May 31, 2026, Sunday
२०८३ जेष्ठ १७ आईतवार

सुर्तीजन्य पदार्थको प्रयोगबाट वर्षेनि ८० लाखको मृत्यु, बालबालिका समेत जोखिममा

Advertisement

भेरहवा– हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइन्छ । आज उक्त दिवस परेको छ । विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। डब्ल्युएचओ सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका हुन्।

Advertisement

सन् १९८७ मा विश्व स्वास्थ्य सभाले पारित गरेको प्रस्ताव डब्लुएचए ४०।३८ ले सन् १९८८ अप्रिल ७ लाई ‘विश्व धूमपानरहित दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो। त्यसपछि सन् १९८८ मा पारित प्रस्ताव डब्लुएचए ४२।१९ अनुसार हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउन थालिएको हो।

डब्ल्युएचओका अनुसार हाल विश्वभर करिब एक अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका पाँचमध्ये एक वयस्क कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ।

सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको छ। सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउन दिवस मनाइन्छ ।

यस वर्षको दिवसको अवसरमा डब्ल्युएचओेले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। सङ्गठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा ८८चार करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छ भने विद्युतीय चुरोट ९ई–सिगरेट० र निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ निरन्तर बढिरहेको छ।

डब्ल्युएचओले सुर्ती तथा निकोटिन उत्पादन गर्ने कम्पनीहरूले आफ्ना उत्पादनलाई अझ आकर्षक, प्रयोग गर्न सहज र छोड्न कठिन बनाउने गरी विकास गरिरहेका जनाएको छ। विशेषगरी स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत तिनले किशोर र युवालाई अम्मली बनाएका सङ्गठनको भनाइ छ।

डब्ल्युएचओका स्वास्थ्य निर्धारक, प्रवद्र्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगले सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष लाखौँ मानिसको मृत्यु भइरहे पनि ठूला कम्पनीहरूले आफ्नो व्यापारिक रणनीति परिवर्तन गर्दै नयाँ पुस्तालाई निकोटिनको लतमा फसाउने प्रयास गरिरहेको बताएका छन् । उनका अनुसार स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच र अन्य निकोटिनजन्य उत्पादनको आक्रामक बजार विस्तारले युवापुस्तालाई लक्षित गरिरहेको छ।

निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुनसक्ने डब्लुएचओले जनाएको छ। हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गर्ने अनुमान गरिएको छ भने किशोर उमेर समूहमा यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ।

डब्ल्युएचआले हालै सार्वजनिक गरेको निकोटिन पाउचसम्बन्धी प्रतिवेदनमा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिमार्फत यसको व्यापक प्रचारप्रसार भइरहेको उल्लेख गरिएको छ। आकर्षक प्याकेजिङ, मिठाईजस्ता स्वाद तथा जीवनशैलीसँग जोडिएका विज्ञापन अभियानमार्फत युवालाई आकर्षित गर्ने रणनीति अपनाइएको प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनअनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी तथा नियमनको व्यवस्था छैन। विश्वव्यापी रूपमा यसको बिक्री तीव्र गतिमा बढिरहे पनि पर्याप्त नियमन नहुँदा लाखौँ मानिस जोखिममा छन्।

डब्ल्युएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन, प्रवद्र्धन तथा प्रायोजन रोक्न, सार्वजनिक भित्री स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न तथा कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।

सुर्ती तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिँदै डब्ल्युएचओले स्वस्थ र सुरक्षित समाज निर्माणका लागि सबै पक्षको साझा प्रयासमा जोड दिएको छ।