June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

लुम्बिनी अस्तव्यस्त, पदाधिकारी काठमाडौंमा मस्त

Advertisement

लुम्बिनी– बुद्ध जमस्थल शान्ति क्षेत्र हो । तर त्यहीँ निरन्तर विरोध, धर्ना र तालाबन्दी हुँदै आएको छ । पछिल्लोपटक कर्मचरी आन्दोलनले कोषको कामकारबाही तहसनहस नै छ । कोषका जिम्मेवार पदाधिकारी सबै राजधानीमा बसेर ‘आनन्द’ लिइरहेका छन् । उपाध्यक्ष ल्याहारक्याल लामा, सदस्य सचिब सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, योजना प्रमुख स्मिता भट्ट र प्रशासन प्रमुख ज्ञानिन राई सबै काठमाडौंमा छन् ।

Advertisement

कोषाध्यक्ष भट्टराई विरामी भई उपचार गराइरहेका छन् भने सदस्य सचिब शाक्यले साउन ५ गते राजीनामा दिए पनि अझै स्विकृत भएको छैन् । उपाध्यक्ष लामा करिब तीन महिना र प्रशासन प्रमुख राई एक महिनादेखि लुम्बिनी आएका छैनन् । उपाध्यक्ष प्रायः लुम्बिनीमा भेटिँदैनन् ।

चार बुँदे माग राखेर कोषका कर्मचारीहरु विरोध र धर्नामा उत्रिएपछि शान्ति भूमि लुम्बिनी अशान्त बनेको छ । १० दिनदेखिको जारी धर्ना र प्रदर्शनले लुम्बिनीमा अशान्ति छाएको मात्रै छैन, प्रशासनिक कामकाज समेत ठप्प छन् । कोषका कर्मचारीले साउन १३ गतेबाट कामकाज ठप्प गरेर आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी युनियनको आह्वानमा भएको विरोध र धर्नाबारे कोषका पदाधिकारी र जिम्मेवार अधिकारीले बेवास्ता गर्दै आएका छन् ।

‘हाम्रा मागलाई कोषले सुन्दैन । पदाधिकारी भेट्न पनि मुस्किल पर्छ’, लुम्बिनी विकास कोष कर्मचारी युनियनका अध्यक्ष अब्दुल ओफाले भने, ‘वर्षौंदेखि करारमा कर्मचारी राखिएको छ । उनीहरु भरणपोषण लगायतमा बेवास्ता छ । स्थायी गर्न सधैं आलटाल हुँदै आएको छ ।’

कर्मचारी युनियनले संचित बिदा, कोष भत्ता र मंहगी भत्ता पाउनु पर्ने, २०७९ कर्मचारी विनियमावली संशोधन गरेर उमेर हद लागु नहुने गरि सिमित प्रतियोगितात्मक परीक्षाबाट हाल सेवा करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग गरेका छन् । यस्तै, दरबन्दी चाँडै स्वीकृत गराई सबै कर्मचारीलाई स्थायी गरिनु पर्ने र कोष कर्मचारी विनियमावली २०७९ अनुसार स्थायी कर्मचारीलाई पद बढुवा गर्नु पर्ने माग राखेका छन् ।

कर्मचारी युनियनले साउन ५ मै ज्ञापनपत्र बुझाएर विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो । ‘गत साउन ८ र ९ मा हातमा कालो पट्टी बाँधेर कर्मचारीले आफ्ना माग पूरा गर्न दबाब दियौं । त्यसपछि पनि मागबारे कुनै सुनुवाइ नभएपछि बाध्य भएर विरोधमा उत्रिनु परेको हो’, अध्यक्ष ओफाले भने । कर्मचारीले साउन १३ देखि कामकाज ठप्प पारी कार्यालयमा तालाबन्दी गरेर विरोध गर्दै आएका हुन् ।

लुम्बिनी आन्दोलनले अशान्त बनिरहँदा पदाधिकारीको खेलाँचीप्रति कर्मचारी झनपछि झन आक्रोसित हुँदै गएका छन् । अहिलेसम्म कोष प्रधान कार्यालयमा तालाबन्दी गरेका कर्मचारीले अब कोष गुरुयोजना भित्र प्रवेश गर्ने गेट, टिकट काउन्टर र संग्राहलयमा समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् । ‘यसैगरी हामीलाई बेवास्ता गरे सबै क्षेत्र बन्द गरेर आन्दोलन थप चर्काउँछौं’, अध्यक्ष ओफाले चेतावनी दिँदै भने, ‘कति सहनु, असैह्य भएपछि बाध्य भएर आन्दोलनमा उत्रिएका हौं ।’

