पश्चिमी गण्डक नहरमा पानी छाडियो


नवलपरासी– बर्षा लाग्न सुरु भएसंगै धान खेतीका लागि नेपाल–गण्डक पश्चिमी नहरमा पानी छाडिएको छ ।
नारायणी नदीमा रहेको त्रिवेणीस्थित गण्डक बाँधबाट पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा सिँचाइका लागि बनाइएको नहरमा गणतन्त्र दिवसको अवसर पारेर बिहीबारदेखि पानी छाडिएको गण्डक नहर व्यवस्थापन कार्यालय नवलपरासीका प्रमुख तिलकराम बुढाथोकीले बताए । उनका अनुसार, अघिल्लो वर्षको तुलनामा यस वर्ष एक साताअघि नै नहरमा पानी छाडिएको हो ।
त्रिवेणीस्थित नहरको मुखमा बालुवा थिग्राउने पोखरी निर्माण गरिएपछि नहरमा बालुवा पस्ने समस्या कम भएकाले सहज रूपमा पानी प्रवाह भएको उनले जनाए । नहरमा बगेर आउने बालुवा थिग्रिएर साँघुरो बनेको नहर यस वर्ष पनि सफाइ गरिएको छ । नहरमा पानीसंगै बगेर आउने बालुवाले किसानको खेतमा समेत जमेर सिंचाइ गर्न समस्या हुने गर्दथ्यो ।
झन्डै ९ करोड रुपैयाँ लागतमा नहर सफाइ तथा मर्मतसम्भार गरी यस बर्षको सिंचाइका लागि नहर तयार पारिएको हो ।
गण्डक बाँधबाट ३२ किलोमिटर लम्बाइ रहेको नहरमार्फत पश्चिम नवलपरासीका ६ वटा स्थानीय तहका करिब ७ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदै आएको छ । अझै पनि नहरको मर्मतसम्भार पूर्ण रूपमा सम्पन्न नभएकाले आवश्यकता अनुरुपको पानी आपूर्ति हुन सकेको छैन ।








प्रतिकृया दिनुहोस्