सुर्तीजन्य पदार्थको सेवन त्यागौंः मन्त्री मेहता


स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन् । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्दर्भमा आज सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रहसमेत गरिन् ।
मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गरेकी छन् ।
मन्त्री मेहताले किशोर किशोरीलाई लक्षित गरी सुर्ती उद्योगले अपनाएका नयाँ रणनीतिहरू चुनौतीका रूपमा रहेका भन्दै उद्योगलाई मानव स्वास्थ्यमा गम्भीर बन्न आग्रह गरेकी छन् । उनले सन्देशमा भनेकी छन्, ‘विभिन्न स्वादमा पाइने, हेर्दा आकर्षण र आधुनिक देखिने सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनलाई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण बजारीकरण गर्ने काम भइरहेको छ, जसले समस्यालाई झनै गम्भीर बनाएको छ । अब यस्तो नगरौँ । सुर्तिजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्न लागौँ ।’
मन्त्री मेहताले सुर्तीजन्य पदार्थका विद्यमान चुनौतीको समाना गर्न सरकारले नियन्त्रण र नियमनसम्बन्धी कानुन व्यवस्थापनको प्रभावकारी कार्यान्वयन विशेष जोड दिएको बताएकी छन् ।
नेपालमा आज ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँः कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।








प्रतिकृया दिनुहोस्