कोषमा ४० स्थायी र १ सय ७७ सेवा करारका कर्मचारी छन् । पदाधिकारीका आफन्त र ठूला पार्टीका राजनीतिक कार्यकर्ता जति स्थायी भए पनि १५–२० वर्षदेखि काम गरिरहका आफूहरुलाई बेवास्ता गरिएको करारका कर्मचारीको गुनासो छ । ‘१५ वर्षदेखि कोषमा काम गर्दै आएकी छु, न स्थायी भएँ न अन्य सुविधा पाएकी छु’, कोषकी कर्मचारी सीतारा जयसवालले भनिन्, ‘हाम्रो जीवनलाई बढी खेलवाड गरिएको छ । विनियम संशोधन नै भएको छैन । केही सीप नलागेपछि बाध्य भएर आन्दोलनमा उत्रिएका छौं ।’

कोष कर्मचारी युनियनका सदस्य अब्दुल अहद खानले आफूहरुमा मागप्रति पदाधिकारी कुनै लचकता नपनाएको जनाउँदै बरु काठमाडौं गएर बसेको गुनासो गरे । ‘शान्तिभूमिमा अशान्ति गराउनु हाम्रो उद्देश्य होइन्’, उनले भने, ‘काम गर्ने कर्मचारीलाई कर्मचारीको व्यवहार नभएपछि र मागप्रति वास्तै नहुँदा तालाबन्दी र विरोधमा उत्रिएका हौं ।’

लुम्बिनीमा हरेक दिन शान्ति, करुणा, अध्यात्म र बुद्ध जीवनीबारे जान्न, बुझ्न र घुम्न विश्वभरका पर्यटक आउँछन् । तर, पछिल्ला केही दिनयता लुम्बिनीमा भइरहेको विरोध र धर्ना कार्यक्रमले शान्ति भूमि अस्तव्यस्त नै बनेको छ । निरन्तर कर्मचारी आन्दोलित भइरहँदा कोषका पदाधिकारी भने काठमाडौंबाट लुम्बिनी फर्किएका छैनन् । तल्लो तहका कर्मचारीलाई आन्दोन मत्थर सकेका छैनन् ।

कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्लेले आन्दोलन शान्तिपूर्ण रहेको र अहिलेसम्म सुरक्षामा खलल् पुग्ने किसिमका गतिविधि कर्मचारीबाट नभएको बताए । ‘आन्दोलनरत कर्मचारीले समन्वय गर्न खोज्नु भएको छ । तर, समन्वय भइरहेको छैन’, उनले भने, ‘हामीले कोषमा सुरक्षाका दृष्टिले केही हुन दिएका छैनौं । चाँडै कुनै न कुनै सहमती भए हुन्थ्यो भन्ने नै छ ।’

कोषका सूचना अधिकारी राजन बस्नेतले कर्मचारी आन्दोलनप्रति पदाधिकारीलाई मतलब नै नभएको बताए । ‘कोष लथालिंग भइरहेको छ । केही काम नै हुन सकेको छैन । अब के हुन्छ भनेर हामीले भन्न सक्ने अवस्था छैन । हामीले गर्नसक्ने पनि केही छैन’, उनले भने, ‘पदाधिकारी नआएसम्म कोषमा केही हुनेवाला छैन । पदाधिकारी आएर मात्र पनि केही गर्न सकने अवस्था छैन । यो विषयलाई नेपाल सरकारले नै चासो दिनुपर्ने देखिन्छ । समस्या झनझन गम्भीर हुँदैछ ।’

उनले अहिलेसम्म कर्मचारीहरुसँग वार्ता गर्ने सम्भावना पनि नबनेको बताए । ‘कर्मचारी आन्दोलनले सबै काम ठप्प छ । अवरोध नभएका ठाउँमा हामीले गरिरहेका छौं । तर, मुख्य काम नै प्रभावित भएका छन्’, उनले भने । यतिबेला कोषले भावी योजना बनाउनुपर्ने, बजेट तयार गर्ने, योजना कार्यान्वयनको रणनीति, पर्यटन प्रबद्र्धनका काम गर्नुपर्ने थियो । ती सबै काम रोकिएका छन् । लुम्बिनीमा अहिले पनि दर्जनौं मुलुकका पर्यटकहरु आइरहेका छन् । तर, कोषका कर्मचारीहरुको आन्दोलनले शान्ति खोज्दै आएका पर्यटकहरु विक्षिप्त भइरहेको पर्यटन व्यवसायी बताउँछन् ।

हुनतः राजनीतिक भागबण्डामा नियुक्त हुने पदाधिकारीका कारण लुम्बिनीमा सधैंजसो विमती, धर्ना, प्रदर्शन र गैरजिम्मेवार काम हुँदै आएका छन् । यसपटक लामो समय आन्दोलन जारी रहँदा शान्ति भूमि अशान्त मात्रै बनेको छैन, कोषको दैनिक कामकाजसँगै योजना तर्जुमा ठप्प छ भने अन्तर्राष्ट्रिय जगतमा समेत लुम्बिनीको बद्नामी हुन पुगेको लुम्बिनीबारे जानाकारहरु बताउँछन् ।