्द्धनका कार्यक्रम


भैरहवा – यतिबेला मुलुकका पहाडी गन्तव्यमा रहेका होटलमा कोठा पाउन मुस्किल छ । लुम्बिनी प्रदेशकै पाल्पा, अर्घाखाँची र प्यूठानको स्वर्गद्वारीमा नेपाली र भारतीयको भीड छ । मुुलुककै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा भारतीय पर्यटकका कारण चहलपहल छ । तर, भारतबाट पर्यटक भित्रिने रुपन्देहीका होटलमा पर्याप्त पर्यटक छैनन् ।
जिल्लामा रहेका तारे होटलले ल्याएका विभिन्न अफर र दुई दिने साप्ताहिक बिदाका कारण सुनसान छैनन् । तर, कमाउनेगरि होटलमा पाहुना नआएको व्यवसायीको गुनासो छ । रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिने पर्यटक जिल्लामै किन टिक्दैनन् ? अहिले सबै तिर चासो र चिन्ता व्यक्त भइरहेको छ । कसरी हुन्छ रुपन्देही आउने पर्यटकलाई रोक्नुपर्ने व्यवसायीको भनाई छ ।
बुद्ध जन्मस्थल लुम्बिनी मुलुककै प्रमुख पर्यटकीय गन्तव्य हो । भारतको वनारस जस्तै लुम्बिनीमा पनि पर्यटकको ओइरो लाग्नुपर्ने हो । लुम्बिनी भरिभराउ भएर रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका अन्य बुद्ध स्थलका होटलमा समेत पाहुना राख्न व्यवसायीलाई भ्याइ–नभ्याई हुनुपथ्र्यो । बारम्बार यस्तो कल्पना गरिए पनि यथार्थमा परिणत हुन सकेको छैन । अहिले मुलुकका अन्य प्रमुख गन्तव्य भरिभराउ हुँदा लुम्बिनीमा बर्खा लागेको छ । होटल परिसर र आसपास घाँस हुर्किरहेको छ ।
‘यतिबेला लुम्बिनीमा खासै पर्यटक छैनन्,’ लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले भने, ‘अहिले पूजापाठको समय पनि होइन । फेरि गर्मीले असहज हुने भएकाले धेरै मानिस आइरहेका छैनन् ।’
गर्मीले मात्र पर्यटक रोक्ने हो भने चितवन पनि गर्मी जिल्ला हो । त्यहाँ पनि दिउँसोमा हिडडुल गर्न मुश्किल पर्छन् । तर, त्यहाँ आन्तरिकसँगैं भारतीय पर्यटकको भीड लागिरेको छ । त्यहाँका पर्यटक गाइड पनि चिनयाँ र युरोपियन आउने बेलामा आन्तरिक र भारतीय पर्यटकको आगमन देखेर मक्ख छन् । प्रायः होटलका कोठा प्याक छन् । छिमेकी पाल्पाका होटल तथा रिसोर्टमा जेठ अन्तिमसम्म कोठा पाउन मुश्किल छ । धेरै जनसंख्या रहेको र अन्तर्राष्ट्रिय नाका रहेको रुपन्देहीमा पाहुना संकट पर्नुको अर्को कारण पर्यटक भुलाउने कार्यक्रमको कमी हो । अहिले रुपन्देहीमा क्यासिनो र स्पाको आनन्द लिने धेरै आइरहेका छन् । तर, शान्ति महशुष गर्ने पर्यटकका लागि कार्यक्रमको अभाव छ ।
‘यो समय लुम्बिनीमा पनि ध्यान र योगका कार्यक्रम हुनुपर्छ,’ लुम्बिनी हेरिटेज होटलका महाप्रवन्धक बिजेन्द्र भक्त भाजुले भने, ‘गर्मी छल्नेका लागि स्विमिङ पुलमा आधारित अफर जरुरी छ ।’ यदि लुम्बिनीमा लामो अवधि ध्यान र योगको कार्यक्रम हुने हो त्यहाँ रहेका होटल व्यवसाय धानिने उनले बताए । रुपन्देहीमा अहिले बुटवल, भैरहवा, सियारी, देवदह, सैनामैना र लुम्बिनी क्षेत्रमा पर्यटकीय गतिविधि हुने गरेका छन् ।
ती ठाउँमा पर्यटक लक्षित होटल, रेष्टुरेन्ट सञ्चालनको लहर छ । तर, जिल्लाका सबै व्यवसायी मिलेर एकीकृत रुपमा पर्यटन प्रवद्र्धनको कार्यक्रम सञ्चालन गर्न सकेका छैनन । पोखराले प्रत्येक वर्ष मुलुकका पूर्व र पश्चिम क्षेत्रमा भ्रमणको निम्तो बाँड्दैं प्रवद्र्धनको कार्यक्रम गर्दै आएको छ । त्यहाँ पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय र पर्यटन व्यवसायीका संस्थाले हातेमाले गरेर यस्ता कार्यक्रम गर्दै आएका छन् ।
तर, रुपन्देहीमा पर्यटन व्यवसायीलाई एकीकृत गर्ने निकायको अभाव छ । लुम्बिनी प्रदेश पर्यटन परिषदले गोष्ठी, तालीम र होडिङ बोर्ड टाँग्ने कार्यक्रमलाई जोड दिएको छ । जिल्लामा रहेका होटल संघबीच पनि एकरुपता छैन । जसले गर्दा पछिल्लो समय रुपन्देहीमा गरिएको ठूलो लगानीका स्तरीय होटल र पर्यटकका लागि उपलब्ध सुविधाबारे प्रचार हुन सकेको छैन । यसमा जिल्लामा रहेका तारे होटलले पनि कुनै पहल गर्न सकेका छैनन् । उनीहरुको ध्यान क्यासिनो र होटलमा इभेन्ट संचालनमा छ । सबै मिलेर कम्तिमा भारतमा मात्रै पर्यटन प्रवद्र्धन कार्यक्रम गर्न सकेमा रुपन्देहीमा बाह्रैमास पर्यटकीय चहलपहल कायम गर्न सकिने स्थानीय सरोकारवालाको भनाई छ ।








प्रतिकृया दिनुहोस्